सवारी अनुमति पत्रको तयारी सुरु
उदयपुर : यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले ६ वर्षपछि सवारी साधान अनुमति पत्र जारी गर्ने भएको छ। डेढ महिनाअघि यातायात व्यवस्था विभागले सवारी साधान अनुमतिका लागि अधिकार प्रत्यायोजन गरेपछि कार्यालयले तयारी सुरु गरेको हो।
सवारीसाधन दर्ता, कर असुली, अनुमति पत्र र ब्लुवुक नविकरण गर्ने अधिकार विभागले दिएपनि अनुमति पत्र जारी गर्ने अधिकार थिएन्। अनुमति पत्रको अधिकार जिल्लाभित्र नदिएपछि सर्वसाधरण २ नम्बर प्रदेशको सिरहाको लाहानबाट लिँदै आएका थिए। त्यस विषयमा विभिन्न सञ्चारमाध्यम र प्रदेश सांसदहरुले प्रदेश सभामा आवाज उठाएपछि प्रदेश सरकारले अधिकार दिने अख्तियारी दिएको हो।
अनुमति पत्रको अधिकार पाएसँगै कार्यालयले दैनिक २५ जनाले अनलाईन फर्म भर्नेगरी सोमबारदेखि अनलाईन फारमको सुरुवात गरेको कार्यालय प्रमुख सुभास कार्कीले बताए। उनले भने, अनलाईनबाट रजिष्ट्रेसन फारम भर्न सुरु भएको छ, त्यसपछि अफिस भिजिट गर्न सेवाग्राही आउने र रसीद लिईसकेपछि लिखित र प्रयोगात्मक परीक्षा ट्रयालको तयारी गर्छौं।
कागजीरुपमा अधिकार आईसकेकाले त्यसको प्राविधिक व्यवस्थापकिय पक्षको तयारीमा जुटेको उनले बताए। ‘कागजीरुपमा आएर मात्र सबै समस्याको समाधान हुँदैन, उनले भने, ‘यो नितान्त प्राविधिक पक्षसँग जोडिएकाले प्राविधिक पक्षका कामहरु मिलाउन केहि समय लागेको हो। उनले अनुमति पत्र वितरणकै लागि अझै केहि समय लाग्ने बताए।
विभागबाट कागजी अनुमति आयो तर हामीसँग ट्रायल लिने पुर्वाधार थिएन, प्रमुख कार्कीले भने, ‘अहिले ट्रायल सेन्टर बनिसकेको छ, त्यही किसिमको अनलाईन सफ्टवेयर र पर्याप्त दक्ष जनशक्ति तयारी गर्दैछौं, पुरा हुनासाथ सेवा सुचारु गर्छौं।
‘आन्तरिकरुपमा कर्मचारी तयारी अवस्थामा रहेपनि पहिलोपटक सेवा प्रवाह हुने भएकाले सेवाग्राहीले गुनासो नगरुन भन्ने हेतुले आन्तरिक कामहरु मिलाउँदै गएका छौं। उनले भने, ‘बाँकी कुरा जहाँ जुनबेला समस्या आउँछ त्यसलाई सुधार गर्दै लैजाने हो। यही रफ्तारले काम हुने हो भने मंसिर महिनामा २÷३ वटा ट्रयाल लिने उनले बताए।
‘मुलुक संघीयतामा गएसँगै क्रमश अधिकारहरु थपिदै गएका छन्, प्रमुख कार्कीले भने, ‘प्रदेश १ सरकार मातहतमा आईसकेपछि डेढ महिनाअघि सवारी अनुमति पत्रको अधिकार प्राप्त गरेसँगै अन्य सुविधाहरु उपलब्ध हुँदै गएका छन्।
सरकारले सवारीसाधान खरिद विक्रीमा खुल्ला छोड्ने तर अनुमति पत्र लिन रोक लगाउँदा सर्वसाधरण मर्कामा परेका थिए। समयमा अनुमति पत्र नपाउँदा सामान्य दुर्घटनामासमेत चालकहरु जेल जानु पर्ने अवश्था सृजना भएको गाईघाट बजारका रामशरण चौधरी बताउँछन्।
उनी भन्छन्, ‘मोटरसाईकल किनेको एक वर्ष भयो अहिलेसम्म लाइसेन्स पाउन सकिएको छैन, ट्राफिकसँग जम्काभेट भयो भने कि भाग्नु पर्छ कि जरिवाना तिर्नुको विकल्प छैन। लाहान यातायात कार्यालय समय र आर्थिकको हिसावले पनि सहज पहुँचमा नभएकाले अनुमति पत्र पाउनबाट वञ्चित भएको उनी बताउँछन्।
सगरमाथा अञ्चल कार्यालय लहानको सेवा कार्यालयको रुपमा स्थापना भएको कार्यालय देशमा संघीयताको कार्यान्वयनसँगै प्रदेश नं. १ को एक स्वायत्त कार्यालयको रुपमा स्थापित भएपनि हालसम्म सवारी चालक अनुमतिपत्र जारी गर्न सकेको छैन। सवारी अनुमति पत्र जारी गर्ने आश्वसन विभिन्न निकायबाट पाएपनि अहिलेसम्म सेवा सूचारु हुन सकेको छैन।