लक्ष्मीको उपासना
दसैंभरि महालक्ष्मी, महासरस्वती, महाकालीको उपासना गरिन्छ भने जमरा विसर्जनको यो पूर्णिमाको दसैंपछिका दिन घरमा कोको जागा छन् भन्दै देवी लक्ष्मीको आगमन हुने गर्छ। लक्ष्मीको आगमनले लक्ष्मीको वर्षा हुने मान्यतामा यो पर्व मनाइन्छ। यतिबेला लक्ष्मीको उपासना भनौं धनको विशेष पूजा हुने गर्छ। लक्ष्मीको चर्चा गर्दा यिनको स्वरूप बुझ्नुपर्ने हुन्छ।
यिनका मुख्य दुई रूप छन्। एउटा हो भौतिक रूप, अर्को हो आध्यात्मिक वा दैवीस्वरूप। भौतिक रूपमा मात्र हेर्दा लक्ष्मी केवल भोगकी साधन मात्र बन्न पुग्छिन्। दैवी र आध्यात्मिक रूपले हेर्दा लक्ष्मी योगकी साधन, उपयोगकी साधन पनि बन्न पुग्छिन्। उपभोगले मात्र हेर्दा लक्ष्मीको वाहन केवल लाटोकोसेरो मात्र बन्न पुग्छ। लक्ष्मी गरुडासनी बन्न पुग्छिन्। जहांँ लक्ष्मीको सेवा हुन्छ, त्यहांँ नारायणको सेवा हुनु जरुरी छ। नारायणको वाहन गरुड चढेर आउने लक्ष्मीको स्वागत गर्दा जीवन सुखमय, शान्ति र कान्तिमय बन्न पुग्छ। धन केवल भोग साधना गर्ने वस्तु हो भनी यसको दुरुपयोग गरेमा लक्ष्मी प्रसन्न हुन्नन्। मान्छेको मति बिगारिदिन्छिन्। मति बिग्रेपछि गति पनि ठीक हुन्न, दुर्गतितिर उन्मुख व्यक्तिले शान्ति र कान्ति दुवै पाउँदैन।
लक्ष्मी प्रसन्न राख्न सरसफाइको साथै उद्यमशीलता आवश्यक पर्छ। उद्यम, परिश्रम, मिहिनेत, निरन्तरको साधनाबाट लक्ष्मी खुसी हुन्छिन्। केवल पूजाले मात्र भन्दा पनि त्याग र समर्पणभाव, प्रेम र सद्भाव, सहिष्णुता र उपकार अनि दान र सामाजिक सेवामा लागेर मान्छे पवित्र हुन्छ। सुख, शान्ति र आनन्द प्राप्तिका लागि लक्ष्मीको आध्यात्मिक एवं दैवीस्वरूपलाई बुझ्नुपर्ने हुन्छ। चारित्रिक शुद्धता, अक्रोध, अवैरभाव, देवत्वको भाव, अप्रमाद र उद्योगमा लक्ष्मीको बास हुन्छ। धनको सदुपयोग, पदार्थको सदुपयोग, तत्वज्ञानको सदुपयोग, लज्जा, त्याग, शिष्टतामा लक्ष्मीको बास हुने हुँंदा लक्ष्मीपूजा गर्ने साधकहरू सज्जन, शान्त, धीर, बीर हुन जरुरी छ।
बाहिर देखिएको तापशक्ति, सौर्य ऊर्जादेखि मानव हृदयभित्रको जठराग्नि समेतमा रहेर आफ्नै शक्तिद्वारा प्रदत्त पदार्थको पाचन गराउने कार्य जीवात्माको हृदयभित्र बसेर उनै लक्ष्मीले आप्mनो कार्यसञ्चालन गरिरहेकी हुन्छिन्। लक्ष्मीको अर्को पाउ बसेको छ, सत्यमा, साधुका हृदयमा, सत्यवादितामा, सरसतामा, मधुरवाणीमा, आशीर्वादमा, मीठो मुस्कानमा, प्रिय र सत्यबोली, आचरण र तप, मनको शुद्धता र सात्विक आहारबिहारमा लक्ष्मीको पाउ अडेको हुन्छ। यसर्थ, तपस्वी, साधु, सन्त केवल भेषको कारण होइन, आचरण पवित्रतामा हुनुपर्ने र तिनको आशीर्वादमा लक्ष्मीको आगमन हुने हुनाले कीर्ति, बुद्धिका साथै विवेक, संयम, आत्मसंयमी आदि व्यक्तिमा यस्ती लक्ष्मीको निवासस्थान रहेको हुन्छ। महाभारत भीष्मपर्व, शान्तिपर्व र पद्मपुराण आदिमा लक्ष्मीको प्रशस्त चर्चा भएको पाइन्छ।
कृषि पेसामा लागेका नेपालीमाझ शारदीय यी रात्रिमा खेतमा धानका बालाहरू झुल्नु, पौरखी हातहरूको स्वरूप लक्ष्मीको पूजा हुनु, कृषि, गोरक्षा, कृषि कार्यमा संलग्न हाम्रा लागि यस्ता दिन बढी पावन हुन्छन् नै। धर्म, दर्शन, विश्वास संसारका सामु उदाहरणीय हुन्छ पनि। अघि समुद्र मन्थनबाट धर्तीमा अवतरित भएकी लक्ष्मीका अनेकौं रूप छन्। जसमध्ये सबैलाई मोहित पार्ने मोहिनी पनि हुन्। सिर्जनामा उनको स्वरूप सरस्वतीको हुन्छ। अक्षय, सुख ऐश, आराम, ऐश्वर्यदेखि पालनकार्यमा उनको स्वरूप महालक्ष्मीको हुन्छ। विश्व ध्वस्त पार्नेसम्मको काममा एक खेलौनासम्मको कार्यमा उनको स्वरूप महाकालीको हुन्छ।
लक्ष्मीको उपासनासँगै भोलिपल्ट कार्तिक कृष्ण प्रतिपदादेखि एक महिनासम्म भनौं कार्तिक पूर्णिमासम्म पितृ उद्धार हेतु हरेक दिन साँझ तुलसीको मोठ नजिक बाँसको लिंगोमा आकाश दीप बाल्ने चलन छ। प्रायः धर्म संस्कृतिको जगेर्ना गर्न उद्यत् आमा, दिदीबहिनीले यसो गर्ने गर्छन्। यसो गर्नाले सम्पूर्ण पाप नास भई, दीर्घायु, सुस्वास्थ्य, सुकीर्ति, धनधान्य वृद्धि, सुख, ऐश्वर्य वृद्धि हुन्छ भन्ने पौराणिक मान्यता छ।