अरबपति एलन मस्कले टेस्लाको १० प्रतिशत हिस्सेदारी बेच्नुपर्ने
क्यालिफोर्निया : ट्वीटरमा टेस्ला कम्पनीका सीईओ एलन मस्कले गरेको मत सर्वेक्षणअनुसार उनले आफ्नो १० प्रतिशत हिस्सेदारी बेच्नुपर्ने देखिएको छ। बीबीसी समाचारका अनुसार मस्कले कर प्रयोजनको लागि आफ्नो हिस्सेदारी बेच्नुपर्ने सर्वेक्षणले देखाएको हो।
शनिबार मस्कले ट्वीटरमा गरेको मत सर्वेक्षणमा ३५ लाख बढी ट्वीटर प्रयोगकर्ताले भाग लिएका थिए। सर्वेक्षणमा ५७.९ प्रतिशतले हिस्सेदारी बेच्नुपर्ने पक्षमा मत दिएका छन् भने ४२.१ प्रतिशतले हुन्न भन्ने मत दिएका छन्।
मत सर्वेक्षणको परिणामअनुसार मस्कले करिब २१ बिलियन डलर बराबरको शेयर बेच्नुपर्ने हुन्छ। अमेरिकी डेमोक्राट्सले प्रस्ताव गरेको ‘अरबपति कर’मा मस्कले सहमति तथा प्रतिवद्धता जनाएका छन्।
यद्यपि उनले आफ्नो हिस्सेदारी कहिले बेच्ने भनेर सार्वजनिक रूपमा बताएका छैनन्।