नवलपुरमा ६ बन्दकर्ता पक्राउ
पूर्वी नवलपरासी : पूर्वी नवलपरासी प्रहरीले ६ जना बन्दकर्तालाई पक्राउ गरेको छ। चोरमारा बजारमा मंगलबार बिहान बन्द गराउँदै हिँडेका नेत्र विक्रम चन्द नेतृत्वका नेकपाका २ जिल्ला सदस्यसहित ६ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी प्रकाश मल्लले जानकारी दिए।
पक्राउ पर्नेमा जिल्ला सदस्यद्वय धनबहादुर मगर, वीरबहादुर थापा मगर छन्। त्यसैगरी पक्राउ पर्ने अन्यमा नरेन्द्रमान मुखिया, दीपक कुंवर, दीपक विक र मंगलसिंह कुमाल रहेको एसपी मल्लले जानकारी दिए। उनीहरू सबै मध्यविन्दु नगरपालिकाका हुन्।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपाले बन्दकोआव्हान गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ। बन्द आव्हानका कारण पूर्व पश्चिम राजमार्ग भएर चल्ने लामो दुरीका सवारी साधन चलेका छैनन्। अन्य क्षेत्रको जनजीवन सामान्य रहेको प्रहरीले जनाएको छ।