सुर्खेतमा इन्धन भण्डारण डिपो निर्माण हुँदै
सुर्खेत : कर्णालीमा इन्धनको आपूर्तिलाई सहज बनाउन भण्डारण डिपो स्थापना गरिने भएको छ। हाल कर्णालीमा ठूलो क्षमताको भण्डारण डिपो छैन। यसले गर्दा एकदिन मात्र इन्धन आपूर्ति नहुँदा कर्णालीमा इन्धनको अभाव हुन्छ। यही समस्याको समाधानका लागि सुर्खेतमा ६ लाख लिटरभन्दा बढी क्षमताको इन्धन (डिजेल/पेट्रोल) को भण्डारण डिपो निर्माण गर्न लागिएको हो।
नेपाल आयल निगमको प्रादेशिक कार्यालय सुर्खेतका अनुसार ६ लाख ४० हजार लिटर क्षमताको भण्डारण डिपो स्थापना गर्न लागिएको हो। वीरेन्द्रनगरको एयरपोर्टस्थित प्रादेशिक कार्यालय परिसरमै उक्त भण्डारण डिपो स्थापना गरिनेछ। ‘चार लाख २० हजार लिटर डिजेल र २ लाख १० हजार लिटर पेट्रोल भण्डारण गर्न मिल्नेगरी डिपो स्थापना हुँदैछ’ नेपाल आयल निगमको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख राजकुमार केसीले भने, ‘दुई/तीन महिनाभित्र डिपो स्थापनाको प्रक्रिया सुरु हुन्छ।’
डिपोमा सुर्खेतलाई हप्ता दिनसम्म पुग्ने इन्धन भण्डारण गर्न सकिने केसीले बताए। तीन महिनाभित्र शिलान्यास गर्नेगरी तयारी भइरहेको उनको भनाइ छ। ‘सुर्खेतमा डिपो स्थापना गर्ने पक्कापक्की भइसकेको छ’ उनले भने । डिपो स्थापनाका लागि केन्द्रीय टोलीले स्थलगत अध्ययन गरेर फर्किएको छ। टोलीले इन्धन डिपो अपरिहार्य रहेको निष्कर्ष निकाल्दै स्थापनाको प्रक्रिया अगाडि बढाइसकेको छ। निगमले एक वर्ष अघिदेखि कर्णाली प्रदेशलाई पुग्नेगरी इन्धन डिपो राख्ने तयारी थालेको थियो। जसका लागि निगमले कार्यादल नै बनाएर अध्ययन थालेको थियो। इन्धन आपूर्तिमा प्रदेशलाई सहज बनाउनका लागि छिन्चु वा वीरेन्द्रनगरमा डिपो स्थापना गर्नुपर्ने ठहर गरिएको थियो। छिन्चुमा डिपो स्थापना गर्दा डोल्पा, जाजरकोट, रुकुमपश्चिम र सल्यानका जिल्लाहरूलाई सहज हुने र वीरेन्द्रनगरमा डिपो राख्दा हुम्ला, मुगु, जुम्ला, कालीकोट र दैलेखलाई सहज हुने औंल्याएको थियो। सोही निष्कर्षका आधारमा निगमले वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकासँग जग्गा मागेको थियो। तर, दुबै नगरपालिकाले जग्गा उपलब्ध गराउन नसक्ने जनाएपछि निगमले कार्यालय रहेकै स्थानमा मध्यम क्षमताको डिपो स्थापना गर्न लागेको हो। कर्णालीमा इन्धनको सहज र दीर्घकालीन आपूर्तिका लागि ठूलो क्षमताको डिपो अनिवार्य छ।
निगमको प्रादेशिक कार्यालयले हाल हवाइ इन्धनसमेत वितरण गर्दै आएको छ। कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा सेवा दिने जहाज तथा हेलिकोप्टरले सुर्खेतबाट इन्धन भर्दै आएका छन्। हाल निगमसँग हवाई सेवाका लागि हप्ता दिन पुग्ने क्षमताको डिपो छ। प्रादेशिक कार्यालय परिसरकै डिपोबाट इन्धन बिक्री गर्दै आएको छ। सुर्खेतमा हाल दैनिक ९० हजार लिटर इन्धन खपत हुन्छ।