रङ्गी– विरङ्गी मिठाइप्रति कसरी सजग हुने ?
काठमाडौं : खाद्य नियमावलीले ११ प्रकारका रङलाई मात्र मान्यता दिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जन भरसक रङहरू प्रयोग नगर्न सुझाव दिन्छन्। ‘प्रयोग गर्नै परे खाद्य गुणस्तरको मापदण्डअनुसार हुनुपर्छ,’ उनले भने।
उपभोक्ताहरूले पनि झलक्क हेर्दा आकर्षक देखिने यस्ता अखाद्य रङबाट समेत हुनुपर्ने उनको भनाइ छ। ‘स्वास्थ्यलाई हानी गर्ने अखाद्य रङ मिसावट गरिएका मिठाईबाट उपभोक्ता सजग हुनुपर्यो,’ उनी भन्छन्। ‘यस्तो मिठाई ग्राहकले किन्दै नकिनेपछि व्यवसायीले पनि मिसाउनै छोड्छन्।’ रङसँगै अन्य कच्चापदार्थ उपभोग गर्न लायक छ वा छैन, भान्छाको सरसफाइबारे पनि सजग हुनुपर्छ।
खाद्य नियमावली २०६४ (पाँचौं संशोधन) अनुसार खाद्य पदार्थमा प्रयोग गर्न स्वीकृत कोलटार रङहरू सिन्थेटिक डाइज, टिक डाइज हुन्। रासायनिक संयोगबाट निर्मित कोलटार रङ वा ती रङहरूको समिश्रण बाहेक अन्य कोलटार खाद्य पदार्थमा प्रयोग गर्न पाइँदैन। कोलटार खानका लागि तयार खाद्य पदार्थमा प्रतिकिलो २ सय मिलिग्राममा नबढाइ प्रयोग गर्न सकिन्छ।
कोलटार रङ सबै प्रकारको आइसक्रिम, चीज, फुलबाट बनेका परिकार, बिस्कुट, केक, पेस्ट्री, मिठाई, चिया, कफी, कोक, मदिरारहित पेय वस्तु, कष्टार्ड पाउडर, जेली पाउडर, प्रशोधित वा संरक्षित फलफूल र हरियो सागपात, सुप पाउडर, सुगन्धित पदार्थ जस्ता खाद्य पदार्थमा मात्र प्रयोग गर्नुपर्छ। पकाएर खानुपर्ने खाद्य पदार्थमा कोलटार प्रयोग गर्न निषेध गरिएको छ।