मनाइँदै विवाह महोत्सव

मनाइँदै विवाह महोत्सव

काठमाडौं : मिथिलाको पावनभूमि जनकपुरधाम प्रेम, आस्था, विश्वास र सम्बन्धको गाँठो पार्ने संस्कृतिको प्रतीक भूमि हो। यही भूमिमा सीता–राम विवाह पञ्चमी उत्सव भब्य रुपमा मनाइन्छ। 

कोरोना महामारीले पाँच सय वर्ष पुरानो यो उत्सव रौनकहीन बन्यो। विवाह पञ्चमीको संस्कृतिलाई यस वर्ष पनि निरन्तरता दिन साताव्यापी सीता–राम विवाह पञ्चमी महोत्सवको तयारीमा जानकी मन्दिर जुटेको छ। महोत्सव आगामी मंसिर १७ गतेदेखि सुरु हुँदैछ। 

२२ गते स्वयंवर र विवाहको  मुख्य कार्यक्रम छ। जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवका अनुसार महोत्सवको पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर, छैटौं दिन सीता–राम स्वयंवर तथा विवाह महोत्सव र सातौं दिन रामकलेवा गरी जन्तीको बिदाइ गरेपछि महोत्सव समापन गरिनेछ। विवाह पञ्चमीमा राष्ट्रप्रमुख सहभागी हुने परम्परा छ। 

विश्वमाझ नेपाललाई चिनाउने विवाह पञ्चमी एक विशिष्ट पर्व हो। भगवान् राम र सीताको विवाहमा सहभागी हुन लाखौं श्रद्धालु भक्तजन जनकपुरधाम आउने गर्छन्। उनीहरूको गाँस, बाँस, आथित्य सत्कार र शान्ति सुरक्षाका लागि सर्वपक्षीय बैठक बसेर सबै पक्षलाई तयारीमा जुट्न मन्दिरका महन्थ राम तपेश्वरदास वैष्णवले आग्रह गरेका छन्। 

बाजागाजासहित भारतको अयोध्याबाट रामको जन्ती जनकपुरधाम आउँछ। महोत्सवमा आएका जन्तीलाई हेलिकप्टरबाट पुष्पवृष्टि गरिन्छ। राजर्षि जनक र जानकीको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा वर्सेनी मंसिर महिनाको शुक्ल पक्ष पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेला लाग्छ। सीतोपाख्यान उत्तराद्र्धमा सीता स्वयंवरका बारेमा उल्लेख भए अनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन रामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री राम जानकीको शुभविवाह भएको प्रसंग उल्लेख गरिएको छ। त्यसैको सम्झनामा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाह महोत्सव मनाइन्छ। यो क्रम विगत पाँच सय वर्षदेखि जारी छ। कोरोना महामारीले यो उत्सवको रौनकता भने खोसेको थियो। 

विवाहपञ्चमी एउटा चाड मात्र होइन र यसले जनकपुरको मात्र परिचय बोक्दैन। यो नेपाल–भारतबीचको सांस्कृतिक सेतु हो, जनसम्बन्धको प्रतीक पनि हो। त्यसैले त जनकपुरधाम विश्वको नजरमा छ। यहाँ आउने पाहुना मिथिलाको संस्कार, संस्कृति, र पहिरनमा रंगिन्छन्। ५६ ब्यञ्जन पस्किएर दिल खोलेर जनकपुरवासी स्वागत गर्छन्।

त्रेतायुगमा सीता र रामको यहीँ विवाह भएको थियो। यो पर्व त्यही परम्पराको निरन्तरता हो। छोरी सीताको विवाहका लागि पिता जनकले शिवको धनुषमा ताँदो चढाउने प्रतिस्पर्धासहितको स्वयंवर आयोजना गरेका थिए। अयोध्याका राजकुमार रामले धनुष उचाली ताँदो चढाउन लाग्दा भाँचिएर तीन टुक्रा भएको थियो। 

रामले विवाहको सर्त जितेको हुनाले उनलाई सीताले वरमाला लगाइदिएकी थिइन्। ‘पाँच सय वर्ष पुरानो परम्परालाई हामीले निरन्तरता दिइरहेका छौं’, जानकी मन्दिरका उत्तराधिकारी दास वैष्णव भन्छन्, ‘सरकारले यसलाई धरोहर पर्वको रुपमा पहिचान गर्नुपर्छ। तर, सरकारका तर्फबाट यसबारे खासै पहल भएको देखिँदैन।’

उनका अनुसार पहिले अयोध्याबाट जन्ती ल्याउने चलन थिएन। अयोध्याबाट अनौपचारिक रुपमा आउनेहरूलाई जनकपुरवासीले जन्ती मानेर स्वागत गर्थे। ‘तर २०६१ सालदेखि अयोध्याबाट विधिवत् जन्ती ल्याउन थालिएको हो’, उनी भन्छन्, ‘यसका लागि दुई देशका सरकार र खासगरी तत्कालिन विश्व हिन्दु परिषद्का अशोक सिंघलले पहल गरेका थिए।’ यसरी पहिलो पटक चार—पाँच सय गाडीमा जन्ती सजाएर ल्याइएको थियो। रामायणमा जुन बाटोबाट जन्ती आएको थियो, त्यही बाटो भएर जनकपुर पु¥याइएको थियो। त्यसयता हरेक पाँच वर्षमा औपचारिक रुपमा जन्ती ल्याउने गरिएको छ।

जनस्तरमा नेपाल–भारत सम्बन्ध अत्यन्त सुमधुर छ। यसलाई ‘रोटी–बेटी’ को सम्बन्ध भनेर पनि अथ्र्याइन्छ। ‘यसको सुरुवात जानकीले गरेकी थिइन्’, दास भन्छन्, ‘त्यसैले विवाह महोत्सव दुई देशबीचको साँस्कृतिक सेतु हो। यसलाई विशेष महत्व दिनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.