नवलपरासीमा देउवाइतर गुटको वर्चस्व
परासी : पश्चिम नवलपरासी कांग्रेसमा देउवाइतर गुटको वर्चस्व देखिएको छ। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मंसिर ३ गते सम्पन्न प्रदेश सभा क्षेत्रीय अधिवेशनको मत परिणामले देउवा इतर गुट बलियो देखिएको हो।
जिल्लामा २ प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन्। ति निर्वाचन क्षेत्रका ४ प्रदेश सभा क्षेत्रमा भएको अधिवेशनमा देउवा गुटले १ क्षेत्र मात्र जितेको छ। अन्य सबैमा देउवा इतर गुटले बाजी मारेको छ। उनीहरु सबैले प्यानलै जितेका हुन्।
जिल्लामा देउवा गुटका केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको एउटा गुट छ भने संविधानसभा सदस्यद्वय विक्रम खनाल र देवकरण जयसवालको अर्को संयुक्त गुट छ। केन्द्रमा देउवा इतरका नेताहरु नै विभाजित देखिएपछि यी दुई नेताहरु पनि केन्द्रीय नेताको पक्षमा खुलेका छैनन्।
मत परिणामअनुसार निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा ‘क’ मा देउवा इतरका सभापतिका उमेदवार वेदप्रसाद शर्माले सुरज केसीलाई ७३ मत अन्तरले हराए। प्रदेश सभा ‘ख’ मा देउवा इतरका अनुरेश कलवारले अञ्जु चौधरीलाई १ सय ६ मत अन्तरले हराए। पराजित चौधरी प्रतापपुर गाउँपालिकाकी कार्यवहाक अध्यक्ष हुन्। अध्यक्षको निधनपछि उनलाई कार्यबहाकको जिम्मेवारी दिइएको हो।
त्यसैगरी निर्वाचन क्षेत्र २ ‘क’ मा देउवा इतरका सभापति पदका उमेदवार यामप्रसाद भुषाल (दीपक) ले कृष्ण नारायण श्रेष्ठलाई १२ मतले हराए। प्रदेश सभा ‘ख’ मा देउवा गुटका सभापति उमेदवार रामचन्द्र केवट (चन्दु) ले विनोद पाण्डेलाई १ सय ४३ मतले हराए।
मत परिणामअनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनमा भने दुवै गुटले १/१ वटा क्षेत्र जित्न सकिने देखिएको छ। जसअनुसार क्षेत्र नं. १ मा देउवा इतर गुटले जित्ने देखिएको छ। त्यस क्षेत्रमा सो समूहको १ सय ७९ मत बढी देखिएको छ। त्यस क्षेत्रमा देउवा गुटबाट अशोकजंग राणा र इतर गुटबाट मुकुल आचार्यलाई उमेदवारमा अघि सारिएको छ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा देउवा गुटले जित्ने देखिएको छ। त्यस क्षेत्रमा सो गुटको १ सय ३१ मत बढी देखिएको मत परिणामले देखाएको छ। त्यस क्षेत्रमा देउवा गुटबाट माधव पाण्डे र इतर गुटबाट नरेन्द्र कुमार गुप्तालाई उमेदवारमा अघि सारिएको छ। गुप्ता रामग्राम नगरपालिकाका मेयर हुन्।
जिल्लामा भने देउवा इतर गुट नै बलियो देखिएको छ। प्रदेश सभा क्षेत्रीय अधिवेशनको मतले उक्त गुट देउवा गुटभन्दा ४८ मतले अघि देखिएको छ। दुवै गुटले जिल्ला सभापतिको उमेदवारसमेत घोषणा गरिसकेका छन्। देउवा गुटबाट शिक्षक संघका पूर्व अध्यक्ष मोहन शर्मा र इतर गुटबाट वर्तमान जिल्ला उपसभापति अर्जुनकुमार पोखरेललाई सभापतिमा अघि सारिएको छ। यद्यपी सभापतिका लागि महाधिवेशन प्रतिनिधिमा चयन हुनु पर्ने प्रावधान कांग्रेसको विधानमा छ।
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन मंसिर ६ र जिल्ला अधिवेशन १० गतेलाई तोकिएको छ। यी सबै निर्वाचनका मतदाता वडाबाट चुनिएका क्षेत्रीय प्रतिनिधिहरु हुन्। जिल्लामा कुल १३ सय ३८ जना मतदाता छन्।