विवादित दक्षिण चीन सागरमा ताइवानले पठायो पनडुब्बी, नाइजरको विद्यालयमा भीषण आगलागी हुँदा २६ विद्यार्थीको मृत्यु

विवादित दक्षिण चीन सागरमा ताइवानले पठायो पनडुब्बी, नाइजरको विद्यालयमा भीषण आगलागी हुँदा २६ विद्यार्थीको मृत्यु

ताइवानले विवादित दक्षिण चीन सागरमा पनडुब्बी पठाएको छ। चीनको धम्कीकैबीच ताइवानले विवादित क्षेत्रमा पनडुब्बी पठाएको समाचार मंगलबार चर्चामा रहेको छ। यसैगरी नाइजरको विद्यालयमा आगलागी हुँदा २६ विद्यार्थीको ज्यान गएको समाचार पनि चर्चामा रह्यो। प्रस्तुत छ, मंगलबार चर्चामा रहेका विश्वका केही खबरहरू :


विवादित दक्षिण चीन सागरमा ताइवानले पठायो पनडुब्बी 

ताइपेई : ताइवानले विवादित दक्षिण चीन सागरमा पनडुब्बी पठाएको छ। बढ्दो चीनको धम्कीकाबीच सैन्य अभ्यासमा भाग लिन ताइवानले विवादित दक्षिण चीन सागरमा पनडुब्बी पठाएको हो। 

ताइवानको रक्षा मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै नियमित सैन्य अभ्यासमा भाग लिन कोस्ट गार्ड एडमिनिस्ट्रेसनले सो क्षेत्रमा ‘हाइ लुङ’ नामक पनडुब्बी पठाएको बताएको छ। 

चीन र ताइवानबिच बढ्दो तनावका बाबजुद ताइवानले विवादित क्षेत्रमा पनडुब्बी पठाउँदा खतरा झनै बढ्न सक्ने चेतावनी विज्ञहरुले दिएका छन्। चीनले ताइवानमाथि थप नियन्त्रण गर्न सक्ने चेतावनी समेत विज्ञहरुले दिएका छन्। 

ताइवानको नौसेनाले सन् १९८० मा नेदरल्याण्डमा बनेका दुईवटा पनडुब्बी सञ्चालन गर्दै आएको छ। ताइवानले स्वदेशी पनडुब्बी निर्माण गर्ने प्रक्रिया अघि बढाएको बताइएको छ। 
०००

कोरियाली युद्ध समाप्त गर्न जो बाइडेनसँग आग्रह 
वासिङटन : अमेरिकी संसदको एक समूहले राष्ट्रपति जो बाइडेनसँग कोरियाली युद्ध समाप्त गर्न आग्रह गरेका छन्। सांसदको समूहले गत हप्ता एक पत्र पठाउँदै सो आग्रह गरेका हुन्। 

विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा मंगलबार प्रकाशित समाचारअनुसार उत्तर कोरियासँग तत्काल छलफल गरी औपचारिक रुपमा कोरियाली युद्ध समाप्तीको घोषणा गर्न पत्रमार्फत आग्रह गरेका हुन्। 

कोरियन अमेरिकन पब्लिक एक्सन समितिका अनुसार क्यालिफोर्नियाका डेमोक्रेटिक प्रतिनिधि ब्राड सर्मनसहित विभिन्न २२ सांसदले हस्ताक्षर गरेको सांसदको समूहले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनलाई समेत सो पत्र पठाएका छन्। 

नोभेम्बर ४ मा राष्ट्रपति बाइडेनलाई पठाएको सो पत्रमा सांसदले दक्षिण कोरिया र उत्तर कोरियाबिच शान्ति कायम राख्न र कोरियाली प्रायद्विप क्षेत्रमा लोकतन्त्र स्थापना गर्न आग्रह गरिएको समितिले बताएको छ।
०००

म्यानमारका ३० लाख मानिसको जीवन संकटमा : राष्ट्र संघ 
बर्मा : संयुक्त राष्ट्रसंघले म्यानमारमका करिब ३० लाख मानिसको जीवन संकटमा रहेको बताएको छ। सैन्य ‘कू’ लागू भएको करिब १० महिनापछि संघले त्यहाँका ३० लाख मानिसको जीवन संकटमा रहेको बताएको हो। 

फेब्रुअरी १ मा म्यानमार सेनाले सत्ता हत्याउँदै सैन्य ‘कू’ लागू गरेपछि त्यहाँ अशान्ति छाउँदै आएको छ। सेनाको ज्यादती, कोभिड १९ महामारी, राजनैतिक अस्थिरतासँगै निम्तिएको आर्थिक संकटका कारण जनताको जीवन असुरक्षित रहेको राष्ट्रसंघले जनाएको छ। 

त्यहाँका मानिसको जिवन संकटमा रहेको बताउदै संघको मानव अधिकार प्रमुख मार्टिन ग्रिफ्थ्सले तत्काल करिब ३० लाख मानिसलाई मानवीय सहायता प्रदान गर्न आग्रह गरेका छन्। 

मार्टिनले म्यानमारमा शान्ति स्थापना नभएसम्म त्यहाँका संकटमा पर्ने मानिसको संख्या बढ्दै जाने चेतावनी दिँदै भनेका छन्, ‘म्यानमारमा सैन्य ‘कू’ लागू भएपछि विभिन्न असुरक्षा बढ्दै गएको छ। त्यहाँका मानिसको जीवन रक्षा गर्न विभिन्न अन्तर्राष्ट्रिय दाताहरुको सहयोगको खाँचो छ।’

गएको हप्ता म्यानमार सेनाले चीन राज्यस्थित एक गाउँमा आगजनी गर्दा बालबालिका र महिलासहित करिब ३७ हजार मानिस विस्थापित भएका छन्।  सो आगजनीमा परी १६० घर जलेर नष्ट भएका छन्। पछिल्लो समय देशभर करिब २ लाख २३ हजार मानिस विस्थापित भएका छन्।
०००

चीनमा यस वर्षको बाढीले ६ सयको मृत्यु, ५ करोडभन्दा बढी विस्थापित 
बेइजिङ : चीनमा यस वर्ष बाढीको कारण करिब ६ सयको मृत्यु भएको छ भने ५ करोडभन्दा बढी मानिस विस्थापित बनेका छन्। गएको जनवरीदेखि अक्टोबर महिनासम्म गएको बाढीका कारण सो संख्यामा मानिसहरु प्रभावित बनेका हुन्। 

चीनको आपतकालिन व्यवस्थापन मन्त्रालयअन्र्तगत जाउ सियुवेन विभागको तथ्यांकले यसवर्ष बाढीका कारण करिब ६ सय मानिसको ज्यान गएको र ५ सय मानिस अझै हराइरहेको देखाएको छ। देशभर  करिब ५ करोडभन्दा बढी ८९ लाख मानिस विस्थापित भएको र ३० लाख ५० हजार मानिसको तत्काल उद्दार गर्नुपर्ने समेत सो तथ्यांकले देखाएको छ। 

सो तथ्यांकअनुसार बाढीका कारण देशभर करिब २ लाख ३ हजार भवन भत्किएका छन् भने करिब २४०.६ बिलियनको क्षति भएको छ।
०००

जापानको अस्पतालले शौचालयको पानीलाई ३० वर्षसम्म पिउने पानीको रुपमा प्रयोग गरेको खुलासा
टोकियो : जापानको एक अस्पतालले शौचालयको पानीलाई ३० वर्षसम्म पिउने पानीको रुपमा प्रयोग गर्ने गरेको खुलेको छ। योमुइरी सिम्बुनको ताजा रिपोर्टले सो खुलासा गरेको हो। 

जापानी सञ्चारमाध्यमका अनुसार ओकासा युनिभर्सिटीमा अवस्थित सुविधा सम्पन्न अस्पतालले शौचालयको पानीलाई विगत ३० वर्षदेखि खानेपानीको रुपमा प्रयोग गर्दै आएको थियो। सो पानी हात धुन र अन्य प्रयोजनमा समेत प्रयोग हुँदै आएको समेत रिपोर्टमा उल्लेख छ।  

सो घटना दुर्भाग्यवश भएको भन्दै ओसाका विश्वविद्यालयका रिसर्चर र अस्पतालका उपाध्यक्ष काजुहिको नाकातानीले माफी मागेको बताइएको छ। यद्यपि, सो खुलासाबारे विस्तृत अनुसन्धान थालिएको र अनुसन्धानपश्चात पानीमा स्वास्थ्यलाई हानि गर्ने किटाणु फेला नपरेको विश्वविद्यालयको दाबी छ। 

सन् १९९३ मा अस्पताल निर्माणको क्रममा खानेपानी र शौचालयको पाइप जोड्ने क्रममा त्रुटि हुँदा सो समस्या देखा परेको समेत रिपोर्टमा उल्लेख छ। भवनको नयाँ भाग निर्माणको क्रममा सो समस्याबारे पत्ता लागेको जापानी मिडियामा उल्लेख छ।
००० 

तालिबानका विदेश मन्त्रीले पाकिस्तानको भ्रमण गर्दै 
काबुल : तालिबान सरकारका कार्यबाहक विदेशमन्त्रीले पहिलो पटक पाकिस्तानको भ्रमण गर्ने भएका छन्। अफगानिस्तान र पाकिस्तानको सम्बन्ध पुनस्र्थापना गराउन तालिबानका विदेशमन्त्री अमिर खान मुत्ताकीले बुधबार पाकिस्तानको भ्रमण गर्न लागेका हुन्। 

तालिबानको अन्तरिम सरकारका उप प्रधानमन्त्रीसमेत रहेका मुत्ताकीले तालिबान सरकारलाई क्षेत्रीय मान्यता दिलाउने प्रयाससमेत गर्ने स्थानीय मिडियामा खबर छ। विदेशमन्त्री मुत्ताकीले पाकिस्तान भ्रमण सकेलगत्तै मध्य पूर्वी मुलुक टुर्कमेनिस्तान र उज्वेकिस्तानको भ्रमण गर्ने समेत बताइएको छ। 

अफगान मामिलाका विज्ञले ग्लोबल टाइम्सलाई बताएअनुसार यदि मुत्ताकीको पाकिस्तान भ्रमण सफल रहेमा तालिबान सरकारले क्षेत्रीय मान्यता पाउने छ। 
०००

अमेरिकी ड्रोनलाई इरानको चेतावनी 
दुबई : इरान सेनाले अमेरिकी ड्रोनलाई चेतावनी दिएको छ। इरानी युद्धनजिक प्रवेश गर्न खोज्ने अमेरिकी सेनाको ड्रोनलाई इरान सेनाले मंगलबार चेतावनी दिएको हो। 

इरान सेनाको वार्षिक अभ्यास मंगलबार समापन भएको छ। 

स्थानीय मिडियाका अनुसार इरान सेनाले अमेरिकी सेनाको ड्रोनलाई चेतावनी दिएको छ। सो चेतावनी पश्चात ड्रोनले आफ्नो मार्ग बदल्दै फिर्ता भएको स्थानीय सञ्चार माध्यममा खबर छ।
०००

नाइजरको विद्यालयमा भीषण आगलागी, २६ विद्यार्थीको मृत्यु
नियामी : पश्चिम अफ्रिकी मुलुक नाइजरको एक विद्यालयमा भीषण आगलागी भएको छ। आगलागीमा परी विद्यालयका २६ बालबालिकाको मृत्यु भएको छ भने १३ गम्भीर घाइते भएका छन्। 

समाचार एजेन्सी एएफपीमा मंगलबार प्रकाशित समाचारअनुसार दक्षिण नाइजरको मरादी विद्यालयमा सोमबार आगलागी भएको थियो। काठ र परालले बनेको विद्यालयमा पठनपाठन चलिरहेको समयमा भएको आगलागीमा परी ५ देखि ७ उमेर समूहका २६ बालबालबालिको मृत्यु भएको छ भने १३ बालबालिका गम्भीर घाइते भएका छन्। 

नाइजर संसारकै गरिब मुलुकभित्र पर्छ। गरिबीका कारण त्यहाँ पक्की विद्यालय अभाव भएको र  हजारौँ विद्यालय काठ र परालबाट बनेको बताइएको छ। 

नाइजरमा आगलागीका घटना सामान्य मानिए पनि विद्यालयमा भएको सो क्षति विरलै हुने गरेको एएफपीमा उल्लेख छ। सोमबारको घटनापश्चात नाइजरका राष्ट्रपति मोहमेद बाजोमले काठ र परालबाट बनेका विद्यालयलाई तत्काल हटाई पक्की विद्यालय निर्माण गर्ने प्रतिज्ञा गरेको बताइएको छ। 

यसअघि अप्रिल महिनामा नियामी जिल्लास्थित एक विद्यालयमा आगलागी हुँदा २० बालबालिको मृत्यु भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.