भारतद्वारा कश्मिरमा थप हजारौँ सैनिक परिचालित, फ्रान्समा कोभिडको ‘पाँचौ लहर’ फैलियो
भारतले आफू नियन्त्रित कश्मिरमा हजारौँ अर्ध सैनिक बल थप खटाएको समाचार बाहिर आएको छ। बिहीबार अमेरिका र चीनले आश्चर्यजनक रूपमा हरितगृह कटौती गर्ने सहमति गरेको खबर चर्चामा रह्यो। त्यस्तै चीनले एसिय प्रशान्त क्षेत्रमा शीतयुद्धको स्थिति सिर्जना नगर्न दिएको चेतावनी पनि चर्चामा रह्यो। प्रस्तुत छ, बिहीबार चर्चामा रहेका विश्वका केही प्रमुख खबरहरू :
हरितगृह ग्यास कटौतीमा चीन र अमेरिकाको आश्चर्यजनक सहमति
ग्लास्गोमा आयोजित २६ औं जलवायु सम्मेलन कोप २६ को समापनपछि संयुक्त विज्ञप्ती जारी गर्दै चीन र अमेरिकाले हरितगृह ग्यास कटौतीमा एकसाथ काम गर्ने योजना बनाएको घोषणा गरेका छन्। दुवै शक्ति राष्ट्रले एक दशकमा हरितगृह ग्यास कटौती गर्ने सम्बन्धमा बुधबार साँझ गरेको घोषणा आश्यचर्यजनक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।
चीन र अमेरिका संसारका ठुला कार्बन उत्सर्जक मुलुकको रुपमा चिनिन्छन्। पृथ्वीको तापक्रम कम गर्न विश्वको तापक्रम १.५ डिग्री सेल्सियस राख्ने पेरिस सम्झौताको लक्ष्य कायम राख्नेमा दुवै मुलुक सहमत भएका हुन्।
हालै सम्पन्न करिब २ हप्ता लामो कोप २६ मा चिनियाँ राष्ट्रपति सी चीनफिङ प्रत्यक्ष रुपमा उपस्थित नहुँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले आलोचनासमेत गरेका थिए।
०००
भारतले हजारौँ सैनिक कश्मिरमा पठायो
श्रीनगर : भारतले हजारौँको सङ्ख्यामा अर्ध सैनिक बल कश्मिरमा पठाएको छ। पछिल्लो समय कश्मिरमा हिंसा र आक्रमणका घटना बढेपछि भारतले हजारौँ अर्ध सैनिक कश्मिरमा पठाएको हो।
अर्धसैनिक निकाय सेन्ट्रल रिजर्भ प्रहरी बलका प्रवक्ता अभिराम पंकजले डन न्यूजलाई बताएअनुसार करिब ३ हजार सेना भारत नियन्त्रित क्षेत्र कश्मिर उपत्यका पुगिसकेका छन् भने अझै हजारौँ सैनिक बाटोमै छन्।
डन न्यूजका अनुसार यस हप्ता मात्र भारतले करिब ५ हजार अर्धसैनिक सो क्षेत्रमा तैनाथ गरेको छ। भारतले दशकौको लागि कश्मिरमा कम्तिमा ५ लाख सैनिक तैनाथ गरेको बताइएको छ।
प्छिल्लो समयमा तैनाथ गरिएका भारतीय सैनिक श्रीनगर लगायत क्षेत्रमा खटिएको बताइएको छ।
०००
एसिया प्रशान्त क्षेत्रमा शीतयुद्ध नगर्न चिनियाँ राष्ट्रपतिको चेतावनी
बेइजिङ : चिनियाँ राष्ट्रपति सी चीनफिङले एसिया–प्रशान्त क्षेत्रमा शीत युद्धको तनाव नबढाउन चेतावनी दिएका छन्। उनले भर्चुअल माध्यममार्फत गरिएको एसिया प्यासिफिक इकोनोमिक कोअपरेसनको बैठकमा सो चेतावनी दिएका हुन्।
बुधबार भर्चुअल माध्यमबाट एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन सीईओ समिट आयोजना गरिएको थियो। सो बैठकमा अमेरिकासहित अन्य सदस्य मुलुकले भाग लिएका थिए।
दक्षिण चीन सागर, ताइवान टापु, सिनजियाङ र हङकङका कारण पछिल्लो समय चीन र अमेरिकाबीच तनाव बढिरहेको छ।
०००
अफगानिस्तानमा गृहयुद्ध हुन नदिन अन्र्तराष्ट्रिय संलग्नता महत्वपूर्ण : पाकिस्तान
इस्लामावाद : पाकिस्तानी विदेश मन्त्री शाह मोहमुद कुरेसिले अफगानिस्तानमा गृहयुद्ध रोक्न अन्र्तराष्ट्रिय संलग्नताले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। बिहीबार इस्लामावादमा आयोजित ट्रोइका प्लस बैठकमा बोल्दै कुरेसीले सो बताएका हुन्।
दुई दिने ट्रोइका प्लस बैठक पाकिस्तानको राजधानी इस्लामावादमा जारी छ। सो बैठकमा अमेरिका, रुस, चीन र पाकिस्तानका विदेशमन्त्री उपस्थित छन्।
‘अफगानिस्तानको गृहयुद्ध, आर्थिक संकट र अस्थिरता कसैले देख्न चाहेको थिएन। त्यसकाविरुद्ध अन्तर्राष्ट्रिय निकायहरुको संलग्नता महत्वपूर्ण रह्यो’, बैठकको उद्घाटन समारोहमा बोल्दै कुरेसिले भनेका छन्, ‘अफगानिस्तान पाकिस्तानको लागि मात्र महत्वपूर्ण मुद्दा नभई बाँकी विश्वको लागि पनि उत्तिकै महत्वपूर्ण छ।’
०००
कम्तिमा ६ सय आईएस सदस्य पक्राउ गरेको तालिबानको दाबी
काबुल : तालिबानले अफगानिस्तानमा कम्तिमा ६ सय इस्लामिक स्टेट –आईएस)का सदस्य पक्राउ गरेको दाबी गरेको छ। तालिबानले हालै तीन महिनाको अवधिमा सो संख्यामा आईएस सदस्य पक्राउ गरेको दाबी गरेको हो।
अफगानिस्तानको गुप्तचर विभागका प्रवक्ता खलिल हम्राजले पत्रकार सम्मेलनमा बोल्दै तालिबानले तीन महिनामा कम्तिमा आईएसका ६ सय सदस्य पक्राउ गरेको दाबी गरेका हुन्। तालिबानले आतंकवादी समूहका शीर्ष नेतासहित सो संख्यामा सदस्यहरु पक्राउ गरेको टोलो न्यूजमा खबर छ।
अगष्ट महिनामा तालिबानले अफगानिस्तान कब्जामा लिएपछि अफगानिस्तानमा विभिन्न हमला हुँदै आएका छन्। सो हमलाको जिम्मा तालिबानविरोधी समूह आईएसले लिँदै आएको छ।
०००
म्यानमारको हिंसा अन्त्य गर्न राष्ट्र संघको आह्वान
न्यूयोर्क : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले म्यानमारमा जारी हिंसा अन्त्य गर्न आह्वान गरेको छ। परिषद्ले हालै एक विज्ञप्ती जारी गर्दै म्यानमार सेनाले देशभर जारी राखेको हिंसा तत्काल अन्त्य गर्न आह्वान गरेको हो।
म्यानमार सेनाले पश्चिमी चीन राज्यमा गरेको ज्यादतीमाथि राष्ट्र संघले ध्यानाकर्षण गरेको छ। म्यानमारमा जारी हिंसा अन्त्यको लागि आह्वान पत्र पेश गर्दै राष्ट्रसंघीय परिषद्ले बुधबार दुर्लभ विज्ञप्ती जारी गरेको छ। सो आह्वान पत्रमा १५ वटै सदस्यले सहमति जनाएका छन्।
गएको हप्ता सेनाले चीन राज्यस्थित करिब २ सयभन्दा बढी घरमा आगजनी गरेको समाचार बाहिरिएको थियो। सेनाले पछिल्लो समय सो राज्यसहित अन्य क्षेत्रमा समेत आक्रमण गरिरहेको समाचार बाहिर आइरहेका छन्।
‘म्यानमार सेनाले पछिल्लो समय गरेको हिंसामाथि सुरक्षा परिषद्का सबै सदस्यहरुको गम्भीर ध्यानाकर्षण भएको छ’, परिषद्द्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘त्यसैले म्यानमारमा सेनाले जारी राखेको हिंसाको अन्त्यका लागि आह्वान गर्दछौँ।’
०००
सेरालियोनमा इन्धन ट्यांकर विस्फोटबाट मृत्यु हुनेको संख्या १३१ पुग्यो
फ्रिटाउन : पश्चिम अफ्रिकी मुलुक सेरालियोनमा इन्धन ट्यांकर विस्फोटपछि मृत्यु हुनेको संख्या १३१ पुगेको छ। गत हप्ता राजधानीमा भएको विनाशकारी ट्यांकर विस्फोटपछि मृत्यु हुनेको संख्या बढेर १३१ पुगेको हो।
गएको शुक्रबार राजधानी फ्रिटाउनस्थित व्यस्त सडकमा इन्धन बोकेको ट्यांकरसँग ट्रक ठोक्किदा विस्फोट भएको थियो। विस्फोटपछि भीषण आगलागी हुँदा सो क्षेत्रमा रहेका करिब ९९ मानिसको घटनास्थलमै मृत्यु भएको थियो। विस्फोटपछि १ सयभन्दा बढी घाइतेको नजिकैको अस्पतालमा पु¥याइएको थियो।
उपचाररत थप मानिसको मृत्यु हुँदा मृतकको संख्या १३१ पुगेको त्यहाँका अधिकारीहरुले बताएका छन्। हाल बाँकी ६३ उपचाररतमध्ये १९ को अवस्था गम्भीर रहेको बताइएको छ।
०००
फ्रान्समा कोभिडको ‘पाँचौ लहर’ फैलियो
पेरिस : फ्रान्सका स्वास्थ्य मन्त्रीले देशमा कोभिड १९ को पाँचौ लहर फैलिएको बताएका छन्। स्थानीय सञ्चारमाध्यमसँग बोल्दै स्वास्थ्यमन्त्री ओलिभर भि¥यानले पाँचौ लहरको कोभिड संक्रमण फैलिएको बताएका हुन्।
‘विभिन्न छिमेकी मुलुकहरुमा यसअघि नै कोभिडको पाँचौ लहर फैलिसकेको छ। हामीले पनि फ्रान्समा पाँचौ लहरको सुरुवाती अनुभव गरिरहेका छौँ’, टीएफवान् टेलिभिजनसँगको अन्र्तवार्ता उद्धृत गर्दै रोयटर्सले भनेको छ, ‘पाँचौ लहर पहिलेको तुलनामा निकै हानिकारक भएकोले सबै सचेत रहनुहोला।’
फ्रान्सको स्वास्थ्य मन्त्रालयमा बुधबारसम्म पाँचौ लहरका करिब ११ हजार ८८३ नयाँ संक्रमित फेला परेका छन्। बिहीबार दिउँसोसम्म १० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन्।
मध्य अक्टोबरदेखि फ्रान्समा नयाँ संक्रमित हप्तैपिच्छे बढिरहेको मन्त्रालयले जनाएको छ।
०००
स्पेस एक्सले ६० वर्षमा ६ सय यात्रुलाई अन्तरिक्ष पठायो
क्यालिफोर्निया : स्पेस एक्स रकेटले ६० वर्षमा ६ सय अन्तरिक्ष यात्रुलाई अन्तरिक्षमा पठाएको छ। बुधबार राति चार अन्तरिक्ष यात्रुलाई अन्तरिक्ष पठाएसँगै स्पेस एक्स रकेटमार्फत अन्तरिक्ष पुग्ने यात्रुको संख्या ६ सय पुगेको हो।
नासाका अनुसार स्पेस एक्स रकेटमार्फत अन्तरिक्ष यात्रा गर्ने जर्मनीका म्याथियस मौरेर ६००औं अन्तरिक्ष यात्रु बनेका छन्। जसमध्ये कतिपय अन्तरिक्ष यात्रुले अन्तरिक्षमा एक वर्षभन्दा बढी समय बिताएका छन्।
नासा र एलन मस्कको निजी कम्पनीको स्पेस एक्स रकेटमार्फत अन्तरिक्ष यात्रुहरु इन्टरनेसनल स्पेस स्टेशन (आइएसएस) पुग्ने गरेका छन्।
– संयोजन : अस्मिता खड्का