सिडिओ आफैं वन गस्तीमा खटिए
जोमसोम : मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नेत्र शर्मा आफैं वन गस्तीमा खटिएका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ईलाका संरक्षण कार्यालयको स्वामित्वमा रहेको मुस्ताङको उच्चलेकको जंगलमा वन्यजन्तुको अखेटोपहार चोरी तस्करी गर्ने क्रम बढेपछि प्रजिअ शर्मासहितको टोली मंगलबार वन गस्तीमा खटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
यसअघि वडा दसैं तथा तिहार पर्वको महत्वपूर्ण चाडपर्वको अवसर पारेर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१ लुप्रा गाउँको खम्पा क्याम्पमाथि पर्ने उच्चलेकको जंगलमा वन्यजन्तु तस्करले पाँसो थाप्ने र चोरी सिकारी गर्ने गरेको घटनापछि मुस्ताङका प्रजिअ शर्मा वन्यजन्तु संरक्षण अभियानमा जुटेका हुन्। प्रजिअ शर्मासहित सशस्त्र प्रहरी, जनपथ प्रहरी, एक्याप र डिभिजन वन कार्यालयका कर्मचारी गरी करिव १४ जनाको टोली वन गस्तीमा खटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए।
टोलीले मुस्ताङको घरपझोङ-५ अन्तर्गत पर्ने कैसाङमा रहेको सैनिक उच्चशिखर शिक्षालय क्याम्पमाथिको लेकमा वन गस्ती गरेको उनले उल्लेख गरे। वन गस्ती गरिएको उक्त स्थान तिब्बती खम्पाहरुको मुख्य सैन्य हेडक्वार रहेको क्षेत्र हो। खम्पा विद्रोही सो स्थानबाट हटेपछि २०३२ सालदेखि सो स्थानमा नेपाली सेनाको पर्वतीय सैन्य तालिम स्थलमा स्थान्तरण भएको हो। स्वदेश तथा विदेशका सैन्य टोली कैसाङमा पुगेर पर्वतीय तालिम लिने गर्छन्।
समुन्द्री सतहदेखि ३ हजार मिटरभन्दा माथिको उचाईमा अवस्थित कैसाङ जंगलमा गरिएको संयुक्त वन गस्तीमा वन्यजन्तुको मुमेन्ट देखिएपनि वन्यजन्तु तस्करहरुको कुनै गतिविधि फेला नपरेको प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले अन्नपूर्ण अनलाईनलाई जानकारी दिए।
‘लुप्रा लेकको जंगलमा वन्यजन्तु माथि भएको अपराधिक घटनाले हामी एकदमै संवेदनशील भएका छौं,संरक्षित क्षेत्र भएकाले वन्यजन्तुको सुरक्षा गर्नु हाम्रो दायित्व रहन्छ,प्रजिअ शर्माले भने,‘ आज देखि वन गस्ती अप्रेसन सुरु गरेका छौं,यसलाई निरन्तर वन गस्ती फलो गर्दै वन्यजन्तु संरक्षण अभियानमा लाग्नेछौं।’
प्रजिअ शर्माले लुप्रा माथिको जंगलमा भएको बन्यजन्तु दोहनको घटना जस्तै कैसाङ माथिको जंगलमा पनि हुन सक्छकी भनेर आफूहरुले वन गस्तीलाई तिव्रता दिएको बताए। उनले यसैगरी संरक्षित क्षेत्रका अन्य लेकका जंगलमा पनि क्रमशःवन गस्ती गर्ने योजना रहेको जनाए। ‘यहाँ वन्यजन्तुको आउजाउ गर्ने गरेको निसानी र सिग्नल देखियो तर पासो भने कतै भेटिएन, उनले भने।’
तिहारअघि अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना (एक्याप), डिभिजन वन कार्यालय र सुरक्षा निकायको संयुक्त वन गस्तीले लुप्रा माथिको जंगलमा १ सय ७९ थान वन्यजन्तुलाई लक्ष्य गरी थापिएको पासो फेला परेको थियो। सो क्रममा वन गस्ती टोलीले पासोमा परेको अवस्थामा एक जिउँदो कस्तुरी र ५ वटा मृत अवस्थामा रहेको कस्तुरी फेला परेको थियो। गस्ती टोलीले पासोमा परेको जिउदो कस्तुरीको उद्दार गरी जंगलमा नै छाडिदिएका थिए।