जीवनको बास्ना
मैले आफ्नै ‘मष्तिष्क’ बुझेको छु ? अनि, मष्तिष्कले चलाउने मानव संरचना ? आफ्नै ‘भावना’ कति बुझेको छु ? अनि, अर्को मान्छेको ?
परमहंस योगानन्दको ‘योगीको आत्मकथा’ पढेपछि झन् ‘जीवन–जगत्’ र ‘अध्यात्मप्रति’ जिज्ञासु भएँ। जिज्ञासु यस अर्थमा कि ‘प्रेमको समजोड’लाई लिएर।
‘महसुस’ भएरै थाहा हुन आएका ‘चेतना’का झिल्का भने ‘मन’, ‘हृदय’, ‘आत्मा’, ‘परआत्मा’ अर्थात् जुनै शाब्दिक अर्थको लेपन लगाए पनि त्यहाँ छ, भित्रकतै।
चेतनाभित्र ‘म’ भन्ने मान्छे छ। र, प्रत्येक मान्छेसँग हुने ‘चेतना’ एक छ, चेतनाले निर्माण गर्ने ‘म’ भने अनेक छ। मैले यो लेख आफ्ना बुझाइहरूको विस्तार मात्र गर्न खोजेको हुँ।
निहित ‘चेतना’लाई घुलाएर तपाईंहरू समक्ष ‘सर्वत’ बनाई पेस गरेको छु। ‘घटघट’ पिउनु भो भने अवश्य ‘मन’ शीतल हुनेछ। अर्थात् ‘बोध’को चिसोपन।
ooo
म योगी हुँ। सबै योगी हुन्। अर्थात् एक–अनेकको योग। प्रत्येक जीवनजगत्का ‘कण’सँगको समजोड।
त्यसैले, ‘म छु।’ त्यसैले, ‘म हुँ।’
त्यसैले, ‘म सबैसँग जोडिएको छु’, ‘ब्रह्माण्डसँग जोडिएको छु। प्रकृतिसँग जोडिएको छु।’
जोडिनु छ, ‘सबैसँग।’ छुटिनु पनि छ, ‘सबैसँग।’
म त्यहाँ पुग्नेछु जस्ता मेरा द्रष्टा छन्। सोच छ। आचार छ। विहार छ। र छ व्यवहार।
म त्यहाँ पुग्ने छैन, जहाँ मेरा विचारका द्रष्टा छैनन्। चेतनाको विस्तार छैन। अर्थात् ‘म’ हुनुको बोध नै छैन।
यतिबेला कोरोनाले ‘म’ बुझ्न समय दिएको छ। ‘म’ बुझ्न कहाँ सजिलो छ र ? न सजिलै ‘म’ बुझिनेछ। ‘म’भन्दा खतरनाक त ‘तँ–तेरो’को बाह्य संसार माकुरोको जालोजस्तै झेलिएको छ। त्यहाँ तमाम् ‘म’ अल्झिएको छ।
‘तँ–तेरो’को जालोमा पर्नुअघि म के हुँ ? आफैंलाई मथ्नु छ। तर सजिलो छैन।
म के होइन ? आफ्नै हृदयलाई पाटपुट पार्नु छ। निचोर्नु छ। बँचेको ‘म’ नियाल्नु छ।
त्यसैले फुर्सदको सदुपयोग गर्दै परमहंसको ‘आत्मकथा’ पढ्दैगर्दा कैयौं दिन उसै झोक्राइरहें आफ्नै मनसँग। चेतनासँग।
अर्थात्, म के हुँ ? म के होइन ? मन के हो ? विचार के हो ? र, मानवीय संवेदना के हुन् ?
मैले आफ्नै ‘मस्तिष्क’ बुझेको छु ? अनि, मस्तिष्कले चलाउने मानव संरचना ?
आफ्नै ‘भावना’ कति बुझेको छु ? अनि, अर्को मान्छेको ? कि ‘भावना’को शब्द विस्तार मात्र जानेको हुँ।
‘जीवनका अनेक आयाम मथ्न समय प्रशस्तै छ’, तर अदृश्य भाइरसको त्रासमा बाँच्नुको बाध्यता नि ! झन् ‘अनिश्चितता’को डर उस्तै।
यस्तो अवस्थामा मसँग डरैडरको पोको छ। त्रासमा आफैंलाई मान्छेले कति बुझ्ला ? आफैंलाई कति मथ्ला ?
‘भविष्यको डर छ’, भित्र कतै।
‘कैयौं कुरा गुम्ने डर छ’, यतै कतै।
तर, एउटा पृथक् डर छ यतिबेला, ‘हुनुको’ अर्थात् ‘अस्तित्वको’।
ooo
‘म हुनु’ र ‘नहुनु’को अर्थ ब्रह्माण्डमा होला÷नहोला तर ‘म’ छु यतिबेला। मान्छेको स्वरूपमा। ‘मान्छे हुँ’ भन्दैमा म ‘मान्छे’ बनेर बाँचेको छु ? कठोर प्रश्न छ।
‘म छु’ भनिरहँदा जीवनका अनेक आयामलाई बुझ्ने, छिम्कने, निफन्ने र संवेदनाको फरक खुट्याउने गरेको छु ? स्वयंप्रति गतिलो ‘थप्पड’ छ।
बुझ पचाउँदै गुन्गुनाउँछु— ऋषिमुनिहरू हजारौं वर्ष पहिले जीवनजगत्का अनेक रहस्यमय गर्भ उत्खनन गर्थे। उनीहरू कुटीमा बस्थे। कुटी जंगलको छेउ हुन्थ्यो। नजिकै खोला बहन्थ्यो। सादा जीवन। सादा आहार–विहार। उच्च विचार। उच्च विमर्श। ऋषि अर्थात् ज्ञानको विशालता। जीवन जिउने कलाको उत्कृष्टता। तर, एक्काइसौं शताब्दीमा मान्छे ‘भोग्यवाद’को दास बनिरहँदा ऊ जीवनजगत्को मामुली जालोमा फट्फटाएर बाँच्दैछ।
न फुत्कन सक्छ, न उम्किन। पासोमा परेको मुसोझैं बनेको छ मान्छे, यो समय। यो त्यै पासोमा परेका ‘मान्छे’को गन्थन न हो।
ooo
‘शब्दहरू केवल खोल हुन्’, परमहंस भन्छन्। तर, शब्दले बोक्ने अर्थ। बुन्ने भावना। प्रसारित गर्ने संवेदना त शब्दभित्रका गुदी होलान् नि !
जीवनजगत्को। मान्छेले गर्ने ‘बोध’को। ‘म’को। ‘अहं’को। आत्माको। विचारको।
त्यसैले मान्छेको चेतना अहं सिद्धान्तकै ‘अहंकार’ले भरिएको सिंगो ‘म’ पो हो कि ? अर्थात्, मान्छेका ‘गुण–अवगुण’। एकअर्काको अन्तर्सम्बन्धको भाष्य।
कैलेकाँही ‘अर्को’लाई ‘बोध’ नगर्नु। प्राकृत तत्त्वलाई बुझ्ने चेष्टा नगर्नु। ‘देख्नु’ पनि पढ्नु हो भन्ने कुरा नबुझ्नु। आफैंभित्र अर्कोलाई नदेख्नु। अनि, आँखाले होइन मनले समाज हेर्न नजान्नु। हृदयले देशदुनियाँ ननियाल्नु। संस्कारको पद्दति व्यवहारले चलाउन, गोडाले पु¥याउन नखोज्नु। ‘खुसी’ मुहारले होइन, वस्तुले प्रसारित गर्नु। मीठो वचनले प्रल्हादित नगर्नु। सबैथोकको साक्षी नहुनु।
‘साक्षी’ जीवन हुनुको बोध हो। नबुझ्नु।
ooo
‘मान्छे’ बनेर तिमी बाँच्नुपर्छ।
तिमी भनेको को ? चक्षु घुमाऊ।
किनकि ‘तिमी’ मान्छे बन्न सकेको छैनौ। अभिनय त राम्रै गर्छौ। तथाकथित।
धेरैजसो समय त तिमी ‘अमान्छे’ छौ। तिमी अर्को मान्छेलाई स्वीकृत गर्दैनौ। तिम्रो हृदयमा जमेका अस्वीकृतहरूको पोकोपन्तुरो खोल्यौ भने त्यहाँ घृणैघृणा छ। असन्तुष्टि छ। आवेग छ। रिसद्वेष छ। अहंकार छ। तसर्थ, जातको नाममा ‘मान्छे’को हत्या हुनु। छोइछुतो हुनु। बलात्कार हुनु। हिंसा गर्नु। उचनीचको व्यवहार गर्नु। पढेगुनेको टोपलिनु। ज्ञानी–अज्ञानी छुट्याउनु।
तँ। तँ। र, म। म। गरिबस्नु।
ooo
प्रकृति पूर्ण छ। व्यापक छ। त्यसैले प्रकृति कसैलाई विभेद गर्दैन। दया पनि गर्दैन। प्रेम पनि गर्दैन। तटस्थ छ। आफ्नै लयमा चलायमान छ। परिवर्तनशील छ।
त्यसैले यहाँ हरेक चीजका लागि मौसम छ। आकाशमुनि हरेक उद्देश्यका लागि समय।
तर, मान्छे मात्र हो न पूर्ण छ, न अपूर्ण। ऊ आधा छ। हरेक दिन छचल्किन्छ। अधकल्चो।
ऊ स्वयं अस्तित्वको एक पूर्ण अंश हो तर जीवन ‘फक्राउने’ मौसम छैन, भन्छ। रुन्छ। घिट्घिटाउँछ।
ऊ स्वयं प्रकृतिको एक उद्देश्य हो। तर, बेलाबखत उद्देश्यहीन बाँच्छ। बाटो भुल्छ। जीवनको लयमै झुक्किन्छ। कैयौं पटक अलमलमा पर्छ।
उसलाई ती ‘वस्तु’ चाहिएको छ, जुन उसका लागि हुँदै होइन। जुन उसको हो त्यसलाई ऊ बेवास्ता गर्छ।
समय तिम्रो हो। समय जीवन हो। बाँच। खुलेर। मिलेर। सबैसँग। के समय तिमी हैन ?
आकाश पनि तिम्रै हो। तिमी स्वयं आकाश हौ। अनन्तः फैलावट। विस्तार गर आफैंलाई। तर, ऊ खुम्चिन्छ। भित्रभित्रै।
अफसोच त यो छ कि ‘म’को अहम्भित्र गुम्सिएर बाँचेको मनुवा ‘म’बाट उम्कनै सक्दैन। उम्किहाले बाह्य दुनियाँ नियाल्ने फुर्सदै हुँदैन।
त्यसैले, ऊ प्रकृतिसँग हातेमालो गर्ने ‘म’ हैन भन्छ। भौतिक दुनियाँमै रुमलिन्छ।
धेरै समय चिन्तन गर्दैन, चिन्ता मात्र गर्छ। मन्थनभन्दा बढी गन्थन गर्छ।
प्रकृतिको सापेक्ष संसारमा निरपेक्ष मूल्यको खोजी गर्छ। आफ्नो अस्तित्वको मूल्य बुझ्दैन, वस्तुको मूल्य तोक्छ। अनि, ‘खुसी’ खोज्छ।
वास्तवमै मान्छे पूर्ण हो। तर, ‘अपूर्ण’को भावना बोकेरै जीवन सकाउँछ।
ooo
ए मनुवा !
‘बास्ना’ महसुस गर्ने हो, नाक डुलाउँदै रागको पिछा गर्ने हैन, न कि हावामा खोज्ने। मान्छेको ‘जीवनपद्धति’ यस्तै छ।
बुझ्दैन– ‘सुगन्ध फूलहरूसँगै बिलाउनेछ।’
‘सुगन्धको अस्तित्त्व फूलमा छ न कि हावामा।’
‘तिम्रो अस्तित्व प्रकृतिमा छ। स्वयम्भित्र छ न कि भौतिक दुनियाँमा वा वस्तुमा।’
‘केही स्थायी छैन यहाँ’, केवल भ्रमबाहेक।
अनि, भौतारिरहन्छ– ‘आफ्नै पासविक इच्छाको दास बनी।’ ठान्छ, इच्छाकै प्राप्ति खुसी हो। त्यसैको तरंगमा बहनु जीवन हो।
हो, पक्कै पासविक भित्री इच्छामाथिको विजय कठिन छ। त्यसैले त मायावी जालोमा ‘सबै’ अल्झिएका छन्। कहिल्यै उम्कन नसक्ने गरी।
के मान्छे ‘मायावी’ जालोबाट फुत्कन सक्दैन त ?
ooo
यो वैश्य युग हो।
त्यसैले, सबै ठान्छन्– ‘पैसाले व्यक्तिलाई ‘मान्छे’ बनाउँछ।’ अर्थात्, सबथोक ‘पैसा’ हो।
‘मानप्रतिष्ठा, पद, ओहोदाले ‘मान्छे’लाई उँचो बनाउँछ।’ अर्थात्, उचनीचको वर्गीय भाव खुट्याउँछ।
मान्छे यै कुरा बुझ्दैन र भूल गर्छ। मान्छे– ‘निहित गुणको ‘बोध’ले निर्माण हुने हो न कि भौतिक वस्तुले’।
तर, सबै मान्छे ‘कुइजम’ अर्थात् ‘सम्मोहनको दास’ हुने भएकाले ऊ यसबाट कहिल्यै उम्कन सक्दैन।
जुन दिन उसले ‘सम्मोहन’को बास्ना बिर्सेर
जीवन बाँच्न जान्नेछ, त्यही दिन ऊ आफैं
‘बास्ना’ भई मगमगाउनेछ।
अब, तपाईं नै भन्नोस् ! जीवनको ‘बास्ना’ कहाँ छ ?