अब महाधिवेशन सर्ने बहाना र कारण केही छैन
सत्तासीन नेपाली कांग्रेसको १४औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने दावी गर्छन, सहमहामन्त्री डा. प्रकाशशरण महत। पाका नेताको परिपक्वता र युवाको ऊर्जालाई समेटेर महाधिवेशनले नेतृत्व चयन गर्नुपर्ने डा. महतको भनाई छ। व्यक्तिलाई केन्द्रमा राखेर बनाइएका गुटको अन्त्य गरि पार्टी केन्द्रित बहसमा नेताहरू जुटे नेतृत्व चयनमा सहजता हुने उनको भनाई छ। पार्टी सभापति शेरबहादुर देउवानिकट डा.महतसंग कांग्रेसको १४ औं महाधिवेशनको तयारी र सम्भावित आन्तरिक समिकरणबारे अन्नपूर्णकर्मी राधा खनालले गरेको कुराकानी :
कांग्रेसको महाधिवेशन अब तोकिएकै समयमै हुन्छ ?
रौतहटका केही कार्र्यकर्ता अझै रिले अनशनमै छन्। त्यसले रौतहट जिल्लाको अधिवेशनलाई प्रभाव पार्छ कि ?
रौतहटको क्रियाशील विवाद पनि सहमतिमा टुंगिसकेको छ। नेताहरूको सहमतिमा छानबिन समिति बनेको थियो। त्यसले सर्वसम्मत रूपमा टुंगो लगाएको हो। त्यसका बाबजुद केही साथी धर्नामा हुनुहुन्छ। अब उहाँहरूलाई सम्झाइबुझाइ गरि सबैको प्रतिनिधित्व सुनिश्चित हुने र कसैलाई पनि अन्याय नहुने गरी अधिवेशन प्रक्रिया अघि बढ्छ। क्रियाशील सदस्यताको विषयमा छानबिन समितिले जे टुंगो लगायो, त्यसलाई स्वीकार गर्ने र अब त्यो विषयमा कोही पनि नेता प्रवेश नगर्ने भन्ने सहमति छ।
नेतृत्वको अनुहार हेरेर क्रियाशील सदस्यता वितरण गर्दा विवाद खडा भयो र त्यहीकारण समय पनि धेरै लागेको होईन र ?
देश विदेशमा गरेर कांग्रेसका झन्डै १० लाख क्रियाशील सदस्य छन। कसैलाई फाइदा वा बेफाइदा हुन्छ भन्ने आधारमा पनि सन्तुष्टि, असन्तुष्टि पोखिने गर्छन्। समग्रमा भन्ने हो भने पहिलाका अधिवेशनका तुलनामा अहिले प्रविधिले मद्दत गरेको छ। अहिले अनलाइनमा क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएको छ। त्यसमा उजुरी दिने मौका पनि मिल्यो। पहिला त्यो मौका मिल्थेन। पहिला छानबिन समितिले सबैको सही भएर आएको छ कि छैन भनेर न्यूनतम प्रक्रिया मात्र हेर्ने गरिन्थ्यो। एकैपटक क्रियाशीलको सूचीको पोको निर्वाचन हुने दिनमा सोही ठाउँमा मात्र खोलिन्थ्यो र टाँसिन्थ्यो। त्यसो गर्दा गुनासो गर्ने मौका मिल्थेन।
प्रविधिको सहजताका कारण क्रियाशील सदस्यको विवादले ठूलो रूप लिएको हो– क्रियाशील सदस्यता वितरणमा यत्तिको पारदर्शिता इतिहासमै पहिलोपटक भएको हो।
कोभिडको विशिष्ट अवस्थाका कारण महाधिवेशनमा ढिलाइ भएको हो।
प्रौढ नेतृत्वको अनुभव, योगदान र परिपक्वता र युवाको ऊर्जाले कांग्रेस पार्टी अघि बढेको छ।
यस पटक महिनौंअघिदेखि सार्वजनिक भयो। छुटेका, गुनासो, असन्तुष्टि पोख्ने मौका सबैले पाए। अभिव्यक्तिहरू विभिन्न किसिमका आउनु स्वाभाविक हो। त्यसलाई पनि सकेसम्म सम्बोधन गर्ने कोसिस पनि भयो। यद्यपि, स्थानीय तहको नेतृत्वको आआफ्ना आकांक्षाले त्यहाँ प्रभावित पार्ने कोसिस भए होलान्। तर पनि जे संयन्त्र निर्माण भएको हो त्यो संयन्त्रले नै यसलार्ई टुंगो लगायो। पार्टी सभापतिको यसमा कुनै हात छैन। उहाँले चाहेर पनि यो गर या त्यो गर भनेर हस्तक्षेप गरेको अवस्था छैन। जबकि पहिला अन्तिम समयसम्म निर्वाचन भइरहेकै बेला पनि फ्याक्सबाट नामावली जान्थ्यो। अहिले त्यस्तो स्थिति छैन। अहिलेसम्मको अधिवेशनमा सबैभन्दा पारदर्शी रुपमा यसपटक सदस्यता टुंगिएको छ। त्यसको आधारमा निर्वाचन प्रक्रिया अघि बढेको छ।
तस्बिर : दीपेन श्रेष्ठ
महाधिवेशनको कार्यतालिका बारम्बार सारेर कांग्रेसले विधान र संविधानलाई नटेरेको हो ?
त्यस्तो होइन। झन्डै दुई वर्ष कोभिडले प्रभाव पार्यो। जसमा ६÷७ महिना लकडाउन थियो। त्यसकारण विशिष्ट परिस्थितिमा देश रह्यो। त्यसले यो कार्यतालिका प्रभावित भएको सबैलाई थाहा छ। निर्वाचन आयोगलाई पनि यो कुराको जानकारी थियो। उहाँहरूकै सुझाव सल्लाह लिएर हामी चलेका हौं। संवैधानिक व्यवस्था साढे पाँच वर्षको त्यो पनि एउटा नैतिक बन्धन संविधानले व्यवस्था गरेको हो।
साढे पाँच वर्ष नाघ्यो भने पार्टी नै खारेज हुने,पार्टीकै वैधानिकता समाप्त हुने कुरा होइन। पार्टीहरूले अनन्तकालसम्म अधिवेशन नगरी नबसुन् भनेर साढे पाँच वर्षको अवधि तोकिएको हो। त्यो नाघ्नेबित्तिकै पार्टी समाप्त भयो भन्ने होइन। नाघेको कारण पनि स्पष्ट छ। कोभिडको विशिष्ट अवस्था, क्रियाशील सदस्यताका कारण अलिकति असर गरेको हो। तर यही कारणले पार्टी अवैधानिक हुने वा पार्टीको अस्तित्व नरहने होइन।
विदेश नीतिका विषयमा देशको आवश्यकता र स्वार्थ केन्द्रित नभएर हचुवाको भरमा लागेको देखिन्छ।
पुरानो पार्टीसँगै कांग्रेसलाई प्रविधिमैत्री पार्टी पनि बनाउने अबको एजेन्डा हो।
कांग्रेसमा पुस्तान्तरणको चर्चा चल्छ। अन्तत: उही नेतृत्व आउँछ। किन ?
पार्टीको नेतृत्व भनेको आवश्यकताको सिद्धान्तमा चल्छ। देशको नेतृत्व होस् या पार्टीको नेतृत्व गर्ने कुरामा तात्कालीन समयको मागलाई हेरेर कुनै नेतृत्व तोकिँदैन। देश र पार्टीको आवश्यकताअनुसार नेतृत्व चयन हुने हो। त्यसमा यति नै वर्ष वा समूहको हुनुपर्ने भन्ने हुँदैन। हाम्रो पार्टीको नेतृत्वमा प्रौढ र युवा दुवैको उत्तिकै सहभागिता छ। प्रौढ नेतृत्वको अनुभव, योगदान र परिपक्वताको आवश्यकता छ। युवाको ऊर्जाको आवश्यकता छ। त्यसैले यो अनावश्यक बहस हो। अहिलेको अधिवेशनमा पनि तल्लो तहमा अधिकांश स्थानमा युवा आएका छन्। पार्टीको सञ्चालन भनेको एउटा प्रौढ सभापतिले मात्र गर्ने होइन। समग्र पार्टी पदाधिकारीहरूले गर्ने हो।
सभापतिमा फेरि पनि उही अनुहारहरूको प्रतिस्पर्धा देखिँदैछ नि ?
पार्टी के कसरी अघि बढेको छ ? चुनौती के कस्ता छन्। त्यो खाले दूरदृष्टि राख्ने नेतृत्व आउनुपर्छ। यही नै उमेर समूहका आउनुपर्छ भनेर भन्ने होइन। ख्याल राख्नुहोला, सभापतिमा जसले पार्टी र देशलाई सही दिशामा लैजान सक्छ, त्यही नेतृत्व आउने हो।
१४औं महाधिवेशनले नयाँ के दिन्छ ?
हामीले क्रियाशील सदस्यता दोब्बरभन्दा बढी बनायौं। धेरै नयाँ नेतृत्व आएको छ। सात तह र सात ओटा प्रदेश कमिटी बन्दैछन। क्षेत्र बन्दैछन। यसले गर्दा धेरै साथी नेतृत्वमा जान सक्नुहुन्छ। नेपाली कांग्रेसले अहिलेसम्म आफूले गरेका कामको प्रचार गर्न सकेन। जति सशक्त हुनुपर्ने हो त्यति हुन सकेन। अब हामी तल्लो तहका नेतासम्म पुग्छौं। कम्युनिस्टहरूले सशक्त ढंगले आफ्नो कामको प्रचार गर्छन्। कांग्रेस जति सशक्त हुनुपथ्र्यो त्यति हुन सकेको छैन। जनताका घरदैलोमा पुग्न सकेको छैन। समसामयिक विषयमा निरन्तर जानकार हुनुपर्यो। त्यो विषयमा अवधारणा र दृष्टिकोण बनाएर त्यसलाई सशक्त रूपमा जनतामाझ लैजान सक्नुपर्यो। अब नयाँ बन्ने कमिटीले जनसम्पर्कलाई प्रविधिमैत्री बनाएर सम्पर्कमा राख्नुपर्छ।
संगठन गर्ने शैलीलाई रूपान्तरण गर्नुपर्छ। जो नेताकोमा आइराख्छ, काम गर्ने यही रहेछ कि भनिन्छ। को, कार्यकर्ता नेता काम गरिरा’छ त्यसका लागि रेकर्ड सिस्टमलाई बलियो बनाउनुपर्छ। अहिलेसम्म नेताकोमा जो आइराख्यो काम गर्ने यही रहिछ कि भन्ने भ्रम छ। को कार्यकर्ता कति काम गरिरा’छ, त्यसका आधारमा मूल्यांकन पद्धतिलाई स्थापित गर्नुपर्नेछ। सबै धर्म, संस्कृति, धार्मिक मान्यता र स्वतन्त्रताको सुरक्षा गर्न कांग्रेस अघि बढ्नुपर्छ।
सामाजिक सञ्जालको लोकप्रियताका आधारमा कसैले पार्टीको पदाधिकारीले जित्छ भन्ने हुँदैन।
शेरबहादुर देउवाजीको नेतृत्वमा पार्टीले जित्छ। आमनिर्वाचनमा पनि पार्टीलाई उहाँले नै जिताउनुहुन्छ।
एमसीसीका विषयमा जनतामा नकारात्मक भ्रम फैलाउने काम भयो। सकारात्मक पाटो ओझेलमा पारियो।
विदेश नीतिका विषयमा देशको आवश्यकता र स्वार्थ केन्द्रित नभएर हचुवाको भरमा पछि लाग्ने चलन छ। कम्युनिस्ट शासन सत्तामा हुँदा स्वार्थी भएर विदेश नीति चलायो। जनतातिर फर्केर ठूलो स्वरले कराउने तर जहाँ कुरा राख्नुपर्ने हो त्यहाँ नराख्ने। देशलाई केन्द्रविन्दुमा नराख्ने प्रवृत्ति हावी भयो। अब त्यस्तो परिवेशलाई कांग्रेसले परिस्कृत गरेर लैजानुपर्छ। समान मापदण्डका आधारमा वैदेशिक नीति सञ्चालन गर्नुपर्ने चुनौती कांग्रेसले अवसरका रूपमा अघि बढाउनुपर्ने अवसर छ। समग्रमा, अबको कांग्रेस प्रविधिमैत्री हुनुपर्छ। हामीले लक्ष्यमा अडिग रहने र त्यसमा पुग्ने तरिका समयसापेक्ष अवलम्बन गर्न जरुरी छ। त्यसो गर्दा पुरानो पार्टीसँगै कांग्रेसलाई प्रविधिमैत्री पार्टी पनि बनाउन सकिन्छ।
तपाईंको उम्मेदवारी महामन्त्रीमा हो ?
हो। मैले महामन्त्रीमा उम्मेदवारी दिने निधो गरेको छु। उपर्युक्त समय आएपछि औपचारिक रूपमा घोषणा गर्नेछु।
कांग्रेसका लोकप्रिय नेताहरू सबैले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। त्यो भीडमा तपाईं पनि हुनुभयो नि ?
म पनि आफूलाई लोकप्रिय मान्छु। सामाजिक सञ्जालमा मात्र लोकप्रिय हुनेलाई लोकप्रिय मानिन्छ ? पार्टीपंक्तिमा कसले योगदान गरेको छ ? कसरी सुझबुझ तरिकाबाट पार्टीलाई हाँक्छ ? पदाधिकारी भनेको पार्टी पंक्तिले निर्वाचन गर्ने कुरा हो भन्ने कुरा कार्यकर्ताले हेर्ने र मूल्यांकन गर्ने विषय हो। प्रतिबन्धितकालमा गुमाउनेभन्दा केही थिएन, त्यसको पनि अनुभव मसँग छ। हामीसँग त्यसको पनि अनुभव छ। २०४६ पछिको अनुभव सरकारमा जाँदा पार्टीमा जिम्मेवारी पाउँदा कसरी काम गर्यो, यी सबै कुरालाई ध्यानमा राखेर पार्टी पदाधिकारी चयन हुन्छ। त्यसैले सामाजिक सञ्जालको लोकप्रियताको आधारमा कसैले पार्टीमा पदाधिकारी जित्छ भन्ने हुँदैन।
जनताको नजरमा आशालाग्दा नेताको दाबी किन एउटै पदमा भएको देखिन्छ ? तपार्इं कुन गुटबाट चुनाव लड्नुहुन्छ ?
यो पद भनेको क्षमता देखाउने ठाउँ हो। पार्टीको नेतृत्व हाँक्ने भन्ने कुरा बोलेर मात्र हुने होइन। पार्टीलाई अप्ठ्यारो परिस्थितिमा मिलाएर एकताबद्ध गरेर अघि बढाउनुपर्छ। यसका लागि क्षमता पनि चाहिन्छ। पार्टी सभापति शेरबहादुर देउवाजीको समूहबाट आउने हो। म व्यक्तिगत रूपमा हचुवाका भरमा उम्मेदवारी घोषणा गर्ने मान्छे होइन। मैले नेतृत्वसँग सरसल्लाह गरेरै यो सोच बनाएको हुँ।
तपाईंका एजेन्डा के के छन् ?
कांग्रेस पार्टीलाई आधुनिक पार्टी बनाउने मेरो मूल एजेन्डा हो। पुरानो र ऐतिहासिक पार्टीसँगै हाम्रो उत्कृष्ट स्थापित विचारलाई समग्र जनतालाई बुझाउन सकिएको छैन। कांग्रेसको माझिएको विचारका आधारमा देश आधुनिक र समृद्घ हुन्छ। चुनावमा हाम्रो भोट शतप्रतिशत बढाउन जरुरी छ। अहिले ३६ प्रतिशत मात्र भोट आयो। अब यसलाई कम्तीमा ५० प्रतिशत भोट जोड्ने पार्टी बनाउनुपर्छ। त्यसका लागि कार्यशैलीमा आमूल परिवर्तन ल्याउनुपर्छ। संगठनमा अनुशासन र कामको आधारमा कार्यकर्तालाई सम्मान गर्ने संस्कारको थालनी गर्नुपर्छ। कांग्रेसमा पार्टी पछि परेर व्यक्ति अघि बढेको छ। जुन गलत हो। व्यक्ति होइन, पार्टीलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्छ।
व्यक्तिबाट प्रभावित भएर गुटहरू बनेका छन्। संरक्षण पाउने र संरक्षण दिने परिपाटीले गुटहरू निर्माण भएका छन्। त्यो स्वस्थकर होइन। विचार र मुद्दाका आधारमा पार्टीमा बहस हुनु राम्रो हो। हाम्रो सानो देशमा यति धेरै विविधता छ। हाम्रो सभ्यता संस्कृति छ। यसको समग्रता नै नेपाल हो। यसलाई मजबुत र संरक्षण गर्ने साथै जोड्ने नेतृत्व नेपाली कांग्रेसलाई चाहिएको छ। अरू पार्टीहरूले यी राष्ट्रका सम्पत्तिप्रति गर्व गर्न सकेका छैनन्। यसको लोकतान्त्रिक संस्कारलाई जीवन पद्धतिमा ढाल्नुपर्छ। यी कुरा प्रमुखताका साथ पार्टीमा अगाडि बढाउन म लाग्नेछु।
कांग्रेसमा अरू भ्रातृ संगठनहरूको महाधिवेशन कहिले होला ?
निर्णय गर्न खोज्दा सहमति जुट्न नसक्दा कतिपय काम समयमा हुन सकेका छैनन्। त्यसले संगठनलाई केही घाटा पनि भयो होला। त्यसले राम्रो के भयो भने अरू पार्टीहरू बहुमत ल्याएर पनि फुटको संघारमा पुगे। कांग्रेसभित्र जतिसुकै असन्तुष्टि भए पनि पार्टी एक छ।
त्यसमा पार्टी सभापतिले गर्ने निर्णय प्रक्रिया ढिला होला तर सहमतिबाटै निर्णय गर्छु भन्दै नीति अख्तियारी गर्नुभएको छ। उक्त निर्णयले पार्टीलाई फाइदा नै पुगेको छ। जसले गर्दा आमनिर्वाचनमा पार्टीलाई जिताउने माहोल निर्माण हुँदैछ। भ्रातृ तथा शुभेच्छुुक संगठनको अधिवेशन अब सिंगो पार्टीको महाधिवेशनपछि प्रक्रिया सुरु हुन्छ।
कांग्रेसमा देखिएको गुटबन्दी र पुस्तान्तरणको विकृति कसरी हटाउन सकिन्छ ?
पुस्तान्तरण भन्ने कुरा आवश्यकताको सिद्धान्तमा चल्छ। बूढा हुनुहुन्न,युवा हुुनुपर्छ भन्ने बहस नै गलत हो। आवश्यकताअनुसार कहिले युवा कहिले वृद्घ नेतृत्वमा आउने हो। यो बहसमा टाउको दुखाउनु जरुरी छैन। व्यक्तिका आधारमा सृजित गुट ठिक होइन। यो विचारका आधारमा मतमतान्तर हुनपर्छ। त्यसमा अब पार्टीकेन्द्रित हुनुपर्छ। विशुद्ध रुपमा व्यक्तिलाई केन्द्रमा राखेर गुट बनेका छन्। त्यो विकृति हो।
राजनीतिमा उमेरको हदबन्दी तोकिँदैन ?
राजनीतिमा कसैलाई पनि निषेध गर्न मिल्दैन। कार्यकर्ता पंक्तिले नै कसको आवश्यकता छ ,कसको छैन भन्ने कुरा निर्णय गर्छ। गाउँगाउँबाट आएर विभिन्न तहमा निर्वाचित भएर केन्द्रमा आएका प्रतिनिधिले त्यो कुरा निर्धारण गर्छन्। यसमा अरूले टाउको दुखाउनुपर्ने आवश्यकता छैन।
भनेपछि तपाईंहरूको समूहले हस्तक्षेप गर्न नसकेको हो ?
त्यसो होइन, सभापतिजीले एक पटक म सभापति भएर आमनिर्वाचनमा पार्टीलाई पहिलो बनाएर छाड्छु भन्नुभएको छ त्यसैले।
१४औं महाधिवेशनमा शेरबहादुर देउवाले जित्नुहुन्छ भन्न खोज्नुभएको ?
उहाँ महाधिवेशनमा पनि जित्नुहुन्छ। उहाँको नेतृत्वमा पार्टीले जित्छ। आमनिर्वाचनमा पनि पार्टीलाई जिताउनुहुन्छ। शेरबहादुरजीको सबैभन्दा ठूलो खुबी भनेकै सबैलाई जोडेर लैजाने क्षमता हो। पार्टीमा सबै साथीलाई जोडेर लैजान खोज्नुहुन्छ। कुनै पनि निर्णयमा कसैको चित्त दुखाएर गर्नु हुन्न। नत्र एक्लै पनि अघि बढ्न सक्नुहुन्थ्यो। उहाँसँग बहुमत थियो। कार्यकर्ता सबैले यस पटक विश्वास गर्न जरुरी छ।
एमसीसी पास हुन्छ ?
विदेश सम्बन्धमा एउटा मित्रराष्ट्रसँग एउटा मापदण्ड र अर्को मित्र राष्ट्रसँग अर्कै मापदण्ड अपनाउन थाल्यौं भने यो नेपालको राष्ट्रिय हितमा हुँदैन। यस्तो गतिविधिले अनुदान दिने देशहरूलाई प्रश्न उठाउने ठाउँ हुन्छ। नेपालले किन यस्तो गर्दैछ ? भन्ने सन्देश विदेशसम्म दिने प्रयास भयो भने यसले नेपाललाई घात गर्छ। त्यसकारण विदेशी सहयोग लिने पनि समान मापदण्ड हुनुपर्छ। कुनै देशसँग ऋण लिनु परेको छ। ऋणको ब्याज तिर्नु परेको छ। उसकै ठेकेदार, कामदार आउँछन्। उनीहरूको चाहेको ठाउँमा खर्च गर्नुपर्ने बाध्यता हुन्छ। कुनै देशको रकम भने हामीले तोकेको ठाउँमा खर्च हुँदैछ। ट्रान्समिसन लाइन र सडक हाम्रो देशमा बन्दैछ। जुन हामीले रोजेकै क्षेत्र हो। हाम्रो प्राथमिकतामा पर्छ। त्यसको सञ्चालन अर्थ मन्त्रालयको सचिवको नेतृत्वको संयन्त्रले गर्छ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट ठेक्का लाग्छ। यो एसिया प्यासिफिकअन्तर्गत पर्दैनसमेत भनेका छन्। नेपालकै संविधानअन्तर्गत काम गर्र्नुपर्छ। नियोजित किसिमबाट भ्रम पैदा गरेर एउटा देशको सहयोगलाई नकार्ने मन परे सहयोग जे पनि स्विकार गर्नु हुँदैन। अमेरिकाले पहिलो पटक नेपाललाई अनुदान दिन लागेको हो। कुनै देशलाई अनुदान दिने कुरामा दसवटा प्रश्न अगाडि सारेर अल्मल्याउनु हुँदैन। समान मापदण्डका आधारमा विदेश नीतिलाई परिमार्जन गरिनुपर्छ। गठबन्धन दललगायत एमालेमा पनि एमसीसीका विषयमा सकारात्मक छन्। जनतामा नकारात्मक भ्रम फैलाउन भएन।
सरकारले विभिन्न संवैधानिक निकाय र राजदूत नियुक्तिमा किन ढिलाइ गरेको होला ? गठबन्धनबीचमै कुरा नमिलेर हो ?
सरकार यसमा गृहकार्य गर्दै छ। गठबन्धन दलबीचमा प्रस्ताव गइसकेको छ। अब सबैको सहमतिपश्चात् नियुक्तिको प्रक्रिया अघि बढ्छ।