बिस्थापितको बिचल्ली

बिस्थापितको बिचल्ली

फिदिम : कात्तिक २ को पहिरोले इलामको माङ्सेबुङ–६ गौरीगाउँका चार जनाले ज्यान गुमाए। सबै परिवार विस्थापित भए। भागेर बाँचेका तर, घरबारविहीन भएका पीडितहरू शरणार्थी जस्तै जीवन बिताइरहेका छन्।

 पाँचथर र इलामको सीमावर्ती चिसोपानी बजारको भत्कन लागेको एउटा घरमा नौ परिवार विस्थापितले शरण लिएका छन्। सोमबार राति उनीहरू खाना खाने जमर्को गर्दै थिए। चिसो कुनामा दूधे बच्चा काखी च्यापेर एक महिला औषधि खाने तयारीमा थिइन्। 
छेउमा चार बालबालिका लुगलुग काँम्दै बसिरहेका थिए। सबैको अनुहार निन्याउरो थियो। ‘हाम्रो विपत्तिलाई कसैले देखेन,’ केही क्षणको सन्टापछि एक जना पुरुष बोले  ‘आमा र बच्चाहरू चिसोले बिरामी परेका छन्। खान र बस्नको राम्रो व्यवस्था छैन। यसरी कितिन्जेल बाँचिएला ?,’ पीडितहरूको वेदना सुनाएका रामबहादुर बान्तवाले अन्नपूर्ण पोस्ट्सँग भने ‘बरु पहिरोले लगेको भए ढुक्क हुने थियो।’

गौरीगाउँकी निरुता राई दुई सातादेखि ४ महिनाको नानी च्यापेर चिसो भुइँमा बसेकी छन्। आमा छोरा दुवैलाई चिसोको असर देखिन थालेको छ। ‘रुघा, ज्वरो, खोकीले च्यापेको छ। औषधि खाइराखेका छौँ,’ उनले भनिन्, ‘सबै बिरामी पर्न थालेका छौं।’

पहिरोमा परेर घाइते भएका जनम राई पनि यही घरमा दिन कटाइरहेका छन्। जनमका बुवा यहीँका हरिप्रसादको पहिरोमा परी ज्यान गयो। आमा भक्तकुमारीसमेत घाइते छिन्। ‘अहिलेसम्म कतैबाट खोजी भएन,’ गहभरी आँसु पार्दै जनमले भने, ‘बुवा गुमायौं। बस्ने र गरिखाने घर, जमिन सबै पहिरोमा परिणत भयो। हाम्रो जिउने आधार नै सकियो।’

पहिरोले पाँचथरको मिक्लाजुङ, फाल्गुनन्द र इलामको माङ्सेबुङ गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ। पीडितलाई प्रारम्भिक चरणको राहत उपलब्ध गराइएको माङ्सेबुङ–६ का वडाध्यक्ष प्रदीप साम्पाङले बताए। ‘स्थानीय सरकारको क्षमताले भ्याएसम्म गरिरहेका छौं,’ साम्पाङले भने, ‘ठूलो क्षति भएकाले संघ र प्रदेश सरकारले विशेष चासो दिनुपर्छ।’

पहिरोमा पाँचथर–३१  र इलामका १२ बढीको मृत्यु भयो। ३ अझै बेपत्ता छन्। पाँचथरका विस्थापितहरू आफन्त र छिमेकीको शरणमा छन्। क्षतिको विवरण अझै आउन सकेको छैन। ‘भौगोलिक बिकटताका कारण विवरण संकलनमा कठिनाइ भएको भयो,’ मिक्लाजुङ गापाका अध्यक्ष अमर माखिमले भने ‘सडकहरू अवरुद्ध छन्। सबै गाउँमा पुग्न सक्ने स्थिति छैन। संयन्त्र प्रयोग गरेर लागिरहेका छौं।’
पहिरो प्रभावित क्षेत्रमा सडकहरू भत्किएका छन्। पहाड चिरा–चिरा परेको छ। सञ्चार र विद्युत् अवरुद्ध छ। ‘पहिरोपछि हाम्रो गाउँ त्रास र शून्यतामा हराएको छ,’ मिक्लाजुङ–५ का सन्त लावतीले भने  ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.