कोरोनाले थलिएको विद्यालय पुरानै लयमा फर्किंदै

कोरोनाले थलिएको विद्यालय पुरानै लयमा फर्किंदै

चितवन : झण्डै डेढ वर्षपछि विद्यालय गएका भरतपुर ४ स्थित बैदिकनगरका अभिषेक गौतम खुसी थिए। लामो समयको अन्तरालमा साथीसँगै बसेर पढ्न पाएकोमा उनी खुसी भए। बिचमा केही दिन खुले पनि कोरोनाको महामारीको कारण पुनः बन्द भएको विद्यालय दसैंपछि सञ्चालनमा आएको छ। 

बाल्मिकी शिक्षा सदनमा कक्षा दशमा पढ्ने गौतम बिहान दश बजे पुगेर चार बजे फर्किन्छन्। विद्यालयको समय अवधिभर साथीसँगै सिक्दै पढ्न पाएका छन्।  अहिले पढाइमा पनि निकै सहज भएको बताए। ‘घरमा बसेर अनलाइन पढ्दा निकै गारो भयो। डरले पनि पढाइ राम्रो हुन सकेको थिएन ’, उनले भने, ‘कक्षामा नबुझेको सोध्न पाइन्छ। साथीसँग पढ्न खेल्न पाइएको छ। पहिलाको दिन सम्झिदा त कहाली लागे झै हुन्छ। ’ पहिला दुई घण्टा अनलाइन कक्षा लिने विद्यार्थीहरु अहिले ६ घण्टा विद्यालयमा पढ्न पाएका छन्। सुरक्षित तवरले विद्यालय पुनः सञ्चालन भएपछि अभिभावक पनि खुसी छन्। 

कोरोनाको जोखिमले बन्द भएका विद्यालय झण्डै डेढ वर्षपछि सञ्चालनमा आएको हो। विद्यार्थीको चहलपहलले विद्यालयको वातावरण फरक बनेको छ। कोरोना संक्रमणको जोखिमले विद्यालय जान नपाएका विद्यार्थी पढाइ सुरु भएपछि विद्यार्थी रमाएका छन्। लामो समयपछि साथीसँग भेट्न पाउदा दंग पनि थिए। भौतिकरुपमै पठनपाठन हुँदा विद्यार्थी र अभिभावक खुसी छन्। 

वडा शिक्षा समितिको सिफारिसमा विद्यालयहरु एकै सिफ्टमा सञ्चालन भएको हो। पुस माघबाट बैशाखसम्म विद्यालय चलेको थियो। बैशाख १७ गतेबाट बन्द थिए। दसैंअघिसम्म सिफ्टअनुसार चले। ‘विद्यार्थीहरु पढ्न उत्सुक छन्। हामीलाई पनि पढाउन पाठ्यक्रम अनुसारको सिकाइको लागि सजिलो भएको छ, ’ शारदा माध्यमिक विद्यालयका शिक्षक प्रेमराज पौडेलले भने, ‘आर्थिक विपन्नताका कारण धेरै विद्यार्थीलाई अनलाइनमा जोडिन सक्ने अवस्था थिएन। अहिले सामान्य र सहज हुँदै गएको छ। ’  

विद्यालयको मूलगेटमा .सबैको ज्वरो नापिन्छ। हातमा स्यानिटाइजर लगाएपछि मात्रै प्रवेश गर्न दिइन्छ। मास्क बिना विद्यालय प्रवेशमा रोक लगाइएको छ। विद्यार्थीहरु निर्धक्क वातावरणमा पठनपाठन गरेका छन्। शिक्षक र विद्यार्थीबीच प्रत्यक्ष भेट नहुँदा सिकाइमा कमी आएको थियो। विद्यालयले लिएका आन्तरिक परीक्षाको नतिजाले पढाइ कमजोर देखाएको छ। अनलाइन कक्षा त्यति प्रभावकारी नभएको बाल्मिकी शिक्षा सदनका प्रिन्सिपल प्रदिप पौडेलले बताए। ‘विद्यालयमै पढ्दा विद्यार्थीको मानसिकरुपमै सकारात्मक प्रभाव परेको छ ’, पौडेलले भने, ‘विद्यार्थी कक्षामा उपस्थित भएर अध्ययन गरेजस्तो अनलाइन माध्यममा थिएन।  कक्षामै प्रत्यक्ष पढाउँदा  निगरानी हुन्छ। यसले उनीहरुले धेरै छिटो सिक्छन्। ’ 

कोरोना महामारी कम हुँदै गएपछि नियमित विद्यालय सञ्चालन भएको छ। यसअघि भर्चुअल माध्यमको पढाइले विद्यार्थीको सिकाइमा कठिनाईइ थियो।  मानसिक रुपमा पनि विद्यार्थीमा सकारात्मक प्रभाव परेको शिक्षकहरु बताउँछन्।  कोभिड थलिएको शैक्षिक क्षेत्र बिस्तारै सामान्य बन्दै गएको छ। 

अहिले विद्यालय पुरानै लयमा फर्कन थालेका छन्। जिल्लाका सबै विद्यालयहरुको पठनपाठन नियमित भएको छ। दशैअघि दुई सिफ्ट गरेर पढाइ गरिएको थिए। दसैंपछि नियमित पढाई गरिएको हो। सुरक्षित भएर निर्धक्क वातावरणमा पढाई सञ्चलान भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख भूमिलाल सुवेदीले बताए। ‘जिल्लाका सबै विद्यालय खुलेका छन्। तिहारपछि अझै तीव्रता हुन्छ भन्ने लागेको हो ’, सुवेदीले भने, ‘कोरोनाले थिलोथिलो पारेको शैक्षिक वातावरण सुधारिने ठानेका छौं। ’ 

जिल्लामा तीन सय ४९ सामुदायिक विद्यालय र १५६ वटा संस्थागत  विद्यालय छन्। निजी तथा सामुदायिकमा गरेर करिब एक लाख ७० हजार विद्यार्थी छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.