सामा चकेवा खेलब गे बहिना. . .

सामा चकेवा खेलब गे बहिना. . .

कात्तिके मास यौउ भैइया सामा लेलक अवतार।

सामा चकेवा खेलब गे बहिना भइया 
जिवइथु हजार।। 

सामा चकेवा खेल्दा गाइने यो लोकप्रिय मैथिली भाषाको गीत हो। जहाँ दिदीबहिनीले दाजुभाइको दीर्घायु र प्रेमको चर्चा गर्छन्। छठपछि अहिले मधेसमा सामा चकेवा पर्वको उल्लास छ। सामा चकेवाका मधुर गीतले ग्रामीण भेगमा प्रेम, सद्भाव र समर्पणको भाव झल्काएको छ। तराईका मधेसी तथा थारू समुदायका दिदीबहिनीहरूले विशेषरूपमा यो मनाउँछन्।

दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिका लागि दिदीबहिनीले सामा चकेवा पर्व मनाउँछन्। यो पर्व द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ। सो पर्वका लागि द्वितीया तिथिका दिन दिदीबहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गन्छन्। छठ पर्वको खरनादेखि पारणको बीचमा सामा चकेवाको पात्रहरूको आकृति बनाउने काम गरिन्छ। सामा स्त्री पात्र र चकेवा पुरुष पात्र हुन्। दुइवटैलाई चराका रूपमा माटोको प्रतिमा बनाइएको हुन्छ। रातिको खाना खाइसकेपछि दिदीबहिनीहरू ढालासहित गाउँको चौवटियामा जम्मा हुन्छन्। महिला जब आ–आफ्नो घरबाट डालामा मूर्ति राखी सामा खेल्न चौरतिर निस्किन्छन् तब उनी गाउँछिन् :

डालाले बहार भेली, बहिनी से पलाँ बहिनो
फलाँ भइया लेल डाला छिन, सुनु गे 
राम सजनी......।

 

ढालामा सामा चकेवाको माटोको प्रतिमा हुन्छन्। त्यसबीचमा टुक्की बालेर राखिन्छ। मध्यरातसम्म चौबाटोमा बसेर मधुर गीतहरू गाइन्छ। जहाँ दिदीबहिनी र दाजुभाइबीचको अमर प्रेम, सत्कर्मको प्रशंसा र वर्णन गरिन्छ।

वृन्दावनमे आगि लागै
कोइ ने मिझावे हे
हमर भैया फलना भैया
दौडी–दौडी मिझावे हे...।

 

अरू पर्वमा साउन्ड सिस्टमबाट गीत बजाएर नाचिन्छ। तर, यो पर्वमा दिदीबहिनीहरू भेला भएर आफ्नै मुहारबाट मधुर भाकामा सामा चकेवाको गीत गाउँछन्। ढाला फेर गर्दै नाच्छन्। दाजुभाइ र दिदीबहिनी (सामा चकेवा) बीचमा झगडा लगाउने चुगला (चुक्ली लगाउने मान्छे) को जुँगा जलाइन्छ। दिदीबहिनीले त्यस्ता पात्रलाई गीतबाटै बेइज्जत र खिल्ली उडाउँछन्। दाजुभाइको प्रशंसा गर्छन्।

पान पान पान, भैइया मुहमे पान।
छाउर छाउर छाउर, चुगला मुहमे छाउर।।  

द्वापर युगमा श्रीकृष्णकी सुपुत्री सामा वृन्दावन जंगलमा घुम्न गएकी थिइन्। ऋषिसँग रमन गरेको झूटो कुरा सेविका डिहुलीले कृष्णसमक्ष चुगली लगाए। आवेशमा आएर कृष्णले सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिएका थिए। यो कुरा सुनेपछि सामाका भाइ साम्बले दिदीलाई श्रापबाट मुक्त गराउन घोर तपस्या गरे। तपस्याबाट खुसी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरेको किंवदन्ती छ ।

​दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिका लागि दिदीबहिनीले सामा चकेवा पर्व मनाउँछन्।

त्यसपछि सामाले चकेवाको दीर्घायु, प्रेम प्रतीकको रूपमा सामाचकेवा पर्व मनाउन थालिन्। सामाचकेवा पर्व मनाउँदा दाजुभाइ हजारौ साल बाँच्ने र सामाजमा जनप्रेमी काम गर्न उनीहरूलाई ऊर्जा प्राप्त हुने जनविश्वास छ। बाहिर रहेका दाजुभाइहरू पनि  पर्वमा घर फर्किने गर्छन्।

दाजुभाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भुत भ्रातृत्व प्रेमको चित्रण यस पर्वमा गरिन्छ। चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा आजको सामाजमा अझै जीवित छ। सामा चकेवा पर्वमा पारिवारिक जीवन तथा लोक आस्थाको अटल सम्बन्धसमेत छल्किन्छ। यसलाई पनि गीतबाटै वर्णन गरिएको छ :

कौन भइया जेताह गंगा रे जमुना,
कोन भइया लौते चिकनी माई रे माई।
बडका भइया जेता गंगा जमुना,
छोटका भइया लौता चिकनी माई रे माई।।

काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र त्यही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेवा’ भन्ने संज्ञा दिन्छ। बनाएका माटाका मूर्तिहरूको नै विशेष महत्त्व रहेको पाइन्छ। कात्तिक पूर्णिमाको साँझा आँगनमा सामा चकेवालगायतका पात्रहरूलाई घुँडामा राखेर दाजुभाइने फुटाउँछन्।

दिदीबहिनीले शुभआशिषसहित च्युरा र बतासा (चिनीबाट बनेको मिठाई) दिन्छ। दाजुभाइले दिदीबहिनीलाई दक्षिणास्वरूप च्युरा, बतासा र द्रव्य दिन्छन्। त्यही दिन राति सामा चकेवा खेलेर विशेष उत्सवका साथ नदी, तलाउ तथा जोतेको खेत, खुला चौरमा गाडेर बिदाइ गरिन्छ। सामा चकेवाको बिसर्जनको बेलाको गीत मर्मस्पर्शी हुने गरेको छ :

सामचको, सामचको अइह हे
जोतल खेतमे बइसिह हे...।

पूर्णिमाका दिन सामा चकेवालाई अर्को वर्ष फेरि कुड खेतमा आई बस्नु है भन्दै सबै माटोका पात्रको बिसर्जन गरिने परम्परा चलन छ। सामा चकेवा पर्व मनाउनका लागि मैथिलानी नारीहरू माइती जाने चलन छ। सहरमा बिस्तारै यो पर्व हराउँदै गए पनि ग्रामीण भेगमा अझै सामा चकेवा पर्वको रौनक देख्न पाइन्छ। सामाजिक एवं सांस्कृतिक महत्त्व झल्काउने र दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई प्रगाढ बनाउने यो  पर्वको संरक्षण, संवर्द्धन गर्न जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.