खोकु, छिन्ताङ दुख्यो कि . . .
सहिद परिवारका झलकमान राई छिन्ताङलाई राजनीतिक गर्ने थलो र भोट माग्ने भाँडो मात्रै बनाउन नहुने बताउँछन्। ‘आश्वासन धेरै आउँछन्, तीन प्रधानमन्त्री आएर यहाँको मुहार नै फेरिन्छ भन्नुभयो तर हेर्नुहोस्, यहाँको अवस्था यस्तै छ’, उनी भन्छन्।
खोकु, छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा
खोकु, छिन्ताङ अझै दुखिरहेछन्। यसको घाउ बल्झिरहन्छ। जब जब सन्दर्भ आउँछ तब तब पीडित पक्षबाट दुःख बिसाउने काम पनि हुँदै आएको छ। दुःखका तप्काहरूले सबैको मन रुवाइरहेकै छ। नेपालको पूर्वी पहाडी जिल्ला धनकुटाको छिन्ताङ अर्थात् नेपालको कम्युनिस्ट आन्दोलनका लागि महत्त्वपूर्ण स्थान। जहाँ ४३ वर्षअघि १६ जना निहत्था जनताको हत्या भएको थियो। ३१ जनालाई डाँका मुद्दा लगाएर आठ वर्षसम्म राजबन्दी बनाएर थुनिएको
थियो। २०३६ सालमा जनमत संग्रहको घोषणा भयो, त्यसपछि २०३६ सालकै कात्तिक महिनाको अन्तिम साता तत्कालीन पञ्चायती शासकले अमानवीय रूपमा आफ्नो खाली पेटको भर्न किसान आन्दोलनमा उठेका नागरिक मारिएका थिए।
सहिदका सपना भने अझै पूरा भएका छैनन्। उनीहरूले आफ्नो स्थानका लागि मात्र नभएर देशकै लागि रगत दिएका हुन्।
‘सुरक्षाकर्मीले म हिँडेको देखिहालेछ, देख्नासाथ गोली तेस्र्यायो। म लडें, अनि भागें। मलाई ताकेर चार पटक गोली हान्यो तर गोली छलेर बाँचे। नत्र १७ जनामा मेरो पनि नाम हुन्थ्यो’, किसान आन्दोलनकर्ता सुवानसिंह राई भन्छन्।
२०२८ सालदेखि त्यहाँ विद्रोह सुरुआत भएको थियो। आज यो भूमि सहिद भूमिका रूपमा स्थापित भएको छ। १६ जना सहिदका एकै ठाउँमा स्तम्भ राखेर सहिद चोक निर्माण गरिएको छ। सहिदको स्मृतिमा छिन्ताङमा सहिद पार्क निर्माण गरिनुका साथै सहिदका अर्धकदका सालिक राखिएका छन्। यो भूमिमा देशका तीन कम्युनिस्ट प्रधानमन्त्री पुगिसकेका छन्, झलनाथ खनाल, माधवकुमार नेपाल र केपी शर्मा ओली। विश्व कम्युनिस्ट आन्दोलनको अध्ययन गर्नेका लागि छिन्ताङ महत्त्वपूर्ण स्थल बन्दै गएको छ। नेपालका कम्युनिस्ट आन्दोलनको जगसमेत छिन्ताङ बनेको छ। यो उचाइमा पुर्याउन छिन्ताङ काण्डको योगदान छ। प्रत्येक वर्ष एमालेले छिन्ताङ सहिद स्मृति दिवसको रूपमा मनाउँदै आएको छ। यसपटक एमालेअध्यक्ष ओली त्यहाँ पुगेका हुन्। ओलीले सुनील थापा कांग्रेसमा गएसँगै २०३६ सालको छिन्ताङ हत्या काण्डको जिम्मा कांग्रेसले लिनुपर्ने बताएका छन्। यो घटना हुँदा नेपालका प्रधानमन्त्री उनका बुवा सूर्यबहादुर थापा थिए। उनी घटनावासी नै हुन्। उनकै निर्देशनमा प्रशासनले छिन्ताङ काण्ड गराएको थियो। अध्यक्ष ओलीले सहिदको सालिक र सहिद परिवार त्यही पुगेर सम्मान गरेका छन्।
सहिद परिवार सधैं विलाप गर्न छोडेर सशक्त ढंगले अघि बढेका छन्। त्यो बलिदानलाई शक्तिमा परिणत गरेका छन्। आफ्नै अभिभावकको बलिदान राजनीति हुने गरेको बुझेका परिवार राजनीतिमा आउन थालेका छन्। उनीहरू वडासदस्यदेखि वडाध्यक्षसम्म भएका छन्। नेतृत्व तहमा पछि पारिएको उनीहरूको गुनासो छ। आफ्ना मुद्दालाई सशक्त रूपमा उठाइरहेका छन्। सहिद परिवारकै पहलमा यो स्थानमा केही परिवर्तन भएको छ। सहिद परिवारलाई सम्मान गर्ने व्यवहारमा परिवर्तन भएको छ। त्यो स्थानको भौतिक विकास पनि भएको छ। गाउँपालिकाको नाम नै सहिद भूमि राखिएको छ। उनीहरू आफ्ना हकहित स्थापित गर्न सहिद संरक्षण समिति नै बनाएर लागिपरेका छन्। सहिदका सपना भने अझै पूरा भएका छैनन्। उनीहरूले आफ्नो स्थानका लागि मात्र नभएर देशकै लागि रगत दिएका हुन्। कम्युनिस्ट कार्यकर्ता भएको भन्दै अन्य राजनीतिक दलले उनीहरूप्रति फरक व्यवहार गरेको पाइन्छ।
सरकारले उक्त हत्याकाण्डमा मारिएका १६ जनालार्ई २०७४ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो। उनीहरू यो कार्यान्वयन नभएको बताउँछन्। सहिद परिवारका झलमान राई भन्छन्, ‘धेरै माग पूरा नभए पनि हुँदै नभएको भने होइन। हिजोभन्दा परिवर्तन भएको छ तर अझै धेरै गर्न बाँकी छ। एकीकृत बस्ती, एक घर एक रोजगार लगायतका माग उनीहरूले राख्दै आएका छन्। कतिपय परिवारको अवस्था अझै पनि दयनीय छ। सहिद पुत्रमानका छोरा बलराम राई तीनजना प्रधानमन्त्री आएर दिएका आश्वासन पनि पूरा नभएको बताउँछन्। बलराममा ७ वर्षको हुँदा यो घटना भएको थियो। ‘सहिद परिवारलाई एकीकृत बस्ती बनाएर एकै ठाउँ राख्ने भनियो, अहिलेसम्म जग्गाको व्यवस्थापन हुन सकेको छैन’, उनी भन्छन्, ‘राष्ट्रिय सहिद घोषणा गरिएको भनेको पनि चार वर्ष भयो तर केही भएन। उनले छिन्ताङलाई राजनीतिक गर्ने थलो र भोट माग्ने भाँडो मात्रै बनाउन नहुने बताउँछन्। ‘आश्वासन धेरै आउँछन्, तीन प्रधानमन्त्री आएर यहाँको मुहार नै फेरिन्छ भन्नुभयो तर हेर्नुहोस्, यहाँको अवस्था यस्तै छ’, उनको गुनासो छ।
स्थानीय नेत्रबहादुर राईले अराष्ट्रिय तत्त्व भन्दै पञ्चायतकालमा दमन गरेर निर्दोष जनता मारिएको स्मरण गरे। ‘यही काण्डलाई भजाएर राजनीति गरे पनि सहिदको सपना अधुरै छ’, उनी बताउँछन्। बर्सेनि सहिद दिवस मनाउँदै आएको एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राई भने छिन्ताङमा धेरै परिवर्तन आएको दाबी गर्छन्। सहिद परिवारका लागि एमाले सरकारमा भएको बेला नै धेरै सहयोग उपलब्ध भइरहेको उनको दाबी छ। उनका अनुसार २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला १–१ र शेरधन राई मुख्यमन्त्री भएकोले ५–५ लाख रकम उपलब्ध गराएको छ। उनका अनुसार धेरै सहिद परिवारलाई रोजगारीको व्यवस्था पनि गरिसकिएको छ। ८ सहिद परिवारलाई राज्यले घर बनाइदिएको छ।
पाँच गोली छलेर बाँचेका सुवानसिंह
किसान आन्दोलनमा लागेका सुवानसिंह राईलाई तत्कालीन सुरक्षाकर्मीले पाँच पटक गोली हानेको थियो। अहिले पनि उनी जिउँदो सहिदको रूपमा परिचित छन्। समाजसेवी राई र उनका काका मिलेर जनतालाई सचेत बनाउन गाउँमा विद्यालय खोलेका थिए। त्यो कुरा तत्कालीन शासनलाई मन परेको थिएन। जिउँदो सहिद सुवानसिंह त्यो बेलाको अनुभव सुनाउँदै भन्छन्, ‘बजारबाट घरतिर जाँदै थिएँ, पहिल्यै मेराविरुद्ध जाहेरी रहेछ। सुरक्षाकर्मीले म हिँडेको देखिहालेछ, देख्नासाथ गोली तेस्र्यायो। म लडें, अनि भागें। मलाई ताकेर चार पटक गोली हान्यो तर गोली छलेर बाँचे। नत्र १७ जनामा मेरो पनि नाम हुन्थ्यो।’ त्यसपछि पनि मेरो खोजी जारी राख्यो। उनी पक्राउ परे। निर्मम यातना दिइयो। यातनाका कारण उनी कान नसुन्ने भए। एक वर्ष विराटनगर जेलमा राखियो। उनले जेलमा पनि आन्दोलन गरे। २०३७ पुस १ मा रिहाइ गरियो। ‘भरतमोहन अधिकारी र बम देवान आएर छुटाउनु भयो’, उनले भने। त्यो काण्डका एक मात्र जिउँदो साक्षी सुवानसिंह हुन्। कम्युनिस्ट क्रान्तिको जग बसाउने सुवान सिंहले राज्यबाट केही पाएको बताउँछन्।
आमाको आँखैअघि हत्या
मेरो नाम झलकमान राई हो। म छिन्ताङमा सहिद परिवारको सदस्य हुँ। आमालाई गाउँमा हाङ्खीमा साहिँली भनेर बोलाउँथे। तर, उहाँको खास नाम श्रीमाया राई हो। २०३६ सालको किसान आन्दोलनका क्रममा मेरी आमाको हत्या गरे, उहाँ त्यसबेला दुई दिनको सुत्केरी हुनुहुन्थ्यो। म त्यो बेला सात वर्ष दुई महिनाको थिएँ। बहिनी भर्खर दुई दिनकी थिइन्। दुई दिनकी सुत्केरी आमालाई आँखैअघि क्रूरतापूर्वक हत्या गरियो। रगतमा लतपतिएको कारुणिक दृश्य अहिले पनि झलझली आउँछ। मन विक्षिप्त हुन्छ।
गाउँका सामन्तहरूविरुद्ध कम्युनिस्टले किसान आन्दोलन चलाएका रहेछन्। तर, हामी सोझा जनतालाई त्यसबारे केही थाहा थिएन। त्यो आन्दोलन दबाउन तत्कालीन प्रशासनले सोझा गाउँलेको हत्या गरेको रहेछ। राज्य कति क्रूर ? अहिले बुझ्दैछौं। राजनीतिक कार्यकर्ता कता भागे ? कत लुके ? उनीहरू बाँचे तर १६ जना निहत्था र निर्दोष गाउँले मारिए। त्यो दिन अहिले पनि झलझली सम्झन्छु, कात्तिक अन्तिम साताबाट नै गाउँलेलाई कुट्ने, पिट्ने र मार्ने गर्न थालिसकेका थिए। दुई दिनपछि उनीहरू हाम्रो घरमा आए। दुई दिनकी बहिनी च्यापेर हामी भाग्यौं तर सुत्केरी आमा भाग्न सक्नु भएन। आमालाई उनीहरूले पक्रेर लगे। बारीमा लडाएर मरणासन्न हुने गरी पिटे। उनीहरू गएपछि हामीले आमालाई घरमा ल्यायौं तर उहाँको प्राण गइसकेको थियो। त्यसको ४५ दिनपछि बहिनी पनि बितिन्। मैले परिवारका दुई सदस्यलाई एकैचोटी गुमाएँ।
को को मारिएका थिए ?
२०३६ कात्तिक २५ मा गोपालआनन्द राईको खरीखोलामा लगेर मारिएको थियो भने पत्रमान थुलुङ राईलाई कात्तिक २६ मा तमोर नदीमा लगेर हत्या गरिएको थियो। रणध्वन पुमा राईलाई कात्तिक २६ मा नै कुभांगमा मारिएको थियो। कात्तिक २७ मा लाखमान राई, गम्भीरमान राई, टंकबहादुर विश्वकर्मा, धरवीर दर्जी, गंगाबहादुर तुप्रिहांग राई, चन्द्रबहादुर दर्जीलाई पातालमा मारेका थिए। भैरवबहादुर खालिङ राई, बलबहादुर खत्रीलाई कात्तिक २८ मा तारेभीर लागेर मारिएको थियो। दुई दिनकी सुत्केरी श्रीमाया राई कात्तिक २९ कुभांगमा मारिएको थियो। छिन्ताङकै झगेन्द्र राईलाई माघ १८ मा मोरङको बेलबारीमा मारिएको थियो। रामकुमारी राईलाई कात्तिक २७ मा कुभांगमा मारिएको थियो। तत्कालीन शासकबाट खटाइएका समूहबाट सामूहिक बलात्कारपछि उनको हत्या गरिएको थियो।