एमाले महाधिवेशन : लुम्बिनीको नारा ‘१ रोटी पेट मे २ रोटी पिठ मे’
परासी : ‘१ रोटी पेट में २ रोटी पिठ में’ नारालाई अघि सार्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुन कार्यकर्तालाई आव्हान गरेको छ। शुक्रबार चितवनमा हुने महाधिवेशनमा सहभागी हुने कार्यकर्ताको खानपानदेखि यातायातको व्यवस्थासमेत प्रदेश कमिटीले मिलाइएको प्रदेश कमिटी सचिव भूमिश्वर ढकालले बताए।
उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशबाट मात्रै ८० हजार कार्यकर्ता सहभागी हुने गरी सबै व्यवस्था मिलाइएको उनले बताए। ‘उद्घाटन कार्यक्रममा सहभागी हुने कार्यकर्ताहरु माझ ‘१ रोटी पेट में २ रोटी पिठ में’ (एक रोटी पेटमा २ रोटी झोलामा) नारालाई पुर्याएका छौं। बिहीबार साँझ घरबाट १ रोटी खाएर हिड्छन्। शुक्रबार बिहान एक रोटी खाने छन् र साँझ अर्को रोटी खाएर कार्यकर्ताहरु फर्कने छन्। त्यसका लागि यो नारा हरेक कार्यकर्तासँग पुर्याएका छौं’ ढकालले भने।
दाउन्ने सडकमा हुने जामका कारण उत्पन्न हुने कठिनाई सहज बनाउन बुटवल सडक कार्यालय र प्रहरीसँग प्रदेश कमिटीले समन्वय गरेको उनले बताए। एमालेको राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम चितवनको नारायणी किनारमा मंसिर १० गते हुँदै छ। उद्घाटन कार्यक्रममा एमालेले ५ लाख मानिस उतार्ने दाबी गर्दै आएको छ।