स्वास्थ्यकर्मीलाई जोखिम भत्ता खोइ ?
काठमाडौं : कोरोना संक्रमण रोकथाममा दिनरात नभनि खटिरहने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने सरकारको योजना कार्यान्वयनमा सकस देखिएको छ । संक्रमितको उपचार व्यवस्थापनमा खटिने अधिकांश स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएका छैनन् । सरकारी अधिकारीहरु रकम निकासा नहुँदा भुक्तानीमा ढिलाइ भएको बताउँछन् ।
कर्मचारीको मनोवल उच्च बनाउन सरकारले जोखिम भत्ता उपलब्ध गराउने योजना अगाडि सारेको थियो । स्वास्थ्य मन्त्रालयमा बिहीबार पुगेका स्वास्थ्यकर्मी अनिल यादवले भने,‘के गर्नु दिनरात नभनि खटियो । तर,अहिलेसम्म जोखिमभत्ता पाएको छैन । सरकारले दिन्छ भनेको त सुनेको थिए ।’
सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश, २०७७ जारी गरेको थियो । जसमा हेल्थ डेस्कमा कार्यरत जनशक्ति, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा खटिएका, स्थलगत नाकामा खडा गरिएका हेल्थ डेस्कमा खटिएका, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा अन्तर्गतका मन्त्रालय, कार्यालय वा अन्य कुनै निकायले आवश्यक ठानी विभिन्न स्थानमा खडा गरिएका हेल्थ डेस्कमा खटिएका कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने उल्लेख छ ।
आदेशमा संक्रमणको शंका लागि आइसोलेसनमा राखिएका वा संक्रमण पुष्टि भइ उपचारमा रहेका बिरामीहरुको उपचारमा प्रत्यक्ष संलग्न जनशक्ति तथा संक्रमणको शंकास्पद तथा पुष्टि भएका बिरामीको नमूना संकलन गर्ने जनशक्तिलाई सरकारले तोकेको शुरु तलब स्केलको शतप्रतिशत, संक्रमणको शंका लागि आइसोलेसनमा राखिएका वा संक्रमण पुष्टि भइ उपचारमा रहेका बिरामीहरुको उपचारमा अप्रत्यक्ष संलग्न र इमेजिङ्ग सेवा प्रदायक जनशक्तिलाई नेपाल सरकारले तोकेको सुरु तलब स्केलको पचहत्तर प्रतिशत भत्ता उपलब्ध गराउने भनिएको छ।
यस्तै, कोभिड–१९ को महामारी सुरु भइसकेपछि स्थापना भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भारत र चीनका नाकाहरुमा स्थापना गरिएका हेल्थ डेस्कमा खटिएका जनशक्ति तथा प्रयोगशाला परीक्षणका लागि संकलन गरिएको नमूना प्याकिङ तथा ओसारपसारमा संलग्न तथा आइसोलेसनमा राखिएका र संक्रमण पुष्टि भइ उपचाररत बिरामीहरुको ओसारपसारमा संलग्न सवारी साधनमा कार्यरत जनशक्तिलाई दोहोरो नपर्ने गरी नेपाल सरकारले तोकेको सुरु तलब स्केलको पचास प्रतिशत, कोभिड–१९ को परीक्षण गर्ने प्रयोगशालामा कार्यरत जनशक्तिमध्ये प्रत्यक्षरुपमा परीक्षण तथा प्रमाणीकरणमा संलग्न जनशक्तिलाई दोहोरो नपर्ने गरी सरकारले तोकेको शुरु तलब स्केलको शत प्रतिशत जोखिमभत्ता दिने भनिएको छ ।
स्वास्थ्य मन्त्रालयले गत जेठ ५ गते परिपत्र जारी गर्दै कोभिड–१९ को पहिचान, निदान र उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन सबै अस्पतालसँग विवरण मागेको थियो । कोभिड उपचारमा प्रत्यक्ष रुपमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई ६ महिनासम्म सुरु तलब स्केलेको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको हो ।
स्वास्थ्य मन्त्री वीरोध खतिवडाले स्वास्थ्यकर्मीले भत्ता नपाएको विषयमा आफू गम्भिर रहेको बताए । उनले भने, स्वास्थ्यकर्मीले भत्ता नपाएको गुनासो सुनेको छुँ । त्यसका लागि अर्थमन्त्रालयमा ४५ करोड रकम निकासाका लागि पत्र पठाइसकिएको छ ।’
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणअन्तर्गत ‘फ्रन्ट लाइन’ मा खटिने अधिकांश स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले अझै जोखिम भत्ता पाउन सकेका छैनन् । कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागू गर्न खटिने राष्ट्रसेवकलाई सरकारले ०७६ चैत ११ गतेदेखिको भत्ता दिने निर्णय गरेको थियो। स्वास्थ्य मन्त्रालयले गत असार मसान्तसम्म जोखिमभत्ता दिइसकेको बताउँदै आएपनि अधिकांश अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी जोखिम भत्ता पाउनबाट बञ्चित छन् ।