ओली निर्विकल्प, अरू मुख ताक्दै

ओली निर्विकल्प, अरू मुख ताक्दै

चितवन : नेकपा विभाजन भयो। एमाले र माओवादी बने। एमाले फुट्यो। नयाँ दल नेकपा (समाजवादी) थपियो। झट्ट हेर्दा टुक्रिइँदै गएको कम्युनिस्ट शक्तिको प्रमुख दल एमालेको नेतृत्व गरेका केपी शर्मा ओली भने झन् ‘शक्तिशाली’ हुँदै गएका छन्। 

त्यही भएर हुन सक्छ, ओलीले महाधिवेशनको दुई दिनअघि एउटा सन्देश दिए– ‘सहमतिका लागि म कसैलाई पनि आग्रह गर्दिनँ।’ ओलीको यो भनाइले पार्टीमा तरंग पैदा भयो। नेताहरूले भन्दै आएको ‘सहमति’को महाधिवेशनमा नेतृत्व चयनका लागि चुनाव होला त ? भन्ने प्रश्न यसले उब्जाएको छ। 

पार्टी नेताहरू ओलीकै पक्षमा खुलिरहेका छन्। ‘यो अवस्थामा अध्यक्षमा केपी ओलीको विकल्प हुने कुरै भएन। अहिलेको परिस्थितिमा ओली एमालेका लागि मात्रै होइन, देश र जनताका लागि आवश्यक हो’, एमाले नेता सुवास नेम्वाङ भन्छन्, ‘सर्वसम्मत हुनु पर्‍यो भन्ने नै हो। तर, भएन भने त चुनावमा जानै पर्‍यो नि !’

नेता नेम्वाङले चुनौतीको अवस्थामा सर्वसम्मत नेतृत्व चयन गर्दा पार्टीमा एकताको सन्देश जाने बताए। अन्तिमसम्म सहमतिकै प्रयास हुने, नत्र ‘लोकतान्त्रिक विधिमा जान सकिने’, प्रतिक्रिया दिए।  

नेकपा एमालेको महाधिवेशनको उद्घाटन सत्रका लागि तयार गरिएको मञ्च। तस्बिर : अनिल ढकाल

पार्टी सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले पनि नेतृत्वमा ओलीको विकल्प नभएको बताए।  ‘उद्घाटनमा व्यस्त छौं। नेतृत्वको विषयमा छलफल गर्न सकेका छैनौं। तर एमालेमा केपी ओलीको विकल्प छैन, उहाँलाई सर्वसम्मत नेतृत्व लानुपर्छ’, उनले भने, ‘उहाँको विषयमा विवाद छैन। सर्वसम्मत नेतृत्व चयन गर्ने भन्ने हो। यसमा लागिरहेका छौं।’ उपाध्यक्ष युवराज ज्ञवाली सहमतिबाटै नेतृत्व चयन हुनुपर्ने बताउंछन। ‘पार्टीको नेतृत्व ओलीले नै गर्ने हो,’ ज्ञवालीले भने,‘ मापदण्ड बनाएर सहमतिमा नेतृत्व चयन गर्न सकिन्छ। तर सहमतिका नाममा कसैलाई काखा र कसैलाई पाखा गर्नु हुंदैन।

हुन पनि १०औं राष्ट्रिय महाधिवेशनमा ओली यति शक्तिशाली भएका छन् कि, अध्यक्षमा भिड्न आउने जो कोही उनीसामु फिक्का जस्तै छन्। अध्यक्षमा ओली ‘निर्विकल्प’ छन्। विगतमा ‘टक्कर’ दिने माधव नेपाल र झलनाथ खनालले पार्टी छोडेका छन्। महाधिवेशन प्रतिनिधिमा ओलीको एकलौटी छ। उनको इच्छा र चाहनाअनुसार महाधिवेशन अघि बढ्ने स्थिति छ। ओलीसँग महाधिवेशनमा फरक मत वा विरोध गर्नेको संख्या नगन्य जस्तै देखिन्छ। त्यसैले, नेतृत्व चयनको १०औं महाधिवेशन ओलीमय बन्दैछ। 

एमालेमा केपी ओलीको विकल्प छैन, उहाँलाई सर्वसम्मत नेतृत्वमा लानुपर्छ । 
प्रदीप ज्ञवाली, एमाले प्रवक्ता

अध्यक्ष ओली सर्वसम्मत नेता बन्न सहमतिमा नेतृत्व चयन गर्नुपर्छ । उहाँले चाहनुभयो भने असम्भव पनि छैन । 
युवराज ज्ञवाली, उपाध्यक्ष एमाले 

सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता भंग गरिदिएपछि एमालेमा ओलीको शक्ति पुनोर्दय भएको हो। त्यसअघि माओवादी समेतको नेकपामा ओली अल्पमतमा परिसकेका थिए। संसद विघटन र मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्चले उल्ट्याइदिएको थियो। ओली ‘राजनीतिक रूपमा पनि संकट’ मा थिए। 

तर, पार्टी एकता भंगपछि एमालेमा ओलीको बहुमत पुग्दै गयो। असन्तुष्ट माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले पार्टी छोडे। त्यति हुँदा पनि ओलीले नेपाल र खनालसँग नजिक रहेका दोस्रो पुस्ताका १० नेतालाई एमालेमै राख्न सफल भए। माओवादी अध्यक्ष दाहाल निकट रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझीलगायत नेताहरूले ओलीको नेतृत्वलाई खुलेरै समर्थन जनाए, एमालेमै बसे। पार्टीको नीति र विधि पनि ओलीको चाहनाअनुसार मात्र अघि बढ्ने स्थिति सिर्जना गरे। 

एमालेले पार्टीको विधि र नीतिलाई हालै ललितपुरमा विधान महाधिवेशन गरेर टुंगो लगाइसकेको छ। १०औं महाधिवेशनको मुख्य कार्यभार भनेको ५ वर्षका लागि पार्टीको नेतृत्व चयन गर्ने हो। अध्यक्षमा ओली निर्विकल्प जस्तै छन्। उपाध्यक्ष भीम रावलले अध्यक्षमा घोषणा गरेका छन्। तर, प्रतिनिधिका अनुहार र संख्याले ओलीको जित सुनिश्चित जस्तै छ। 

पदाधिकारीका आकांक्षी भने अलमलमा छन्। महाधिवेशन उद्घाटनको अघिल्लो दिनसम्म पनि तिनले खुलेर दाबी गर्न सकेका छैनन्। उनीहरू, पार्टी अध्यक्ष केपी ओलीको संकेतको पर्खाइमा छन्। ओलीको संकेत र समर्थनबिना पदाधिकारी हुने अवस्था छैन। वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवमा आकांक्षीको संख्या ठूलो छ, तर खुल्न सकेका छैनन्। 

विभिन्न आरोह–अवरोध, विभाजन–पुनःएकीकरण, सत्ता–विपक्षको यात्रा पार गर्दै आएको एमालेले ओलीलाई निर्विकल्प नेताका रूपमा प्रमाणित गर्न उद्घाटनसत्रमा व्यापक जनसहभागिता गराउने तयारी गरेको छ। विभाजनले पार्टीलाई कुनै धक्का नपुगेको र ओलीको नेतृत्व नै सर्वस्वीकार्य भएको सन्देश दिन खोज्दैछ, एमालेले महाधिवेशनबाट। 

ओली प्रधानमन्त्री हुँदा दुई पटक संसद् विघटन गरेका थिए। दोस्रोपटक गरेको संसद् विघटनको निर्णयलाई पनि बदर घोषणा गरी सर्वोच्चले असार २८ मा संसद् पुनस्र्थापना गरेको थियो। संसद् पुनस्र्थापना भए पनि ‘संसद पंगु’ जस्तै छ। यो संसद्ले निकास दिन सक्दैन, त्यसैले चुनावमा जानुपर्छ भन्ने ओलीको तर्कलाई बल पुग्दै गएको छ। संसद् विघटन असंवैधानिक भन्दै पुनस्र्थापनाको माग गर्ने दलहरू नै संसदलाई गतिशील बनाउनेतिर लागेका छैनन्। सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले गरेको अवरोध कायमै छ। उल्टै, संसद् छलेर सरकारले अध्यादेश जारी गरिरहेको छ।

आफ्नो नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिइएको परमादेश गलत भन्ने ओलीको तर्क थियो। परमादेश दिने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको मागले न्यायालय ठप्प छ। प्रधानन्यायाधीश जबरा चरम विवादमा मुछिएका छन्। 

महाधिवेशन चितवनमा आजदेखि 
एमालेको १०औं महाधिवेशन शुक्रबार चितवनमा सुरु हुँदैछ। महाधिवेशन उद्घाटनसत्रका लागि नारायणी नदी किनारलाई झकिझकाउ बनाइएको छ। भव्य मञ्चले नारायणी नदीको स्वरूप फेरिएको छ। एमालेका झन्डा, ब्यानर र बोर्डहरूले नदी किनार भरिभराउ छ। नेता कार्यकर्ताको चहलपहल बढ्दै गएको छ। 

चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सिँगारिएको छ। हरेक चोकमा एमालेका झन्डा राखिएको छ। महाधिवेशनको सुरक्षा व्यवस्था कडा पारिएको छ। उद्घाटनसत्र प्रवेशका लागि सातवटा द्वार छन्। अति विशिष्ट पाहुनाका लागि अलग्गै द्वार छ। उद्घाटनसत्रका लागि भव्य मञ्च तयार भएको छ। करिब ५ सय जना अट्ने आकर्षक मञ्च बनाइएको छ। नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको ७२ वर्ष पुगेको उपलक्ष्यमा ७२ जना कलाकारले एकै साथ प्रस्तुति दिने कार्यक्रम छ। 

मञ्चको दायाँतर्फ १०औं महाधिवेशनको लोगो सूर्य अंकित झन्डा बोकेको गैंडाको मस्कट राखिएको छ। पार्टी सचिव एवं महाधिवेशन प्रचार समितिका संयोजक योगेश भट्टराईले तयारी सकिएको बताए। ‘हाम्रो तयारी पूरा भएको छ। उद्घाटन समारोहमा मानव समुद्रको तयारी गरेका छौं,’ उनले भने, ‘यो महाधिवेशन एकता, सहमति र पार्टी भित्रको अन्तरद्वन्द्व अन्त्य गर्ने ऐतिहासिक महाधिवेशन हुनेछ। सम्पूर्ण ढंगले एकताबद्ध बनाएर आगामी निर्वाचमा बहुमत हासिल गर्ने उद्देश्य बोकेर फर्किन्छौं।’

शुक्रबार मध्यान्न १२ बजे नारायणी नदी किनारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्दैछन्। अध्यक्ष ओली बिहीबार दिउँसो चितवन आएका हुन्। उनी सौराहा बसेका छन्। महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार चितवन आउँदैछन्। उद्घाटनको बेला ड्रोनबाट पुष्पवृष्टि गर्न लागिएको छ। महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडियालगायत देशबाट प्रतिनिधि सहभागी हुनेछन्। त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा महाधिवेशनको उद्घाटन समारोहमा आउँदै छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नआउने भएका छन्। उनको सचिवालयका अनुसार उनी ‘पूर्वनिर्धारित’ कार्यक्रममा सहभागी हुन शुक्रबार काभ्रे जानेछन्। 

चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश आएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिएका छन्। महाधिवेशनमा आउने प्रतिनिधिका लागि विभिन्न स्थानमा स्वागतद्वार बनाइएको छ। जिल्ला प्रवेश गर्ने विभिन्न नाका र जिल्लाका मुख्य राजमार्गमा करिब ५० वटा स्वागतद्वार निर्माण गरिएको एमाले जिल्ला अध्यक्ष पार्वती रावलले बताइन्। 

राजमार्गका दुवै छेउमा नेकपा एमाले र अनेरास्ववियुको झन्डा तथा ध्वजापताका राखिएको छ। महाधिवेशनलाई लक्षित गर्दै चितवनको सीमानाकाहरू मौवाखोला, मुग्लिन, पुलचोक तथा लोथरमा स्वागतद्वार बनाइएको छ। नवलपुरको गैंडाकोटसहित चितवनका विभिन्न ७ स्थानबाट र्‍याली जुलुस निकालिने एमालेले जनाएको छ। एमाले बागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले सबै तयारी पूरा भएको बताए। 

महाधिवेशनमा २ हजार १ सय ७५ प्रतिनिधि सहभागी हुनेछन्। भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनीत (१ सय ६ जना) गरी २ हजार १ सय ७५ प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशनमा १ सय ३ जना पर्यवेक्षक रहनेछन्। एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन्। 

महाधिवेशन तीन दिन चल्नेछ। बन्दसत्र शनिबारबाट सौराहाको होटल सेभेन स्टार परिसरमा हुँदैछ। बन्दसत्रका लागि हल तयारी गरिएको छ। निर्वाचनका लागि भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ। निर्वाचन आयोगले इलेक्ट्रोनिक भोटिङको व्यवस्था गरेको छ। उद्घाटनसत्रका लागि पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ। बन्दसत्रका लागि तीन सय जना परिचालित हुने छन्। ‘सबै व्यवस्थापनको तयारी सकिएको छ’, भट्टराईले भने, ‘यो महाधिवेशनले कम्युनिष्ट रक्षा भएको मुलुकको ठूलो पार्टी बनाउने गरी तयारी गरेका छौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.