ओखलढुंगा दुर्घटना अपडेट : एकै गाउँका चार जनाको मृत्यु
ओखलढुंगा : जीप दुर्घटना हुँदा ओखलढुंगाको चम्पादेवीस्थित ककनी मन्दिर दर्शनका लागि गएका चार यात्रुको मृत्यु भएको छ। क्षमताभन्दा बढि यात्रु बोकेको प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको जीप सुनकोसी गाउँपालिका-९ कटुञ्जेमा भएको दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा सिद्धिचरण नगरपालिका- १० रुप्सेका १७ वर्षकी तुलसा मगर, ३५ वर्षीया मिठूमाया मगर, ३५ वर्षीया शान्ता मगर र खगेन्द्र मगरको मृत्यु भएको हो। अन्य एक जनाको मृतकको पहिचान खुलेको छैन।
जिल्ला प्रहरी कार्यालयका डीएसपी गोविन्द काफ्लेका अनुसार तीन जनाको घटनास्थल र एक जनाकाको उद्धार गरेर उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो। गम्भीर घाइते चार जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ। अन्य ९ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
एकै गाउँका मिलेर मन्दिरमा दर्शन गर्न गएका थिए। दुर्घटनामा एकै गाउँका चारको मृत्यु र दर्जन बढि घाइते भएपछि गाउँ नै शोकमा डुबेको छ। गाउँका मान्छे यति धेरै दुर्घटनामा परेकाले आफन्त र छरछिमेक सबै शोकमा डुबेको सिद्धिचरण १० का वडा अध्यक्ष दामोदर धमलाले बताए। मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका-९ को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडक वाट करीब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।