औषधिको मुल्य बढाउने सरकारको तयारी
काठमाडौं : सरकारले औषधिको मुल्य बढाउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिको मुल्य समायोजनका सन्दर्भमा आवश्यक निर्णय गर्ने तयारी थालेको हो ।स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागलाई कामको प्राथमिकता र आवश्यकताका आधारमा अल्पकालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाइ पेश गर्न सुझाव दिएको छ । विभागलाई औषधिको मुल्य बढाउने अख्तियारी छैन । तर, उसलाई सुझाव पेश गर्न अधिकार दिइएको छ ।
औषधि क्षेत्रको नियमन र सुधारका लागि स्वास्थ्यमन्त्री विरोध खतीवडाले समिति गठन गरेर सुझाव पेश गर्न आग्रह गरेका छन् । औषधि उत्पादकहरुले औषधिको मुल्य समायोजन गर्न पटकपटक आग्रह गर्दै आएका छन् ।
विभागले दर्ता भएका ११ हजार आठ सय १२ प्रकृतिका औषधिमध्ये जम्मा एक सय १७ प्रकृतिका औषधिको मात्रै मुल्य निर्धारण गरेको छ । औषधि परामर्श परिषद् औषधि सल्लाहकार समिति गठन नियमावली २०७० मा औषधि परामर्श परिषद् गठन गरी औषधिको मूल्य निर्धारण गर्ने अख्तियारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको अध्यक्षतामा समिति गठनको व्यवस्था गरिएको छ ।
सल्लाहकार समितिमा स्वास्थ्य सेवा विभागका महानिर्देशक उपाध्यक्ष, स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखाका प्रमुख, औषधि व्यवस्था विभागका निर्देशक, स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका निर्देशक, स्वास्थ्य मन्त्रालयमा कानुन हेर्ने उपसचिव, औषधि उत्पादक संघका प्रतिनिधि, नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि सदस्य रहने व्यवस्था छ ।
यस्तै, नेपाल फर्मास्युटिकल एसोसिएसनका प्रतिनिधि, केमिष्ट एण्ड ड्रगिष्ट एसोसिएसनका प्रतिनिधि सदस्य र स्वास्थ्य मन्त्रालयले तोकेको औषधि व्यवस्था विभागको अधिकृत सदस्य-सचिव रहने प्रावधान छ ।
औषधि उत्पादकहरुले लामो समयदेखि औषधिको मुल्य पुनरावलोकन नभएको भन्दै पटक पटक स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण गर्दै आएका छन् । कच्चा पदार्थको मुल्य बढेपनि औषधिको मुल्य पुनरावलोकन गर्न सरकार गम्भिर नभएको औषधि उत्पादकहरु बताउँछन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा स्वास्थ्य मन्त्री खतीवडाले औषधिको मूल्य समायोजन वैज्ञानिक आधारमा गर्नेबारे मन्त्रालयमा छलफल भइरहेको बताए । उनले भने, ‘मैले मूल्य समायोजन गरेर जनतालाई पनि मार नपरोस । तर्क सहित मुल्य समायोजन गर्न सकिन्छ, 'मन्त्री खतीवडाले भने,' सरकारलाई मुल्य नियन्त्रण गर्नुपनि छ। उत्पादकलाई मूल्य समायोजन गर्नुपर्नेछ। केहि औषधिको मुल्य निर्धारण भएको रहेछ । हामीले अब मूल्य निर्धारण भइसकेका औषधिको र बाहिरबाट आउने औषधिको मूल्य समायोजन गर्छौ। समायोजन गर्दा वा मूल्य निर्धारण गर्दा कारण दिन सक्नेगरी गर्नुपर्छ।’
स्वास्थ्य सचिव डा. रोशन पोखरेलले औषधिको मूल्य समायोजनका लागि समिति गठन गर्ने बताए । उनले औषधिमा मूल्य निर्धारण, मूल्य समायोजन तथा परिमार्जन गर्ने विषयमा छलफलमार्फत् छिटटै टुंगोमा पुगिने बताए ।
औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले मूल्य निर्धारण र मूल्य समायोजनको विषयमा लामो समय देखि कुरा उठ्दै आएपनि कार्यान्वयन नभएको बताए। औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले औषधिको मुल्य निर्धारण हुनुपर्ने पक्षमा आफूहरु रहेको बताए ।