युगपुरुष फाल्गुनन्द अर्थात् समाज सुधारक

युगपुरुष फाल्गुनन्द अर्थात् समाज सुधारक

महागुरु फाल्गुनन्द मौलिकता र नेपाली संस्कृति बचाउन लागि परेका थिए। मौलिकता बिर्सिएर पथभ्रस्ट हुनुहुँदैन भनेर सन्देश बाँडिरहे।


छोरी–चेलीको सोतरित (सुनौली–रूपौली) नखानू, नलिनू। सुत्केरी २२ दिनपछि चोख्याउनू। मृत्यु हुँदा नौ दिन बार्नू र १० दिनपछि शुद्ध हुनू। शुद्धाई (बर्खान्त) र देवकार्यमा जीवघात नगर्नू। बर्खान्तमा मासुको सट्टा फलफूल, नैवेद्य र अदुवा चढाउनू। अदौमा सुँगुर र कुखुरा अबउप्रान्त नखानू। इष्टमित्र, कुलकुटुम्ब आउँदा र भेटघाटमा मदमांस (जाँडरक्सी, मासु) प्रयोग नगर्नू। तत्कालीन समाजमा सही संस्कार प्रचलनमा ल्याएर व्यापक सुधार गर्न महागुरु फाल्गुनन्दले यी सात नियम बनाए। समाज सुधारका निम्ति १९८८ वैशाख २४ गते यो ‘सत्य धर्म मुचुल्का’ तयार पारी लागू गर्न उनले भनेका थिए। खासगरि लिम्बू समाजको सुधारका लागि उनले यी सात बुँदा केन्द्रित गरेका हुन्। यो सत्य धर्म मुचुल्काको नीति अहिले विश्व समुदायले अनुशरण गर्न थालेको पाइन्छ। ८७ वर्षअघि जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरामा रोक लगाउने निर्णय त्यो पनि किराँत समुदायमा चानचुने विषय होइन। पाँचथरको लब्रेकुटीमा यी दुईको सेवनमा निषेध गर्ने सहमति सम्भव भएको थियो।

फाल्गुनन्दले त्यस समयमा प्रत्येक गाउँमा पाठशाला र मन्दिर बनाउनुपर्नेमा जोड दिएका थिए। यसका लागि आवश्यक पर्ने शिक्षकको तलब, भत्ता चन्दा संकलन गरेर पनि दिनुपर्ने उपाय उनले सिकाएका थिए। मन्दिर निर्माणदेखि सञ्चालन र व्यवस्थापनका लागि आवश्यक धूपबाती, अक्षता र आवश्यक सामग्रीका लागि लेखपढ गर्न सिकाउनुपर्छ भनेर उनी लागेका थिए। कुनै पनि सम्भावना र त्यसका लागि चाहिने चिजसमेतको उपाय जरैदेखि खोजेर जनमानसमा पुर्‍याउने युगपुरुष हुन्, फाल्गुनन्द। तत्कालीन समाजको स्वअध्ययन गरी सुधारका लागि दिएका मार्गदर्शन अहिले सामान्य लाग्न सक्छन् तर त्यो बेला यी क्रान्तिकारी विचार र निर्देशन हुन्। सत्यधर्मको नीतिलाई केही प्रकृतिपूजक लिम्बू जातिले भने फाल्गुनन्दका विचारलाई पछ्याउन थाले। सबै देवीदेवता, डाँडापर्वत, खोलानाला, सिमेभूमे आदि स्थानमा मासुमंसको साटो चोखोनितो गरी फलफूल, नैवेद्य आदि चढाएर पूजाअर्चना गर्न थालियो।

सादा जीवन र उच्च विचार फाल्गुनन्दको जीवनको प्रतिमूर्ति थियो। धार्मिक र नैतिक बन्(नुपर्छ भन्ने सन्देश उनका बोली र व्यवहारले दिन्थे। अनुयायीलाई सन्तानसमान ठान्थे र सोहीअनुसार व्यवहार गर्थे। अनुयायीलाई सत्य बोल्न, सही काम मात्र गर्न, चोरीडकैती नगर्न, पशुपक्षी आदि कुनै पनि जीवनको हत्या नगर्न सुझाउँथे। उनको धर्मको मुख्य लक्ष्य भनेकै स्वर्ग (चोःलुङ) पुग्नु हो। पूर्वमा पर्ने कुम्भकर्ण हिमाललाई उनले किँराती लिम्बूको स्वर्ग हो भनी पहिचान दिलाउने काम उनले गरे। उक्त हिमालको फेदमा धर्मशाला पाटी बनाएर आफ्नो अभियानको आधारशिला स्थापना गरे। २०६८ सालको जनगणनाअनुसार किराँत धर्मावलम्बीको संख्या ८ लाख ७ हजार एक सय ६९ छ। लिम्बू, राई, याक्खा र सुनुवार जातिले आफूहरूलाई किराँत धर्मावलम्बी मान्दछन्। किराँत धर्मका महागुरु मानिन्छन्, फाल्गुनन्द। तत्कालीन समाजमा सामाजिक विकृति र कुरीतिहरू हटाउनु भनेको बारुलाको चाकामा पुल्ठो झोस्नुसरह थियो। किराँती वेद मुन्धुमका व्याख्याता फाल्गुनन्दले त्यसबेला समाज सुधारका लागि एक्लो बृहस्पती बन्न तयार हुनुले के कति चुनौती सामना गरे भनेर सहजै अनुमान लगाउन सकिन्छ।

फाल्गुनन्द बाल्यावस्थादेखि नै अनौठो स्वभाव र विचित्र किसिमका थिए। इलामको माङ्सेबुङ गाउँपालिका २ इभाङस्थित चुम्चिनाम्बामा १९४२ कात्तिक २५ गते उनको जन्म भएको थियो। उनको २००५ सालमा निधन भएको थियो। जीवनको अन्तिम घडीसम्म पनि उनले समाज सुधार गर्न किराँत धर्मको संरक्षण र उत्थानमा जुटिरहे। सो क्रममा संस्कार, संस्कृति, भाषा, लिपि जोगाउन र फैलाउनका लागि अनवरत गाउँगाउँमा घरदैलो गरिरहे। तत्कालीन राणा शासनको समयमा उनलाई देशद्रोहीको अभियोग पनि लाग्यो। मौलिकता र नेपाली संस्कृति बचाउन लागिपरे। मौलिकता बिर्सिएर पथभ्रस्ट हुनुहुँदैन भनेर सन्देश बाँडिरहे। उनको योगदानको उच्च मूल्यांकन गर्दै सरकारले किराँत धर्मावलम्बीका लागि सरकारी विदा दिएको छ। केपी ओली प्रधानमन्त्री हुँदा २०७२ सालमा यो निर्णय भएको हो। महागुरु फाल्गुनन्दलाई २०६६ मंसिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो। नेपाल सरकारले २०५० सालमा उनै फाल्गुनन्दको नाममा १५ रुपैयाँको हुलाक टिकट प्रकाशन गरेको थियो। १३४औं जन्मजयन्तीका अवसरमा पाँचथरको फिदिममा उनको विशाल सालिक बनाइएको छ।

‘मलाई चिनिस् कि चिनिनस् ?’, दिव्य पुरुषले सोध्छन्। बालक भन्छन्, ‘चिनिनँ।’ दिव्य पुरुष र बालक फाल्गुनन्दबीच संवाद यसरी अघि बढ्छ। ‘अघिल्लो जन्मको कुरा बिर्सिस् ?’, ‘बिर्सें, थाहा छैन।’, ‘अघिल्लो जन्मका धर्मकर्म सबै बिर्सिइस् ?’, ‘बिर्सें, थाहा छैन।’ ‘अघिल्लो जन्ममा लिएको भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, शिक्षा सबै बिर्सिस् ?’ ‘अहँ, केही थाहा छैन।’ ‘राम्ररी सम्झी, सबै थाहा पाउँछन्।’ ‘अहँ, थाहा पाइनँ।’ ‘मासु बोकेर यो खोला (माइखोला)मा किन पसेको ? त्यो खानु हुँदैन भन्ने बिर्सिस् ? ऊ युमामाङसँग माफी माग।’ बस् यसरी दिव्यपुरुष फाल्गुनन्दबाट अलप भएका थिए भन्ने किंवदन्ती छ। त्यसपछि ती बालक फाल्गुनन्दले खोलातिर फर्किएर माफी मागेका थिए, जसले गर्दा उनको शरीर हल्का भएको थियो। शरीरमा आएको कम्प र पीडा हराएको थियो भने मन हलुको, आनन्द र शान्त भएको थियो भनिन्छ। यसरी चार दिनसम्म होसचेत नभई ढलेका बालकलाई साँझपख जंगलबाट आएका ती दिव्यपुरुषले बोलाएको प्रसंग छ। शक्तिका कारण उनी उठेर सँगै गएको र दिव्यपुरुषले माइखोला पुर्‍याएर नुहाउन लगाई चोखोनितो गराएको पनि सन्दर्भ पाइन्छ।
पाँच छ वर्षको उमेरमा बुबाले टाढाको मेलामा पठाएको बेला उनी बिरामी भएर मूर्छा परेका थिए। साता लामो बिरामीपछि चेत खुल्दा अन्तरआत्माले अराएको थियो रे, आजन्म मासु र मदिरा नखानु भनेर। सोही समयमा धामीझाँक्रीले उनलाई फलामको चुरा लगाइदिए। र, निको पनि भएछ। गाउँघरमा जिस्किएर र होच्याएर एकपछि अर्कोले भन्दै गएपछि अन्ततः उनको नामै फलामसिंह भएछ। खासमा उनी गरिब परिवारमा जन्मिएका थिए। धेरै अपहेलित भए उनी। माया नपाएपछि उनी कसैसँग नमिल्ने स्वभावका बने। बुबाआमा बितेपछि दाजुभाउजुसँग बस्दा पनि हेला भएका सन्दर्भ छन्। उनले कुखुरा पालेर बेचे, दार्जिलिङतिर गएर सुन्तला बेचे। दाजु लाहुरे भएकाले दार्जिलिङतिरै बोलाए र केही समयपछि लाहुरमै भर्ती गराए फाल्गुनन्दलाई। चार वर्ष भारतमा काम गरेपछि सोही सिलसिलामा उनी बर्मा पुगे।

महागुरु फाल्गुनन्दलाई २०६६ मंसिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो।

फाल्गुनन्द समूहमै काम गरे पनि एक्लै पकाएर खाने गर्थे। तान्त्रिक, तपस्वी आदि नामले चिनिन थालेछन्। रंगुन नदीकिनारमा वनभोज भइरहँदा साथीभाइले यसले ढाँटेको कि ढोंग हो ? भनेर परीक्षा लिएछन्। एक कमाण्डरले जंगलमा पुगेर काठको मुढा खोज्न लगाए। त्यही क्रममा मासु चलाएको पन्युले खाना चलाइदिएछन्। सबैै बसेर खाए, एक गाँस मात्र के हालेका थिए, खाना फालेर बर्माको रंगुन नदीमा हाम्फालेछन्। सैनिक कालमै भएको उक्त घटना अत्यासलाग्दो भयो। सरकारले गोताखोरलाई खोज्न पठायो। दिनभर भेटिएनन्। खुवाउनेलाई ठूलो पछुतो भयो। माया मारेको अवस्थामा पनि खोजिरहँदा केही पर माछा देखियो। माछाको ढाडमा अर्धमुच्र्छित अवस्थामा देखेपछि नदीकिनारमा ल्याइयो। सैनिक जवानहरू छक्क परे। माछा अलप भयो। उपचारपछि फाल्गुनन्द ब्युँतिए।

त्यसपछि त फाल्गुनन्दलाई सबैले हेर्ने दृष्टिकोण नै बदलियो। दैवी शक्ति रहेछ भनेर सबैले मानेछन्। त्यसपछि उनी नेपाल फर्किए। छुट्टिमा आएका उनी उता फर्किएनन्। त्यसपछि अर्ती, उपदेश र बुद्धि बाँड्दै हिँड्न थाले। उनले धेरै वर्ष तपस्या गरेपछि सिद्धि प्राप्त भएको अर्थात् सिद्धपुरुष बनेको पाइन्छ। भविष्यवाणी गर्ने र डाँडोको थुम्कोमा पानी उमार्नेजस्ता काम उनीबाट हुन थाले। कहिले नरोकिने पहिरोले बारम्बार दुःख दिएपछि गाउँलेको आग्रहमा पाँचथरको चोकमागुमा उनले पूजा लगाएपछि हालसम्म पहिरो गएको छैन भनिन्छ। अनुष्ठान गरेर लब्रेकुटी र सिलौटी डाँडा लगायत ठाउँमा उनले त्रिशूलले पानी उमारेको घटना यथार्थ सबैसामु छ। फाल्गुनन्द त्यसबेला पाँचथरकै लब्रेकुटीमा आश्रमस्थल बनाएर बसेको पाइन्छ।

चोकमागुमा एक तान्त्रिक तिर्ने लामाले फाल्गुलाई तन्त्रद्धारा वशमा पार्छु भनेछन्। लब्रेकुटीमा आश्रम बनाएर बसेकाले यो यो व्यक्तिले मप्रति कुदृष्टि राख्दैछ आइलागे उसप्रति फर्किएर लाग्नेछ भनेर चेलालाई भनेछन्। घाम लागिरहँदा अचानक आकाश मडारिएर असिनापानीका साथमा हावाहुन्डरी बर्सिन थालेछ। तन्त्रका बलले तान्त्रिक तिर्नेले चट्याङ पार्न खोजेको बुझेपछि फाल्गुनन्दले झर्केथाल थापेर उतै फर्काएछन्। लब्रेकुटीबाट चोकमागु आधा किलोमिटर वरपर छ। फर्काएपछि आधा फुटेको झर्केथाल अझै लब्रेकुटीमा देख्न सकिन्छ। लामा चट्याङ लागेर ढले। उनको चिहानलाई अझै सोही ठाउँमा सुरक्षित राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.