फाल्गुनन्दको सम्झना
इलाम : किरात धर्म, संस्कार संस्कृतिको उत्थान तथा संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएका महागुरु फाल्गुनन्दको १३७औं जन्मजयन्ती स्वदेश तथा विदेशमा भब्यताका साथ मनाइँदै छ।
किरात जातिमा सामाजिक विसंगति र विकृतीले गाँजेको भयावह स्थितिलाई देखेर फाल्गुनन्दले किरातीहरूको संस्कार र संस्कृतिको संरक्षणका लागि जीवन खर्चिएको किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले जानकारी दिए।
फाल्गुनन्दको जन्म वि.सं. १९४२ कात्तिक २५ गते इलामको माङसेबुङ गाउँपालिका–२ डाँडा गाउँमा भएको थियो। बावु जगनबाज लिम्बू र आमा हंसमती लिम्बूको साइला छोरा फाल्गुनन्दले सामाजिक विकृतिका विरुद्ध जीवनभर लडेका थिए। ‘विश्व शान्ति र मानव एकता उहाँको मूल सन्देश थियो’, अध्यक्ष थेगिमले भने। आठ वर्षकै उमेरमा हत्या हिंसा गर्न नहुने, झुटो बोल्न नहुने, नारी जाति सृष्टिकर्ता हुनाले उनीहरूलाई समाजमा उच्चो सम्मान गर्नुपर्ने, आफ्नो कुल देवतालाई बिहान–बेलुका चोखो नीतोसँग ‘माङसेवा’ (पूजा आराधना) गर्नुपर्ने, मदिरापान गर्नु नहुनेजस्ता कुराको ‘दिब्य ज्योति’ प्राप्त गरेको विश्वासका साथ किरातहरू उनलाई ‘महान धर्म गुरु’का रुपमा स्मरण गर्ने गर्छन्। फाल्गुनन्दले बेलायती सेनामा रहँदा लडाइबाट विश्व शान्ति स्थापना हुन नसक्ने भन्दै राजीनामा दिएर आफ्नो धर्मको प्रचारमा लागेका किरात समुदायका अगुवाहरू बताउँछन्।
उनको न्वारनको नाम नरध्वज लिङदेन थियो। बाल्यकालमा हातमा फलामको चुरा लगाएका कारणले उनको नाम फाल्गुनन्द रहेको थियो । फाल्गुनन्दले धर्म प्रचारप्रसार वा साँझ–बिहान आआफ्नो घरमा युमा साम्माङको ‘माङसेवा’ गर्ने र सामुहिक रूपमा पनि ‘माङसेवा’ गर्नका लागि मेची र कोशी अञ्चलका विभिन्न स्थानमा सात वटा माङहिम (मन्दिर) बनाएका थिए। उनले कुम्भकर्ण हिमाललाई किरातीहरूको पवित्र धार्मिक तीर्थस्थल मान्दै त्यहाँ पनि एक ‘माङहिम’ बनाएका थिए।
फाल्गुनन्दलाई २०६६ मंसिरमा १७औं राष्ट्रिय विभुति घोषणा गरिएको थियो। फाल्गुनन्दको २००५ साल चैत २२ गते चुक्चिनाम्बाबाट सिलौटी जाने क्रममा पाँचथरको इम्बुङ पातलेमा ६३ वर्षको उमेरमा निधन भएको थियो। त्यसपछि उनको पार्थिव शरीरलाई सिलौटी धाममा अन्त्येष्टी गरिएको थियो।
फाल्गुननदको उत्तराधिकारीका रूपमा अहिले धर्मगुरु आत्मनन्द लिङ्देन छन्। सन् १९५५ जुन ६ तारिखमा इभाङ–५ मा पुण्यप्रसाद र चन्द्रमायाको पुत्रका रूपमा जन्मेका आत्मनन्दले माङसेबुङ गाउँपालिकाको लारुम्बाबाट धार्मिक तथा समाज सुधारका गतिविधि गर्दै आएका छन्।
२०५७/५८ सालतिर महाप्रलयको हल्लाचल्दा ‘माङ्सेबुङ क्षेत्रमा गुरुका कारण बाँचिने’ भनिएपछि पूर्वका विभिन्न जिल्लाबाट शरण खोज्दै थुप्रै धर्मावलम्बी यस ठाँउमा पुगेका थिए।