‘जेठो विद्यालय संरक्षण गर्नु सबैको दायित्व’

‘जेठो विद्यालय संरक्षण गर्नु सबैको दायित्व’

मटिहानी (महोत्तरी) : राष्ट्रपति विद्यादेवी भण्डारीले देशभर शिक्षाको ज्योति छर्न देशकै जेठो राजकीय संस्कृत माविको महत्वपूर्ण योगदान रहेको बताएकी छन्। 

‘‘शैक्षिक जागरणका अग्रदूत बालागुरु षडानन्दले समेत अध्ययन गरेको यस शैक्षिक केन्द्रको संरक्षण र सम्बर्द्धन गर्नु हामी सबैको जिम्मेवारी हो। र, राष्ट्रिय दायित्वको विषय हो’, राष्ट्रपति भण्डारीले सोमबार भनिन्, ‘यो प्राचीन गुरुकुलले तराई, पहाड र हिमालको भूगोल सम्बन्धलाई सामाजिक सद्भाव तथा भावनात्मक रूपमा जोड्ने कामसमेत गरिरहेको छ। त्यसैले मटिहानी भूमि प्राचीन ज्ञानभूमि, तपोभूमि हो। यहाँको विकासबारे राज्यले ध्यान दिनुपर्छ।’

महोत्तरीको मटिहानीस्थित यो विद्यालय गुरुकुलका रूपमा विसं १७७५ मा स्थापना भएको हो। ३०३ वर्ष पुरानो विद्यालयको राष्ट्रपति भण्डारीले अवलोकन गरेकी हुन्। मटिहानीको शिक्षा, संस्कृति, पौराणिकताबारे अन्नपूर्ण पोस्ट्ले यसअघि खोजी समाचार प्रकाशन गरेको थियो। यससँगै राष्ट्रपति भण्डारीको मटिहानीको अवलोकन भ्रमण भएको हो। राष्ट्रपतिले विद्यालयको जीर्णोद्धारमा राज्यले ध्यान दिनुपर्ने धारणा व्यक्त गरिन्। अष्टाबक्र, याज्ञवल्कय, गार्गी र मैत्रीजस्ता विद्वान् विदुशीले मटिहानी भूमिमा साधना गरेको इतिहास रहेको राष्ट्रपतिले बताइन्।

भण्डारीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट विद्यालय विकासमा सहयोग गर्ने आश्वासन दिइन्। विद्यालयको विकासका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा प्रस्ताव पेश गर्न प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेललाई उनले निर्देशन दिइन्। यहाँ कक्षा ८ देखि १२ सम्म  १ सय ५० बटुक अध्ययनरत छन्।

यहाँ पहिलो पटक राष्ट्र प्रमुखको आगमनलाई विद्यालयले महत्वपूर्ण उपलब्धि भनेको छ। बटुक र गुरुहरू मिथिलाको परम्परागत पोसाकमा सजिएका थिए। 

उनीहरू शंख बजाउँदै स्वस्तिवाचन गरेर मधुर स्वरमा राष्ट्रपति भण्डारीको स्वागत गरेका थिए। विद्यालयले राष्ट्रपतिलाई अभिन्दनपत्र प्रदान गरेको थियो। 

यो विद्यालय संरक्षणको पर्खाइमा छ। ‘यसको भौतिक संरचना जति पुरानो छ त्यसभन्दा इतिहास बलियो छ’, प्रधानाध्यापक पौडेलले राष्ट्रपतिसमक्ष भने, ‘यो विद्यालय मात्र होइन मिनी नेपाल हो। नेपालका ६ प्रदेश, २७ जिल्लाका १ सय ५० विद्यार्थी गुरुकुलमा पढ्छन्। मटिहानी बाहिरका ६० जना छन्। उनीहरू होस्टलमा बस्छन्। के पहाडी, के हिमाली, के मधेसी सबै मिलेर बस्छन्, खान्छन्, पढ्छन्।’ आम्दानी कहीँ कतैबाट नहुने भएकाले विद्यालय भिक्षाटनबाट चलिरहेको उनले बताए।

रामलला दास (तस्मैया बाबा)का शिष्य जयकृष्ण दासले संस्कृत पाठशालाको नामले स्थापना गरेको इतिहास छ। राज गुठीअन्तर्गतको लक्ष्मीनारायण मठका मान महन्थ थिए तस्मैया बाबा। शिक्षा विभागको तथ्यांकमा भने यो विद्यालयको स्थापना वि.सं. १८६८ मा भएको उल्लेख छ। शिक्षा सेवा आयोगको प्रश्नमा नेपालको पहिलो विद्यालय कुन हो भनेर २०७२ सालबाट सोध्न थालिएको छ। उत्तरमा राजकीय संस्कृत मावि मटिहानी हो भनेर जवाफ दिइन्छ। जुन गुरुकुल १५ कट्ठामा फैलिएको छ। 

गुरुकुलको एउटा कोठाको छत गत साउनमा खसेको छ। जुन १२० वर्ष पहिले निर्माण गरिएको थियो। विद्यार्थी पढिरहेको बेला छात्रावास कोठाको छत खसेको हो। मानवीय क्षति भने भएको थिएन। पुरानो संरचनालाई बचाउन ज्ञानलाई विज्ञानसँग जोड्न प्रविधि प्रयोगको खाँचो रहेको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बताए।

अंग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक गरी पाँच सय पूर्णांक अनिवार्य छ। जनसंख्याको बदला अनिवार्य संस्कृत भाषा पढाइन्छ। ब्राह्मण बटुकहरू देव तथा पितृकार्यका लागि कर्मकाण्ड पढ्छन् भने अन्यले ऐच्छिक गणित र शिक्षा पढ्छन्। ८ सय पूर्णांकमा वेद, ज्योतिष, व्याकरण, साहित्य, न्याय, दर्शन पाँचमध्ये एउटा विषय रोज्न पाइन्छ। कक्षा १२ पास गरेपछि नजिकै रहेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठमा संस्कृतकै शास्त्री र आचार्य अध्ययन गर्न जान्छन्।

राष्ट्रपतिले सोमबारै मटिहानीस्थित साढे ५ सय पुरानो लक्ष्मीनारायण मठको सोमबारै अवलोकन गरिन्। लक्ष्मीसागरमा आरतीमा सहभागी हुँदै उनले मठभित्र रहेको लक्ष्मीनारायण मन्दिरमा पूजा गरिन्। जनकनन्दनी सीताको पावनभूमि रहेको मिथिला सबैको प्रेरणाको स्रोत मटिहानी रहेको उनको भनाइ थियो। उनले सोमबार दिउँसो ऐतिहासिक, पुरातात्विक जलेश्वरनाथ महादेव मन्दिरको दर्शन गरिन्। जलेश्वरनाथ महादेव मन्दिर मिथिलाका राजाजनकको इष्ट देव हुन्। 

राष्ट्रपतिले नगरपालिकाद्वारा निर्मित मटिहानी रंगशालाको उद्घाटन गरिन्। उनले खेल मानव जीवनको अभिन्न अंग रहेको बताइन्। विद्यार्थी र युवाको खेल क्षेत्रप्रति बढ्दो आकर्षणलाई रंगशालाले सहयोग पुर्‍याउने विश्वास उनले व्यक्त गरिन्। बालविवाह, बोक्सी प्रथा, अनमेल विवाह र अशिक्षा प्रदेश २ को विकासमा चुनौती रहेको उनको भनाइ थियो। उनले अन्नको भण्डार मधेस उर्वर रहेको तर चुरे दोहनले संकटमा पर्दै गएको बताइन्। चुरेको संरक्षण गर्नुनै मधेसको संरक्षण हुने उनको भनाइ थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.