विद्यालयमा संक्रमणरहित वातावरण
केही दिन अगाडि फेसबुकमा राखिएको एक स्टाटसले मन चसक्क भयो। एउटी बहिनीले आफ्नो छोरालाई विद्यालय पुर्याएको फोटो पोस्ट्याउँदै लेखेकी थिइन्, ‘आज छोरालाई भारी मनले विद्यालयमा छाडियो।’ दसैं, तिहार र छठलगायतका चाडपर्व सकिएलगत्तै अधिकांश विद्यालयले भौतिक रूपमै पठनपाठन सुरु गरिसकेका छन्। विद्यालयको पोशाक लगाएर गह्रुंगो झोला बोकी विद्यार्थी सबेरैदेखि विद्यालय जान थालेको यत्रतत्र देखिन्छ। कोरोना महामारीका कारण लामो समय घरमै बसेर अनलाइन कक्षा लिएका बालबालिकामध्ये कतिपयले विद्यालय जान अल्छी मानिरहेका थिए। कतिपय भने उत्साहित भएरै विद्यालय जान थाले।
छोराछोरी विद्यालयमै प्ुगेर पढ्न थालेपछि अभिभावक पनि दंग परेका छन्। तर यो खुसीसँगै अधिकांश अभिभावकमा कोरोनाप्रतिको डर उत्तिकै छ। हालै मुस्ताङको एक विद्यालयमा दुई विद्यार्थी र दुई शिक्षकलाई कोरोना संक्रमण देखिएपछि विद्यालय पुनः बन्द भएको समाचारले अभिभावक झन् सशंकित भएका छन्। भर्खर विद्यालय जान थालेका छोराछोरीलाई जतिबेला पनि संक्रमण हुन सक्छ भन्ने चिन्ता छ। त्यही चिन्ताले भारी मन हुँदाहुँदै पनि नानीबाबुलाई विद्यालय पुर्याउन अभिभावक बाध्य छन्। लामो समयको अनलाइन कक्षा त्यति प्रभावकारी नभएको विद्यार्थी स्वयंले अनुभव गरेका थिए। अझै साना बालबालिकालाई त पढ्ने डिभाइस अगाडि आधा घण्टा टिकाइराख्नु अभिभावकका लागि ठूलो चुनौती बनेको थियो। यस्तो अवस्थामा विद्यालयहरू भौतिक रूपमै सञ्चालनमा आउनु र विद्यार्थीले कक्षाकोठामै गएर पढ्न पाउनु अत्यन्तै राम्रो पक्ष हो।
भर्खर विद्यालय जान थालेका छोराछोरीलाई जतिबेला पनि संक्रमण हुन सक्छ भन्ने चिन्ता छ। त्यही चिन्ताले भारी मन हुँदाहुँदै पनि नानीबाबुलाई विद्यालय पुर्याउन अभिभावक बाध्य छन्।
यद्यपि योसँगै विद्यालयमा विद्यार्थीको व्यवस्थापन कसरी गरिन्छ भन्ने विषय पनि महत्त्वपूर्ण हुन आउँछ। विद्यालयले प्रयोग गर्ने स्कुल बसदेखि कक्षा कोठा, खाना खाने हलदेखि खेल्ने ग्राउन्डलगायतका सबै संरचनामा विद्यार्थीको भौतिक दूरीलाई ध्यानमा राख्नु जरुरी छ। विद्यालयमा हुने सीमित स्रोत र साधनले गर्दा विद्यार्थीबीचको भौतिक दूरीलाई ध्यान दिन सकिएन भने संक्रमण पुनः ह्वात्त नबढ्ला भन्न सकिन्न। पहिलो चरणको कोरोना संक्रमण घटेपछि केही समयका लागि विद्यालय सञ्चालन भएका थिए। त्यतिबेला बाटोमा गुड्दै गरेका स्कुल बसमा विद्यार्थी कोचाकोच देखिन्थे। विद्यार्थीलाई मास्क अनिवार्य गरिए तापनि उनीहरूको मास्क कि चिउडोमा कि बल्लतल्ल मुखसम्म ढाकिएको हुन्थ्यो। चालक र सहचालक नजिकै बसेका विद्यार्थी त मज्जाले उनीहरूसँग मास्कबिनै गफ गरिरहेका दृश्य पनि देखिन्थे। कतिपय विद्यालयका बसहरू विद्यार्थी ओसारपसारमा मात्र प्रयोग गरिन्छ। तर अधिकांश विद्यालयका बसले विद्यार्थीलाई स्कुल वा घर पुर्याएपछि पुनः सार्वजनिक यातायातको रूपमा सडकमा गुड्न थाल्छन्। यस्तो अवस्थामा गाडीलाई विद्यार्थी बोक्नु अगाडि राम्रोसँग स्यानिटाइज गरिन्छ वा गरिन्न। यसले पनि संक्रमणको जोखिमलाई निर्धारण गर्छ। विद्यार्थीलाई बस चढाउँदा वा झार्दा पनि स्यानीटाइजरको प्रयोगको व्यवस्था विद्यालयले गरिदिए अझै उत्तम हुन्छ। त्यसैगरी दिनमै सैयौं जनासँग बोलचाल र हेलमेल गर्ने चालक र सहचालकबाट पनि संक्रमणको उत्तिकै जोखिम हुन्छ। यसका लागि उनीहरूलाई अनिबार्य रूपमा मास्क र स्यानीटाइजरको प्रयोग गर्न लगाउने
विषयमा विद्यालय प्रशासनले ध्यान दिनु जरुरी देखिन्छ। विद्यालयमा दिनहुँ हुने प्रार्थना सभा, खेलकुद र अन्य अतिरिक्त गतिविधिमा पनि विद्यार्थीको भीड व्यवस्थापन गर्न रत्तिभर चुके संक्रमण पत्तै नपाई नफैलिएला भन्न सकिन्न।
जाडो निकै बढिसकेको छ। पहिलेको जस्तो विद्यार्थीलाई गुम्म कक्षाकोठामा भेडाबाख्रा जसरी कोच्ने हो भने पनि संक्रमण पुनः बढ्न सक्ने खतरा छ। बरु कक्षाकोठामा ठाउँ नभए खुला चौरमै राखेर पढाए बेस होला। राम्रोसँग खुला हावा प्रवाह नहुने कोठामा विद्यार्थी कोच्नु पनि उत्तिकै जोखिमपूर्ण छ। कक्षाकोठामा विद्यार्थी विद्यार्थीबीच, विद्यार्थी र शिक्षकबीच, शिक्षक शिक्षक र अन्य कर्मचारीबीचको दूरी कायम राख्नेमा पनि विद्यालयले मापदण्ड दय गर्नुपर्ने देखिन्छ।
हिजोआज प्रायः विद्यालयले विद्यालयमै खाना खाजा अनिवार्य गरेका छन्। यसका लागि अभिभावक अतिरिक्त शुल्क तिर्न तयार पनि छन्। यद्यपि खाने ठाउँमा छोराछोरी सुरक्षित छन् भन्नेमा अभिभावक अझै ढुक्क हुन सक्ने अवस्थामा छैनन्। डाइनिङ हलमा विद्यार्थीको बसाइ व्यवस्थादेखि उनीहरूले प्रयोग गर्ने भाँडाकुडा, हात धुने धारा, पुस्ने रुमाल, प्रयोग गर्ने बाथरुम लगायतसँगको सम्पर्कमा रहँदा उनीहरूलाई कसरी सुरक्षित राख्ने भन्नेमा विद्यालयले ध्यान दिनुपर्ने देखिन्छ। कतिपय विद्यार्थीले विद्यालय जान थालेपछि यस्ता विषयमा अभिभावकलाई गुनासो गर्ने गरेका छन्। यसले विद्यालयहरू खोल्न जति हतारिए, त्यही अनुरूप विद्यालय प्रशासनले सूरक्षित र व्यवस्थित पूर्वाधार निर्माणमा किन कन्जुस्याई गरे भन्ने जिज्ञासा धेरैको मनमा जाग्न सक्छ।
विद्यार्थीमध्ये केही स्वयं संक्रमित भएर निको भइसकेका छन्। कतिपयले आफ्ना प्रियजन र परिवारका सदस्यलाई कोरोनाबाट निकै दुःख पाएको देखेका छन्। कत्तिले त आफन्त र प्रिय मान्छे गुमाएका समेत होलान्। यी विभिन्न परिस्थितिको सामना गरेका विद्यार्थीको मानसिकता बुझेर शिक्षकशिक्षिकाले उनीहरूप्रति गर्ने व्यवहार परिवर्तन गर्नुपर्छ। यस्तै कारणले गर्दा कतिपयको मनमा कोरोनाको त्रास गडेको छ। यसले गर्दा क्षणभर पनि मास्क खोल्न डराउने पनि धेरै छन्। यसरी बिहानैदेखि बेलुकीसम्म मास्क लगाइराख्दा विद्यार्थीको श्वासप्रश्वास प्रणालीमा असर पुग्न सक्छ। अझै विशेषगरी साना कक्षाका विद्यार्थीलाई दिनभरी मास्क लगाउनु उनीहरूका लागि सजायसरह नै होला। त्यसैले कक्षाकोठामा विद्यार्थीको बसाइमा यथेष्ठ भौतिक दूरी कायम राख्नु पहिलो आवश्यकता हो। त्यसैगरी, भेन्टिलेसनको राम्रो व्यवस्था गर्न सकेमा शिक्षकशिक्षिकाले नै साना विद्यार्थीलाई कति खेर मास्क लगाउने र कतिखेर खोल्ने भन्नेमा निरन्तर निगरानी र सुझाव दिनु उपयुक्त देखिन्छ।
कोरोनाले बालबालिकामा मनोवैज्ञानिक त्रास सिर्जना गरेको छ। यसबाट उनीहरूलाई बाहिर निकाल्न मनोसामाजिक परामर्श दिनु उत्तिकै जरुरी छ। यसका लागि स्थानीय तहले तालिमप्राप्त मनोसामाजिक परामर्शदातामार्फत बालबालिकामाझ मनोसामाजिक परामर्शको अभियान सञ्चालन गर्न सके बढी प्रभावकारी हुन सक्छ। विद्यालयले पनि मनोसामाजिक परामर्शका कार्यक्रमहरू सञ्चालन गरी विद्यार्थीको मनको डर हटाउनुपर्छ। अनि मात्र उनीहरूको सिकाइ स्तरमा वृद्धि हुनुको साथै समग्र स्वास्थ्यमा सुधार आउनेमा दुईमत नहोला।
लामो समयदेखि थलिएको शैक्षिक क्षेत्र उकास्न र विद्यार्थीको सर्वांगीण विकास गर्न विद्यालयमा उनीहरूको भौतिक उपस्थितिले ठूलो भूमिका खेल्छ। तर विश्वव्यापी रूपमै कोरोना संक्रमितको संख्या बढिरहेको र मृत्युको संख्या ५० लाख नाघिसकेको अवस्थामा विद्यालयहरूको सानो लापरबाहीले पनि पुनः पहिलेकै परिस्थितिमा फर्कनु नपर्ला भन्न सकिन्न। त्यसैले विद्यार्थीलाई शैक्षिक व्यवसायको एउटा माध्यम मात्र नठानी भोलिका सच्चा कर्णाधारका रूपमै व्यवहार गरौं। माया गरेरै उनीहरूका व्यवहार र आचरणमा परिवर्तन ल्याउँ। जसरी घरमा आमाबाबुले आफ्ना नानीबाबुलाई सुरक्षित राख्न हरसम्भव प्रयास गरे। त्यसरी नै विद्यालयले पनि विद्यार्थीलाई कोरोना संक्रमणबाट जोगाउँदै शिक्षा दिने काममा आफ्नो ब्यवस्थापनलाई चुस्त दुरुस्त राख्नु समयको माग हो।
लामो समयको अनलाइन अध्ययन अध्यापनपछि भौतिक रूपमै विद्यालय सञ्चालनको जिम्मा नेपाल सरकारले स्थानीय सरकारलाई नै दिएको छ। तर स्थानीय, प्रदेश र संघीय सरकारबीच बालबालिकालाई कोरोनाबाट सुरक्षित राख्न प्रभावकारी समन्वय संयन्त्रको स्थापना भने अझै हुन सकेको छैन। नेपाल सरकारले पनि हालसम्म कोरोनाबाट बालबालिकालाई सुरक्षित राख्न बालअधिकार व्यवस्थापन मापदण्ड र निर्देशिका बनाएको छैन। कोरोनाका कारण धेरै बालबालिकाले विद्यालय छाडेका छन्। यस्ता बालबालिकालाई पुनः विद्यालय फर्काउन तीनै तहका सरकारले ठोस योजना बनाउनु जरुरी छ।
कतिपय स्थानीय सरकारले विद्यालयमा बालबालिकालाई दिँदै आएको दिवाखाजा कार्यक्रमको बजेटसमेत अन्यत्रै रकमान्तर गरेका छन्। विद्यालयमा दिवा खाजा नपाउँदा पनि कतिपय विद्यार्थीले विद्यालय छाड्ने गरेका केही अध्ययनले देखाएको छ। त्यसैगरी विद्यालयमा दिवाखाजामार्फत पौष्टिक आहाराको मात्रा पुर्याइरहेका गरिब, विपन्न तथा लक्षित समुदायका बालबालिका कोरोनाका कारण विद्यालय बन्द भएपछि पुनः कुपोषणको दुष्चक्रमा फस्न पुगेका बालबालिकासम्बन्धी काम गर्ने एक संस्थाले हालै गरेको अध्ययनले जनाएको छ। कोरोनाबाट प्रभावित यस्ता बालबालिकाको हितमा सरकारी र गैरसरकारी स्रोतको प्रभावकारी परिचालन हुन नसकेको पनि उक्त अध्ययनको निष्कर्ष छ।
त्यसैले कोरोनाबाट बालबालिकाको समग्र सुरक्षाका लागि तीनै तहका सरकारले आवश्यक समन्वय र सहकार्य गर्ने स्पष्ट निर्देशिका निर्माण गर्नु जरुरी छ। कोरोनाले सबैभन्दा धेरै असर पारेको सिमान्तकृत, अपांगता भएका, दुर्गम क्षेत्रका, सुविधाविहीन र गरिब परिवारका बालबालिकालाई लक्षित गरेर तीनै तहका सरकारले बजेट विनियोजन गर्नुका साथै विभिन्न कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ। जोखिम न्युनीकरणका लागि स्थानीय स्तरमा निरन्तर सूचना प्रवाह, घर परिवार र समाजभित्र स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्न निरन्तर खबरदारी गरिनुपर्ने उत्तिकै जरुरी देखिन्छ।
कोरोनाका कारण विश्वभरका विद्यार्थीको शिक्षामा प्रभाव परेको छ। बालबालिकाको क्षेत्रमा काम गर्ने विश्वब्यापी संख्या युनिसेफको गत सेप्टेम्बरसम्मको तथ्यांक अनुसार विश्वभरका विद्यालयका बालबालिकाले कोरोना महामारी र त्यसपछिको लकडाउन सुरु भएदेखि व्यक्तिगत रूपमा सिकाइको अनुमानित १.८ ट्रिलियन घण्टा गुमाएका छन्। हाल विश्वमा अझै ८ प्रतिशत विद्यालय पूर्ण रूपमा बन्द छन्। १९ प्रतिशत विद्यालय आंशिक रूपमा बन्द छन्। ४५ प्रतिशत पूर्ण रूपमा खुला छन् भने २७ प्रतिशतमा वार्षिक परीक्षापछिको बिदा रहेको छ।
दक्षिण एसियामा २५ प्रतिशत विद्यालय पूर्ण रूपमा बन्द छन् भने ६३ प्रतिशत आंशिक बन्द र १३ प्रतिशत पूर्ण रूपमा खुला छन्।