‘मम्मी स्कुल कहिले जाऊँ ?’

‘मम्मी स्कुल कहिले जाऊँ ?’

अछाम : दुई तले घरको छतमा खाली खुट्टा। रातो टिसर्ट। पिँठ्युमा मैलिएको कालो झोला। छतमा ठडिएका सरियामा अडेस लागेर पारिको स्कुल हेरेर टोलाउँछिन्, पार्वती (नाम परिवर्तन)। स्कुल जान नपाएको तीन हप्ता भइसक्यो। 

स्कुल जाने समय भयो कि पिँठ्युमा स्कुलको झोला बोकेर विद्यालय जान तयार हुन्छिन्। छतबाट पारि देखिने बोर्डिङ स्कुलमा बिहान ड्रम बजेको आवाज सुनिन्छ। विद्यालय परिसरमा पिटी खेलिरहेका बालबालिकालाई हेरिरहन्छिन्। विद्यालय जान नपाएकोमा उनलाई निकै छटपटी हुन्छ । रुन्छिन्। ‘आफुलाई  स्कुल जान किन नदिएको भन्ने दैनिक जस्तो उनको प्रश्न हुन्छ,’ सेफ हाउसकी सञ्चालिका मथुरा कुँवरले भनिन्।

पार्वती अहिले अछामको साँफेबगरस्थित महिला कानुनी तथा सुरक्षित परामर्श केन्द्रमा छिन्। हिंसा पीडितहरूको हेरविचार गर्ने मथुरा कुँवरलाई पार्वती ‘मम्मी’ भनेर बोलाउँछिन्। पार्वती १० वर्षकी भइन्। उनी कक्षा ३ मा पढ्छिन्। ‘राति सुत्दा पनि स्कुलको झोला सिरानीमा राखेर सुत्छिन्,’ मथुराले भनिन्, ‘मम्मी स्कुल कहिले जाने म भनेर मात्र सोधिरहन्छिन्। छतमा गएर स्कुल हेरेर टोलाउँछिन् ।’ 

असोज २६ गतेको घटना हो। गोठालो गएका बेला उनी आफ्नै काकाबाट बलात्कृत भइन्। पार्वतीका बुवाको मृत्यु भएको ५ वर्ष भयो। उनी आमासँग बस्दै आएकी थिइन्। उनलाई बलात्कारबारे  केही जानकारी छैन। बलात्कारपछि रगत बग्न थालेपछि उनले काकाले भने जस्तै घरमा महिनावारी भएको बताइन्। ‘बलात्कारपछि रगत बगेछ। ‘घरमा सोधेपछि महिनावारी भएको हुँ भन्नु’ भनेर सिकाएछ। ३/४ दिनसम्म रगत बग्न नरोकिएपछि आमाले अस्पताल लानुभएछ। अनि मात्रै घटना बाहिर आयो,’ मथुराले सुनाइन्। गोठालो गएकी पार्वतीलाई मोबाइल हेर्न दिन्छु भन्दै सहोदर काकाले बलात्कार गरेको प्रहरीले जनाएको छ। पीडकलाई प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको छ।

छोरीलाई घरमा बस्न असहज भएपछि आमाले साँफेबगरस्थित महिला कानुनी तथा सुरक्षित परामर्श केन्द्रमा राखेकी हुन्। ‘अब यो गाउँमा बस्न सकिँदैन,’ पार्वतीकी आमाले भनिन्, ‘त्यसैले छोरीलाई सेफ हाउसमा छोडेको छु। अब आफू पनि गाउँमा बस्दिन। मुम्बई भएकी माहिली छोरीसँगै बस्छु।’

घरमा बस्ने अवस्था नभएपछि छोरीलाई कतै बाहिर सुरक्षित ठाउँमा पठाइदिन आग्रह गरिन्। ‘परिवारको आर्थिक अवस्था दयनीय छ। अहिले उनको मष्तिष्कमा केही असर परेको छ,’ महिला अधिकारकर्मी पशुपति कुँवर भन्छिन्, ‘परामर्श गरिरहेका छौं। सामान्य भएपछि विद्यालय पठाउने योजना छ।’ पार्वती पढ्नमा तेज छिन्। केन्द्रले उनलाई काठमाडौं पठाउन लागिसमेत प्रयास गरिरहेको छ। पीडकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको अछामका डीएसपी तुलसीराम अर्यालले बताए। हाडनाता करणी अन्तर्गत मुद्दा दर्ता गरेर कारवाही अघि बढाइएको छ। 

प्रहरीका अनुसार अछाममा साउन यता मात्रै ९ वटा जबरजस्तीकरणीका  घटना घटेका छन्। आव २०७६/०७७ मा १४ र २०७७/०७८ मा १३ जबरजस्ती करणीका घटना दर्ता भएको प्रहरीले जनाएको छ। 

आर्थिक अभावमा ‘सेभ हाउस’ 
साँफेबगरमा २०७६ माघमा ‘कानुनी परामर्श तथा सुरक्षित आवास’ निर्माण गरिएको हो। सेफ हाउसमा गत आर्थिक वर्षमा २० जना हिंसा पीडितले उपचार पाएका छन्। केहि उपचारपछि घर फर्किएका र केहिलाई काठमाण्डौ थप उपचारको लागी पठाईएको कुवँरले बताईन्। पीडितहरूलाई थप उपचार र परामर्शका लागि जिल्ला बाहिर पठाउँदा आर्थिक समस्या हुने गरेको छ। ‘सेभ हाउसका कर्मचारीलाई पारिश्रमिक समेत दिनसमेत सकेका छैनौं,’ कुँवरले भनिन्, ‘दाताहरूसँग सहयोग मागेर जेनतेन चलाइरहेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.