‘कहिलेसम्म आश्वासन मात्रै ?’
चितवन/दाङ : माडीका निर्मल सापकोटाले १६ वर्षअघि बम बिस्फोटमा पाँच वर्षको छोरासहित श्रीमती गुमाए। बाँदरमुढेमा सार्वजनिक बसमा बिस्फोट हुँदा घटनास्थलमै ज्यान गयो। छोराको खुट्टा भाच्चिएपछि उपचारका लागि बसमा काठमाडौं जानेक्रममा दुवै बिस्फोटमा परेका थिए। मृत्युको खबरपछि सापकोटा बेहोस भए।
बस चढेका ४ सेनालाई लक्षित गरेर माओवादीले २०६२ जेठ २३ गते बिस्फोट गराएको हो। त्यो घटनाले अहिले पनि उनको आँखा रसाउँछ। तरपुरमा भेटिएका उनी घटना सम्झेर बेस्सरी रोए। परिवार गुमाएको पीडा त छँदैछ। न्यायका लागि भएको आनाकानीले उनको मन छियाँछियाँ भएको छ। ‘परिवार गुमाएको पीडा भनेर साध्य छैन। दोषीलाई कारबाही भएको छैन। मृतकका परिवारलाई रोजगारी, पीडितका परिवारलाई शिक्षाको व्यवस्था गर्ने भनियो। केही भएको छैन,’ उनले भने, ‘ आश्वासन मात्रै कहिलेसम्म ? न्याय त मुखले मात्रै हो।’
बाँदरमुढे पीडितलाई न्याय दिने कुरा धेरै पटक भए। यसले पीडितलाई झन् पीडा दिएको छ। बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष बितिसकेको छ। तर, द्वन्द्वपीडितले न्याय पाउन सकेका छैनन्। अम्बिका कार्कीले द्वन्द्वकालमा श्रीमान् गुमाइन्। उनले पनि हालसम्म न्याय पाएकी छैनन्। २०५६ वैशाख १९ गते प्रहरी जवान ओमबहादुर कार्कीको गस्ती हिँडेका बेला सर्लाहीमा एम्बुसमा परेर मृत्यु भएको थियो। त्यतिबेला छोरी वर्ष दिनकी थिइन्। १३ वर्षसम्म छोरीले आफ्नो बुवाको बारेमा थाहा पाइनन्। यो घटनाले उनको मनमा खाटो बसेको छ। राज्यले उचित व्यवस्थापन गर्न नसकेको उनको दुखेसो छ। ‘कैयांै पटक मन्त्रालय धायौं। तर, न्याय पाएनौं’, उनले भनिन्, ‘जसको सहारामा बाँचेका थियौं। उहाँ नै नभएपछिको दुःख त कति हो कति छ। राज्यले उचित न्याय दिन सकेको छैन।’
२०६३ मंसिर ५ गते माओवादी र नेपाल सरकारबीच बृहत् शान्ति सम्झौता भयो। अझै पनि शान्ति प्रक्रिया टुंगिएको छैन। द्वन्द्व अवधिका घटनाका बारेमा सत्य निरूपण र मेलमिलाप कायम गर्ने तथा बेपत्ता व्यक्तिहरूको खोजी हुन सकेको छैन। राज्य र विद्रोही दुवै पक्षबाट जनता पीडित भएका छन्।
द्वन्द्वमा राज्य पक्षबाट श्रीमान् गुमाएकी माओवादी चितवनकी नेतृ संगीता भट्टराई पीडितले चाँडो न्याय पाउनुपर्ने बताउँछिन्। ‘विद्रोहीले गरे पनि राज्यले गरे पनि पीडा सबैको साझा हो’, उनले भनिन्, ‘शान्ति सम्झौता भएको लामो समय भइसक्दा पनि घाउ बोकेर हिँड्नु परेको छ। द्वन्द्वले दिएको घाउ पीडितका लागि नमेटिने गरी खाटो बसेको छ।
द्वन्द्वकालमा चितवनमा ३ सय ३७ ले ज्यान गुमाए। दाङका द्वन्द्वपीडितले आश्वासनभन्दा पनि न्याय चाहिएको बताएका छन्। द्वन्द्वको नेतृत्वकर्ता सत्तामा जाँदासमेत राहत नपाएको र पीडामै रहिरहनु परेको पीडितको गुनासो छ। ‘पटक–पटक निको भएको घाउ कोट्याएर रुवाउने काम मात्रै भइरहेको छ। सक्नुहुन्छ न्याय दिनुहोस् घाउमा मलम लगाउनुहोस्,’ दंगीशरणकी गीता पौडेलले भनिन्, नत्र झुटा आश्वासन छाडिदिनुस्।’
बलेको घाउमा तेल नथप्न आशा चौधरीको आग्रह छ। द्वन्द्वकै कारण आफू यौन हिंसामा परेको, प्रहरीको हिरासदमा बस्दा पढ्नबाट बञ्चित हुनु परेको गुनासो गरिन्।‘बितेको कुरा नकोट्याउनुहोस्। पहिले काम गरेर देखाउनुहोस्।’ ‘पीडा बिर्सेर समाजमा घुलमिल भइरहेको अवस्थामा फेरि पीडा कोट्याउने मात्रै काम भइरहेको छ’, सत्य निरुपण आयोगका पदाधिकारीसँग उनले भनिन्, ‘यसको साटो न्याय दिन सक्नुपर्छ।’
उनले आयोगप्रति कत्ति पनि विश्वास नरहेको बताइन्। आयोगले निष्पक्ष रूपमा आफ्ना काम कारबाही अघि बढाएको प्रवक्ता गंगाधर अधिकारीले बताए। उनले ६५ हजार द्वन्द्वपीडितका लागि कार्ययोजना बनाएर काम गरिरहेको बताए।