सौराहाको ढुंगामा गैंडा
चितवन : अर्को पट्टी दाह्रा निकालेको हात्ती। माथिल्लो भागबाट अजिङ्गर निस्केको छ। पूर्वतर्फ फर्किएको दुर्लभ एक सिङ्गे गैंडा छ। यो देखेर मानिसहरू एकछिन अडिन्छन्। यो दृष्य देखेपछि धेरैलाई फोटो खिच्न हतारो हुन्छ। यी सब ढुंगालाई कुँदेर बनाइएका आकृति हुन्। सौराहास्थित राप्ती नदी घुम्न पुगेकालाई यी आकृतिले आकर्षित गर्ने गरेको छ।
खोलाबाट ल्याइएको आकार नमिलेको ढुंगामा कलाकार आकृति दिन कस्सिएका छन्। ६ जना कलाकार चट्टानलाई खोपेर वन्यजन्तुको आकार निकाल्न एक हप्तादेखि ग्राइन्डरको सहायताले मेहनत गरिरहेका छन्।
‘कथाले मागेको भनेझैं भएको ढुंगाको आकार हेरेर रुप दिएका हौं’, झापाको दमकबाट आएका कलाकार भक्तिराम राईले भने, ‘मानिसलाई आकर्षित बनाउन खोजेका हौं।’ ब्यावसायिक रुपमा ढुंगामा मूर्ति बनाउन खोजेको चार वर्षमा ढुंगामा वन्यजन्तुको मूर्ति बनाउन पाएको राईले बताए। कडा चट्टान भएकाले उनीहरूलाई बढी कठिन भएको छ।
एउटामा घडियाल गोही र त्यसमा चखेवाको जोडी बनाइँदै छ। ढुंगामा तल्लो तहमा रहेर संरक्षणमा खटिएर ज्यान गुमाउने चार जनाको मूर्ति कुँदिनेछ। रत्ननगर नगरपालिकाले पर्यटकीय आकर्षणका लागि ढुंगामा मूर्ति बनाउन लगाएको हो। शक्तिखोरबाट ढुंगा ल्याइएको छ। नजिकिँदै गरेको एमाले महाधिवेशनलाई लक्षित गरेर कामलाई तीब्रता पारिएको छ।
‘यहाँको नगरपालिकाले पर्यटकीय आकर्षणका लागि मूर्ति तयार गर्न जिम्मा लगाएको छ’, मूर्तिका संयोजन गरेका कलाकार लालकाजी लामाले भने, ‘हामी ढुंगाको आकार अनुसार कम्पोज गर्दैछौं। अबको केही दिनमा हेरौं हेरौं लाग्ने मूर्ति तयार हुन्छ।’
पारिपट्टी चितवन राष्ट्रिय निकुञ्ज छ। बिचमा राप्ती नदी। यही मनोरम दृष्य अवलोकन गरिरहेकाहरूको ध्यान भने राप्तीको किनारमा रहेका तीन वटा ठूला ढुंगाले तान्ने गरेको छ। यसले सौराहाको प्रचारप्रसारमा पनि टेवा पुग्ने नेचर गाइड बासु बिडारीले बताए।