आगलागी पीडितको राहत बैठकमै सिमित
मुगु : सदरमुकाम गमगढीस्थित तल्लो बजारमा आगलागी भएका घरपरिवारलाई राहतको लागि सरोकारवाला निकाय बैठकमा मात्रै सिमित भएका छन्। आगालागी भएका १७ घरधनी, चार टहराधनी र २१ घर बाहलमा बसेका ४२ घरपरिवारलाई तत्काल राहत पुर्याउन सरोकारवाला निकायहरु बैठकमै व्यस्त भएका हुन्।
बैठकमा नै व्यस्त हुनाले आगालागी पीडितहरु समस्यामा परेका छन्। जसले गर्दा उनीहरुलाई कँहा बस्ने के खाने भन्ने चिन्ता भएको छ।
सोमबार राति १२ः ३१ बजे ठील्ले लामाको घरमा पूजा कोठाको दियोबाट सल्केको आगोबाट सदरमुकाम गमगढीस्थित तल्लो बजारका ६३ घरपरिवारको आगलागीले सबै धनमाल क्षति भएको थियो। पीडितहरुलाई तत्काल राहत दिनुको सट्टा सरोकारवाला भने राहतको बाहाना बनाएर बैठकमा नै बेस्त भएका छन्।
तत्काल राहतका लागि मंगलबार बिहान जिल्ला समन्वय समितिको सभाहलमा बसेको सर्वपक्षिय बैठकले राहतका लागि स्थानीय गैर सरकारी संस्था तथा कर्णाली प्रदेश सरकारलाई राहत उपलब्ध गरान अनुरोध गर्ने निर्णय गरेको थियो। छाँयानाथ रारा नगरपालिकाले स्थानीय गैर सरकारी संस्थासँग राहत बारे बैठक गरेको छ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालयमासमेत विपद् व्यवस्थापन समितिको बैठक बसेको स्रोतले जानकारी दिएपनि तत्काल राहत उपलब्ध हुन सकेको छैन। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले पिडितहरुलाई तत्काल राहत उपलब्ध गराउने भनी प्रेस विज्ञप्तिमार्फत घोषणा समेत गरेका थिए।
काठमाडाैबाट सेनाको हेलिकप्टर सुर्खेत पुगेर मुगु पुग्दा हेलिकप्टरलाई फर्कन समय नपुग्ने भएकाले पिडितलाई राहत उपलब्ध गर्न नसकिएको कर्णाली प्रदेश सांसद चन्द्रबहादुर शाही बताउँछन्। भोली मात्रै राहत सदरमुकाममा पुग्ने शाहीले बताए।
उद्योग बाणिज्य संघले भने राहतको लागि सदरमुकाममा रहेका आफ्ना व्यापारीहरुबाट नगद चन्दा उठाउन सुरु गरेको छ। संघले संकलन गरेकाे रकम जिल्ला विपद् व्यवस्थापन समितिको जिम्मा दिएकाे छ। जिल्लाले सो रकमबाट तत्काल राहत उपलब्ध गराउने उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दिएको जानकारी अनुसार केही अग्नि पिडितहरुलाई तत्कालका लागि राहत रेकडक्रसले गैर खाद्य सामग्री र अन्य निकायबाट केही नगद वितरण गरिने भएको छ।
प्रदेश सरकारबाट आउने राहत समय अभावका कारण हेलिकप्टर पुग्न नसक्ने भएकाले बुधबार मात्र प्रदेश सरकारले जिल्लामा पुग्ने महतले बताएका छन्।