चुरे नासिँदै, मधेस उजाड बन्दै

चुरे नासिँदै, मधेस उजाड बन्दै

काठमाडौं : सन् १९८६ मा चुरेमा १४ लाख  ५० हजार  ५ सय ४१ हेक्टर वन क्षेत्र थियो। २४ वर्ष नपुग्दै १ लाख हेक्टर बढी वन क्षेत्र नासियो। फोरेस्ट रिसोर्स सर्वेको प्रतिवेदनअनुसार सन् २०१० सम्म १३ लाख ७३ हजार ७ सय ४३ हेक्टर मात्र वन क्षेत्र रहेको पाइयो। 

चुरे नासिने क्रम बढ्दो छ। पछिल्ला दिनमा यसबारे अध्ययन भएको छैन। वातावरणविद्  भूषण तुलाधर चुरेको वन विनास र दोहनले जलवायु परिवर्तनमा  असर परेको बताउँछन्। चुरे क्षेत्रबाट नदीजन्य पदार्थको दोहनले वातावरणको सन्तुलन खलबलिएको तुलाधरको भनाइ छ। 

चुरेमा वन विनास तीव्र रहेको छ। वातावरण असन्तुलनले बेमौसमा घनघोर वर्षा हुन्छ, चाहिएको बेला खडेरी पर्छ। केही दिनअघि तराईको पूर्वी र पश्चिमी भागमा भारी बेमौसमी वर्षा भयो। झन्डै ११ अर्बको धानबाली खेतमै भिजेर सखाप भयो। चुरेबाट उर्लेर आएको बाढीले बस्ती डुबायो। भौतिक पूर्वाधारमा क्षति पुर्‍यायो।

वातावरणविद् डा. विजयकुमार सिंह भन्छन्, ‘यसपटक थोरै समयमा धेरै पानी पर्‍यो।’ चौबीस घण्टामा १५० मिलिलिटर पानी पर्‍यो। कपिलवस्तु र नवलपरासीमा ३ सय ५० मिलिलिटर पानी पर्दा धनजनको ठूलो क्षति भएको उनले बताए।

हिउँद लाग्नेबित्तिकै तराईका चुरेनजिकैका बस्तीमा खानेपानीको हाहाकार हुन्छ। खोलाको पानी हराउँछ इनार, कुवा सुक्छन्। महोत्तरी बर्दिबासका ३५ हजार उपभोक्ताको पिउने पानीका सबै मुहानस्रोत चुरे क्षेत्र हो।  

पानी भण्डारण हुने मुहान तलपट्टी दर्जन बढी क्रसर छन्। क्रसर उद्योगीले रातु खोला र त्यसको वरिपरि जथाभावी दोहन गर्छन्। ‘चुरेको दोहनले हिउँदमा मुहान सुकेर आधा हुन्छन्’, बर्दिबास साना–सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोला खड्का भन्छन्, ‘चुरेमा पानीको स्रोत हराउँदै गएको छ।’ तराईका अधिकांश पानीका मुहान सुक्दै गएका छन्। 

हिमालको सुरक्षा कवचका रूपमा चुरे र महाभारत पहाड छ। मधेसको लाइफलाइन चुरे, महाभारत र हिमाल हुन्। चुरेको प्राकृतिक स्रोत विनास हुँदा त्यसको असर विकराल बन्दै गएको वातावरणविद् डा. तुलाधर बताउँछन्। ‘नेपालको ५० प्रतिशत जनता तराईमा बस्छन्,’ तुलाधर भन्छन्, ‘उनीहरूले विनासको असर भोगिरहेका छन्। चुरे बचाउनुपर्छ।’ चुरे जोगियो भने जलवायु परिवर्तनको असरलाई पनि कम गर्ने र जलवायुबाट हुने उत्सर्जनलाई पनि कम गर्ने तुलाधर बताउँछन्।

नेपालको जनगणना २०६८ अनुसार १ करोड ४७ लाख ४८ हजार ६ सय ७२ जना चुरेको काखमा फैलिएको मधेसमा बसोबास गर्छन्। अन्न, पानी, प्राणवायु, जडीबुटी, फलफूल, कन्दमूललगायत सबै चिजवस्तु उनीहरू चुरेबाटै उपभोग गर्छन्।

‘तराई अन्नको भण्डार हो भने चुरे पानीको भण्डार हो। चुरे रह्यो भने मात्रै विश्वमा गौरव गर्ने सगरमाथामा हिउँ रहन्छ,’ पूर्वराष्ट्रपति डा. रामवरण यादवले हरेक सभा समारोहमा भन्ने गर्छन्, ‘सित्तैमा पाइएको सुन्दर नेपाल आउँदो  पुस्तालाई हस्तान्तरण गर्नुपर्छ।’ 

पर्वतीय क्षेत्रबाट दक्षिणतिर ५ हजार बढी नदी पर्छन्। तराईका ३६ जिल्लामा फैलिएको चुरे क्षेत्रबाट १ सय ६४ वटा नदी बग्छन्। हिमताल विस्फोट हुँदा तराईमा त्यसको ठूलो असर पर्ने चुरेविद् डा. सिंह बताउँछन्। 

हिमालले तराईलाई शीतलता र पिउने पानी दिन्छ। तराईका फाँटमा उत्पादित अन्नबाली विगतमा पहाड र हिमालमा जान्थे। तर, अहिले मधेस नै भारतबाट चामल किनेर खान्छ। चुरे दोहन र बढ्दो वन विनाशले पानीका मूलहरू सुक्दै गए, खेतबारी बाँझै भए। गास खोज्दै युवाहरू विदेश पुग्ने गरेका छन्। 

चुरेमा बाघ, हात्ती, गैंडा, अर्नाजस्ता ठूला स्तनधारी वन्यजन्तुको वासस्थान छ। जैविक विविधताले चुरेक्षेत्र महत्वपूर्ण छ। यो भू–भागमा २ सय ८१ प्रजातिका रूख, १ सय ८६ प्रजातिका बुट्यान र वनस्पति पाइन्छन्। विविधताका हिसाबले नेपालमा पाइने १ हजार ९ सय १८ प्रकारका जीवजन्तुमध्ये १ हजार ३ सय ८ चुरे तथा तराई–मधेसमा पाइन्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.