म उपसभापतिको उम्मेदवार हुँ : गच्छदार
विराटनगर : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन्। वर्तमान अवस्थामा पार्टीको उपसभापति रहेकाले अगामी महाधिवेशनमा पनि उपसभापतिमा नै उम्मेदवारी दिने उनले घोषणा गरेका हुन्।
विराटनगरमा प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, 'आफूले पार्टी एकीकरण गरेर उपसभापति बनेको हुँ, सबै सझा उम्मेदवारको रुपमा फेरि उपसभापति हुन्छु।' उनले पार्टीमा अहिले गुट उपगुट बढिरहेकाले सबै गुटको चाहनामा नै उपसभापतिमा उम्मेदवारी दिने बताए । 'म कांग्रेसलाई बलियो बनाउन आएको हुँ', उनले भने, 'सबै गुटले उपसभापति बनाएर कांग्रेसलाई बलियो बनाउन सहयोग गर्ने छ।'
पार्टीको विधान, नियमावली र निर्देशिकालाई पन्छाएर खासखास व्यक्तिको रुची र छनौटलाई अधार बनाएर स्थानीय तहमा नेतृत्व चयन गरेको प्रति असन्तुष्टि व्यक्त गरे। गच्छदारले विधानविपरित खास व्यक्तिको रुचीमा चयन गरिएको स्थानीय तहको नेतृत्वलाई सर्वस्वीकार गर्न नसकिने बताए। आफ्नै कार्यकर्तालाई काखापाखाको पूर्वाग्रही व्यवहारप्रति असन्तुष्ट बढ्दै गएको उनको भनाइ छ।
विधान मिचेर काखापाखाको व्यवहार भएको आरोप लगाएका गच्छदारले विधानविपरित जाँदा कांग्रेस बलियो नहुने बताए। ‘नेतृत्व चयन प्रक्रियाप्रति असन्तोष र गुनासो पनि उत्तिकै प्रकट भइरहेको छ’, उनले भने, ‘पार्टीको विधान, नियमावली र निर्देशिकालाई एकातिर पन्छाएर खासखास व्यक्तिको रुचि र छनौटलाई आधार मानेर स्थानीय तहमा नेतृत्व चयन गरिएको देखिन्छ।’
उनले नेपाली कांग्रेसको वर्तमान विधान, नियमावली र निर्देशिका नै एकाङ्गी, खास उद्देश्यबाट प्रेरित र पूर्वाग्रही रहेको भनेर गरिँदै आएको विरोधको पुष्टि भएको देखिएको बताए।
‘खास समूहलाई लक्षित गरी जथाभावी चलाइँदा पार्टीको विधानको स्वरुप नै आज उँटजस्तो बन्न पुगेको भनेर स्थानीय नेता कार्यकर्ताले टिप्पणी गरेको सुन्नु परिरहेको अवस्था छ’, गच्छदारले भने, ‘कुनै स्वार्थ समूहको निहीत स्वार्थमात्र पूरा हुने गरी विधान, नियमावली र निर्देशिका संशोधन हुँदा त्यसले सिंगो पार्टीलाई हानी गरिरहेको भन्ने कुरातर्फ नेतृत्व वर्ग अकर्मन्य र उदासीन भइरहेको पाइएको छ।’
आफ्नो स्वार्थ अनुकूलका प्रावधान विधानमा अनावश्यक तवरले राखिएर निष्ठावान कार्यकर्तालाई पार्टीको तहगत निर्वाचनमा भाग लिनबाट वञ्चित गर्ने उद्देश्यले विधानमा राखेको व्यवस्था पार्टी पंक्तिभित्र अत्यन्त नै आलोचनाको विषय बनेको बताए।
‘गहिरो बन्दै गएको गुटबन्दीले पार्टीलाई दिनदिनै कमजोर बनाउँदै लगेको पक्षलाई बिर्सन मिल्दैन’,उनले भने, ‘विद्यमान विधानलाई व्यापक छलफलबाट परिमार्जन गरिएन भने यसले गुटबन्दीको समस्यालाई थप गहिरो बनाउँदै लाने निश्चित छ। जसले पार्टीलाई कदाचित पनि हित गर्ने छैन।'
उनले पार्टीको निर्वाचन गर्दा सभापति र केन्द्रीय सदस्यको निर्वाचन एकैचौटी सम्पन्न गर्ने वैधानिक व्यवस्था गर्नु पर्ने माग समेत गरे । निर्वाचित केन्द्रीय सदस्यहरु मध्येबाट केन्द्रीय कार्यसमितिको निर्णय अनुसार पदाधिकारीको नियुक्त हुने प्रावधान राखिनु पर्ने उनले बताए ।