शौचालय आउनुस्, चिया पिएर जानुस्
काठमाडौं : स्वयम्भू बुद्धपार्कमा देशकै नमुना ‘स्मार्ट’ शौचालय छ। जहाँ सम्पूर्ण प्रविधि ‘स्मार्ट’ छन्। ‘सेन्सर’सहितको प्रवेशद्वार छ। कति मानिस आए भनेर त्यसले देखाउँछ। धारा, बत्ती, हात सुकाउने, प्याड वितरण गर्ने ठाउँ ‘स्मार्ट’ नै छन्। हार्पिक, फिनेलजस्ता रसायनको प्रयोग नगरी ‘ड्राई क्लिनर’ प्रयोग गरिन्छ। यस्ता वस्तु बायोडाइजेस्टरमा गयो भने ग्यास उत्पादन हुँदैन। प्राकृतिक डिटर्जेन्ट, वातावरणमैत्री सफाइ सामग्री प्रयोग गरिन्छ।
एकपटक शौचालय गएबापत प्रयोगकर्ताले १५ रुपैयाँ तिर्नुपर्छ। त्यसमै ग्राहकले एक कप कालो चिया पाउँछन्। शौचालयभित्रै खाजा पसल पनि छ। ‘कोही त कुरै नबुझने हुन्छन्। ट्वाइलेटमा बसेर कहाँ खान्छ भन्छन्’, अरुणा पुजारीले भनिन्।
२५ वर्षीया पुजारी टेकु अस्पतालमा सफाइको काम गर्थिन्। त्यहाँको जागिर छोडेर यहाँ आएकी हुन्। उनका अनुसार अस्पतालमा सेवाग्राहीको अत्यधिक चाप हुने भएकाले शौचालय फोहोर हुन्थ्यो। तर, स्वयम्भूमा स्मार्ट प्रविधि भएकाले काम गर्न सजिलो भएको उनले सुनाइन्।
‘जागिरका साथसाथै सेवा गरिरहेको छु जस्तो लाग्छ। तर, धेरैले ट्वाइलेटमा काम गर्नेलाई हेयको दृष्टिले हेर्छन्’, उनले भनिन्, ‘आधा मानिस प्रशंसा गर्ने र आधाजसोले आलोचना गर्छन्। सेवा गर्दै छ भन्ने चेत खुल्नुपर्छ।’ अर्की कामदार पद्मा देउलालाई अहोरात्र खटिएर सेवा दिए पनि समाजले सम्मानजनक हिसाबले नहेरेको अनुभव गरेकी छन्। ‘ट्वाइलेटको काम गर्ने भन्ने बुझाई’ गलत भएको देउलाको भनाइ छ।
‘सम्पूर्ण प्रविधिहरू स्मार्ट छन्। फोहोर कतै छैन। न त दुर्गन्ध नै छ। मासिक तलब लिने व्यवस्था छ। अफिसको जस्तै विभिन्न सिफ्टमा काम गर्छौं’, उनले भनिन्। सफाइको क्षेत्रलाई पनि अन्य पेशास्तै आदर गरिनुपर्ने उनले सुनाइन्।
दैनिक १ सयदेखि ५ सयसम्म प्रयोगकर्ता आउँछन्। उनीहरूबाट उठेको पैसाले कर्मचारीलाई मासिक तलब, शौचालयको सरसफाइ तथा व्यवस्थापन गरिन्छ। सिन्धुलीका विष्णु भोलानले स्मार्ट शौचालय राम्रो लागेको बताए।
‘अप्ठेरोमा सेवा पाउनु नै ठूलो कुरा हो। तर, साधारण सार्वजनिक शौचालय दुर्गन्धित हुन्छन्।’
काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका सदस्य मनराजा रञ्जितले एरोसान नेपालसँगको सहकार्यमा उक्त शौचालय बनाइएको बताए। यो सञ्चालनमा आएको वर्षदिन पुग्यो। यस्तै शौचालय ६ वटा निर्माणाधीन रहेको रञ्जितको भनाइ छ।
एरोसान नेपालका प्रमुख कार्यकारी प्रकाश अमात्यले स्वयम्भूमा काठमाडौं महानगरले ठाउँ प्रदान गरेपछि संरचना बनाउन संस्थाले ५० लाख सहयोग गरेको बताए। मंगलबजार, पाटनढोका, बानेश्वरलगायत क्षेत्रमा पनि स्मार्ट शौचालय बनाएको उनको भनाइ छ। यी शौचालय व्यवस्थापनको जिम्मा महिलालाई दिइएको उनले बताए। स्वच्छ वातावरणसहित महिला, बालबालिका, वृद्धवृद्धा र अपांगता भएकाहरूलाई ध्यानमा राखी भवन बनाइएको छ।
स्वयम्भूमा दिनको हजार लिटर पानी प्रयोग हुन्छ। त्यसको ८० प्रतिशत पुन: प्रशोधित हुन्छ। उक्त शौचालयलाई शैक्षिक हब तथा अनुसन्धान केन्द्र बनाउने लक्ष्य रहेको अमात्यले बताए।
यस्ता शौचालयको फोहोरबाट बायोग्यास निकालेर बालिँदै आएको छ। उनका अनुसार सन् २०२१ मा मंगलबजारमा ४३ हजार ५ सय ७७, बानेश्वरमा २७ हजार ८ सय ३९ र बुद्धपार्कमा १२ हजार ४ सय ४९ लिटरभन्दा धेरै पिसाब संकलन गरेर ग्यास निकालिएको छ। दिसाबाट २०९.३२ लिटर ग्यास निस्किएको छ। २४ सिलिन्डर एलपी ग्यास निकालिएको उनले बताए।
उनले सन् २०२० मा संसारभरका ३ हजार प्रतिस्पर्धीलाई पछि पार्दै अवार्ड हात पारे। नेपालमा सार्वजनिक शौचालय सुधार गरेबापत संयुक्त राष्ट्र संघको दिगो विकाससम्बन्धी पुरस्कार हात पारेको उनको भनाइ छ।
रञ्जितका अनुसार महानगरभित्र ५७ वटा शौचालय सञ्चालनमा छन्। पुरानो आँकडाअनुसार ५९ वटा रहेकामा दुइटा मात्रै भत्काइएको रञ्जितको भनाइ छ। तर, ती शौचालयको व्यवस्थापन राम्रो नभएको प्रयोगकर्ताको गुनासो छ। महानगरले भने पहिलाको तुलनामा धेरै सुधार गरिएको दाबी गरेको छ।