‘एमालेले बनाएको नीतिले मुलुक चल्छ’

‘एमालेले बनाएको नीतिले मुलुक चल्छ’

चितवन : एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले बनाएको नीति नै देशको नीति बन्ने दाबी गरेका छन्। शनिबार चितवनको सौरहामा पार्टीको १०औं महाधिवेशनको बन्दसत्र कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले देखाएको बाटो अरूका लागि पनि मार्ग निर्देशन बनेको छ। हामीले बनाएको बाटोमा देश हिँड्न बाध्य छ। सही नीति बनाउने पार्टी एमाले भएकाले हामीले बनाएको नीति नै देशको नीति बन्छ।’ 

उनले अबको नेतृत्व सही नीति र कार्यदिशा बोकेको बन्नुपर्ने भएकाले पार्टीले सोच विचार गरेर मात्रै नेतृत्व छान्नुपर्ने बताए। ‘जनताले आश गरेको पार्टी एमाले हो, यसको नेतृत्व सही विचार बोकेकाहरूको हातमा पर्नुपर्छ,’ उनले भने, ‘नेतृत्व लिन खोज्नेले म कस्तो व्यक्ति हुँ, ममा के क्षमता छ भन्ने कुरा पनि बुझ्नुपर्छ।’ एमालेको नवौं महाधिवेशनबाट आएको नेतृत्वले देशमा महत्त्वपूर्ण योगदान गरेको स्मरण गर्दै अध्यक्ष ओलीले भने, ‘हाम्रै नेतृत्वमा संविधान बन्यो, विकास निर्माणले गति लियो, देशले नयाँ नक्सा पायो अनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले ठाडो शिर बनाउन पाएको छ। यसमा हामीले गर्व गर्नैपर्छ।’

लामो इतिहास बोकेको पार्टी भए पनि समयानुकुल चलाउन सक्नु नेतृत्वको क्षमता रहेको बताउँदै उनले घुमाउरोे पारामा आफू नै सबैभन्दा सफल अध्यक्ष बनेको दाबी गरे। ‘पार्टी चलाउँछु भनेर मात्रै हुँदैन, पार्टीभित्र भइरहेका चलखेललाई बुझ्न सक्नुपर्छ। अन्य पार्टी र अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन जान्नुपर्छ। त्यो सबै कुरा मिलेर नै यसअघि हाम्रो सरकार सफल भएको थियो।’ उनले उद्घाटन समारोह ऐतिहासिक बनेकाले अब नेतृत्व छान्ने कुरामा पनि सबैले ध्यान दिनुपर्ने बताए। ‘यहाँ नेतृत्वमा को आउँछ भन्दा पनि कस्तो व्यक्ति आउँछ भन्ने कुरा महत्त्वपूर्ण हो,’ ओलीले भने। 

एमालेको नेतृत्व आफूले सम्हालेको समयमा देशको संघीय स्वरूप फरक रहेको र पार्टीको संरचना पनि त्यसैअनुरूप रहेको अवस्थामा समयानुकूल बनाउन आफूले महत्त्वपूर्ण योगदान दिएको बताउँदै उनले देश र पार्टीलाई सँगै दौडाउन सहज नभएको बताए। ‘यो समयमा सम्पूर्ण राजनीतिक दल शन्तिको मार्गमा आएका छन्। यो सबैभन्दा ठूलो उपलब्धि हो। लोकतन्त्रको वास्तविक परिभाषा नेकपा एमालेले गर्दै आएको छ,’ उनले भने। ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्नुको अर्थ सामान्य नरहेको बताएका अध्यक्ष ओलीले यसको भाव अन्य दलले नबुझ्ने र यो नारालाई सार्थक बनाउने दायित्व पनि एमालेकै रहेको बताए। एमालेले बनाएको योजना र सपना सबै साकार भएको दाबी ओलीको थियो। नेपाललाई विकसितको सूचीमा पुर्‍याउने पार्टीको योजना पनि आफ्नै पालामा साकार पार्ने बताए। 

अहिलेको सरकार निर्माण गर्ने गठबन्धनप्रति आक्रोशित देखिएका ओलीले देशमा यो गठबन्धनले सिन्कोसमेत भाँच्न नसक्ने बताए। ‘यो सरकारमा गएर कमाउन मात्रै बनेको गठबन्धन हो। यसले देश विकासका लागि सिन्कोसमेत भाँच्न सक्दैन,’ सरकारलाई आरोप लगाउँदै ओलीले भने, ‘यो गठबन्धन सरकारले विकासलाई गति दिनुको साटो विकासका लागि बनाएका योजना र संरचना पनि भत्काएको छ।’ आँट भए आगामी चुनावमा एमालेसँग प्रतिस्पर्धा गरेर हराउन गठबन्धनलाई चेतावनी दिए। ‘हामी एक्लैे लडेर पहिलो पार्टी बन्छौं। गठबन्धनको विश्वास कसैले नगरे हुन्छ,’ उनले भने, ‘हामीले यो गठबन्धनले कति काम गर्न सक्छ नाडी छामिसकेका छौं।’ ओलीले अबको चुनावका लागि तयार भएर बस्न कार्यकर्तालाई निदेशनसमेत दिए।

अध्यक्ष ओलीले देशको भविष्य एमालेका आमनेता–कार्यकर्ताको हातमा मात्रै सुरक्षित रहने बताए। ‘म कार्यकर्ताको हातमा लोकतन्त्रको भविष्य, देशको भविष्य, आन्दोलनको भविष्य, समृद्धिको यात्रा सुरक्षित देख्छु,’ भावुक हुँदै भने, ‘त्यसैले ढुक्क भएर सुत्न सक्छु मलाई मेरा कार्यकर्ताको विश्वास छ। अब सही नेतृत्व छनोट जुनै निर्वाचनमा पनि हुन्छ।’ ओली सम्बोधन गर्दा गर्दै भावुक बनेका थिए। ‘जिन्दगीको टुंगो नहुने रहेछ। म त धेरैपटक मरेर बाँचेको हुँ। धेरैपटक अपरेसन गरेको शरीर हो। त्यसैले कति बाँच्छु थाहा छैन, अबको नेतृत्व सबल बनाउने चाहना मेरो हो,’ ओलीले भने। 

पार्टीभित्रैका केही नेता कार्यकर्ताले पार्टीलाई पटक–पटक धुलोमा पछार्ने काम गरेको बताउँदै उनले त्यस्ता नेता कार्यकर्ता आफैं बाहिरिएको र अब पार्टी झनै मजबुत बन्ने उनको भनाइ थियो। ‘एक वर्ष पनि भएको छैन। हामीलाई पार्टीबाट लखेटिएको थियो। हाम्रो पार्टीलाई धुलोमा पछारिएको थियो। तर, यति चाँडै हामी यो स्थितिमा आइपुगेका छौं। अब झनै मजबुत बन्नेछौं।’ उनले साहसी कार्यकर्ताहरूको अगुवाइ गर्ने अध्यक्ष हुन पाएकोमा आफूलाई गर्व लाग्ने गरेको बताए। ‘म आफूलाई गौरवान्वित महसुस गर्छु कि अध्यक्षका रूपमा तपाईंहरूलाई लिड गर्ने मौका पाएको छु,’ ओलीले भने, ‘तपाईंहरूले साथ नदिएको भए यो पार्टीको बेहाल हुने थियो।’ 

ओलीले अनुशासित, सुदृढ र एकताबद्ध पार्टी बनाएर मुलुकमा देखिएका चुनौतीहरूको सामना गर्दै समृद्ध नेपालको सपना पूरा गर्न आह्वान पनि गरे। ‘एमाले प्रतिपक्षमा हुनुको अर्थ हाम्रा अगाडि चुनौती थपिएको छ। तर, हामी जनादेशबाट प्रतिपक्षमा पुगेका होइनौं,’ उनले भने, ‘लोकतान्त्रिक मूल्य, मान्यता र संविधानका सीमालाई नाघेर अघि बढ्ने कोसिस भएकाले यसलाई दृढतापूर्वक प्रतिवाद गर्नु हाम्रो दायित्व हो।’

न्यायालय र राज्यका अन्य अंगहरू दुरुपयोग हुने स्थितिलाई पार लगाउँदै पुनः मुलुकको नेतृत्व गर्न हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा थियो। करिब तीन घण्टा लामो आफ्नो सम्बोधनमा ओलीले पार्टीलाई अत्यन्तै गम्भीरताका साथ सञ्चालन गर्नुपर्ने अवस्थामा आफूहरू रहेकाले विधान महाधिवेशन गरेर मुलुकका लागि आवश्यक नीति, विचार र विधिहरू तय गरेको स्मरण गरे। ‘पार्टीमा चौतर्फी घेराबन्दी र केही नेताहरूको व्यक्तिगत स्वार्थका कारण पार्टी चोइट्याउने छुद्र खेल हुँदा पनि आम कार्यकर्ताले पार्टीलाई जुरुक्कै बोकेको देखेर म खुसी छु। आम कार्यकर्ताको उत्साहित मनोबलले समृद्धिको यात्रा सुरक्षित रूपमा अघि बढ्छ भन्नेमा म ढुक्क छु। हामी एमालेहरू जनपुत्र हौँ। जनताका छोराछोरी हौँ,’ ओलीले भने। 

एमालेलाई सिध्याइयो भनेर भ्रम छरेर खुसी मनाउनेहरूलाई विधान महाधिवेशन र १०औँ महाधिवेशनको व्यापक उपस्थिति र सफलताले जवाफ दिएको जिकिर गरे। पार्टीभित्र दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकताका पक्षधरले वामपन्थीको एकता र तालमेललाई भत्काएर सरकार बनेको आरोप उनको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.