ओली ‘त्यहाँदेखि यहाँसम्म’
खड्गप्रसाद शर्मा ओली
जन्म : २००८ फागुन ११ गते शनिबार (सन् १९५२÷०२÷२३)
जन्मस्थान : इवा, तेह्रथुम
नेता, संसदीय दल, नेकपा (एमाले) : २०७० माघ २१ मा सम्पन्न निर्वाचन
संविधानसभा सदस्य : क्षेत्र नं. ७, झापा (२०७० मंसिर ४ को संविधानसभा निर्वाचन)
पहिलोपटक प्रधानमन्त्री : २०७२ असोज
---
चितवन : प्रतिस्पर्धी भीम रावललाई करिब ११ प्रतिशत मतमा सीमित गर्दै केपी शर्मा ओली दोस्रोपटक एमाले अध्यक्ष निर्वाचित भएका छन्। सर्वसम्मत बन्ने उनको पहल रावलकै उम्मेदवारीका कारण सम्भव भएन ।
मंगलबार बिहानको रातिबाट भएको मतदानमा ओलीले १,८३७ र रावलले २२३ मत प्राप्त गरे। ओलीलाई आफू अध्यक्ष बन्नभन्दा पदाधिकारी र केन्द्रीय सदस्य मिलाउन सकस थियो। पार्टीले दिएको प्राधिकारमुताबिक ओलीले ‘सर्वसम्मत सूची’ जारी गरेका थिए। अन्तत: त्यसलाई निर्वाचनकै माध्यमबाट बैधानिकता दिइयो। त्यसमध्ये पदाधिकारीमा स्वयं उनको पद अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको थियो। परिणाम भने ओलीकै छनोटमा गएको थियो। ओलीले आफूलाई मात्रै जिताएनन्, सक्रियतापूर्वक साथ दिने नेतालाई पनि टिममा ल्याए।
संघर्षका पर्याय खड्गप्रसाद
गरिब परिवारमा हुर्किएका ओलीको वास्तविक नाम खड्गप्रसाद शर्मा ओली भए पनि उनलाई राजनीतिक क्षेत्रमा केपी शर्मा ओली भनेर चिनिन्छ। २००८ साल फागुन ११ गते शनिबार तेह्रथुमको इवामा जन्मिएका उनी भविश्यमा राजनीतिक क्षेत्रमा यति शक्तिशाली हुन्छन् भन्ने कल्पना पनि गर्दैन थिए रे आमा स्व. मधु ओली र बुबा मोहनप्रसाद ओली। अहिले झापामा रहेको उनका बुबा मोहनप्रसाद ओलीको क्षमता देखेर दंग पर्छन्। चोकमा निस्किएर चिया पिउँदा मोहनप्रसादले केपीको बखान नसुनेको दिन हुँदैन। उनले अन्नपूर्णसँग भने, ‘छोरोले पार्टी मात्रै होइन देश, विदेश हल्लाएको देख्दा आनन्द लाग्छ।’ उनले थपे, ‘अब पुन: अध्यक्ष भएछ, मेरो आशीर्वाद छ।’
१४ वर्षसम्म कठोर जेल जीवन बिताएका केपी शर्मा ओली मुलुककै सबैभन्दा शक्तिशाली व्यक्तिका रूपमा पनि उदाए। दुईतिहाइ बहुमत पाएर प्रधानमन्त्रीसमेत बनेका उनले जनयुद्धबाट आएको पार्टीलाई एमालेसँग मिसाएर नेकपा बन्दाको समयमा अध्यक्षको पनि स्वाद नलिएका होइनन्। सोही स्वाद तीतो महसुस गरेकै समयमा पार्टी फुटेपछि छिन्न भिन्न भएका कार्यकर्तालाई समेटेर पार्टीलाई हिँडाएको मात्रै देखिएन दैडाएको नै विश्लेषण गर्छन् राजनीतिलाई नियालिरहेका विज्ञहरू। पार्टी राजनीतिक क्षेत्रमा घस्रिएको नभई दौडिएको उद्घोष उनले १०औं महाधिवेशनको उद्घाटन सत्रमा नारायणी किनारमा नै गर्नसमेत भ्याए।
२०२३ सालमा माक्र्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त गरेका ओलीले २०२५ सालबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्रयाक्सन कमिटीमा आबद्ध हुने मौका पाए र नेतृत्व नै सम्हालेका थिए। २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरे पनि युवा संघको संस्थापक अध्यक्ष हुने र झापामा चार महिना पार्टी सचिव हुनेबाहेक पार्टीभित्र र बाहिर लामो समय ‘फस्ट म्यान’ हुन पाएनन्। ठक्कर र पेलानले मानिसलाई परिपक्क बनाउँछ भन्ने उदाहरण दिन सफल बन्दै २०७१ असार १९–२५ मा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट नेकपा एमालेको अध्यक्ष बन्न सफल भएका हुन् केपी शर्मा ओली। नवौं महाधिवेशनमा रोगीलाई पार्टी अध्यक्ष बनाउनु हुँदैन भनेर उनकाविरुद्ध चर्को प्रचारबाजी नभएको पनि होइन। तर, पनि माधवकुमार नेपाललाई पराजित गर्दै उनी अध्यक्ष बने। त्यसपछि मात्रै पहिलो पटक प्रधानमन्त्रीमा उनी निर्वाचित भए। ओलीले सोही एक–डेढ वर्षको बीचमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने सपना पूरा गरेका थिए।
संयोग नै मान्नुपर्छ, ओलीले छोटो समयमा मुलुकको प्रधानमन्त्री भइसकेका नेताहरूलाई पार्टी भित्रका विभिन्न निर्वाचनमा पराजित गरेका थिए। संसदीय दलको निर्वाचनमा तत्कालीन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उनले पराजित गरे। त्यसलगत्तै पार्टीको महाधिवेशनमा अर्का पूर्वप्रधानमन्त्री तथा १४ वर्षसम्म पार्टी प्रमुख बनेका माधव नेपाललाई पराजित गरे। त्यसपछि मुलुकको प्रधानमन्त्री बन्ने क्रममा उनले देशका बहालवाला प्रधानमन्त्री तथा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई पराजित गरेका थिए। अहिलेको पार्टीको १०औं महाधिवेशनमा भने उनले नचाहेको चुनाव लड्न पुगे। उनका प्रतिस्पर्धी बनेका भीम रावललाई १६१४ मतले पराजित गरे।
असहज बाल्यकाल
ओली डेढ वर्षको हुँदा आमाको निधन भएको थियो। त्यस समय उनी तेह्रथुमको इवामानै थिए। उनी ४÷५ वर्षको हुँदा पिता मोहनप्रसाद बालबच्चा लिएर झापाको सुरुङ्गामा झरे। पछि कन्काइको बाढीले ओली परिवारको घर बगाइदिएपछि उनीहरू सुकुम्बासीसमेत बने। ओलीलाई केही समय बडाबा र हजुरबाले पाले। किशोरावस्थामा ओली रामनाथ दाहालका घरमा काम गरेर विद्यालय जान थाले। उनको १० कक्षासम्मको औपचारिक शिक्षा झापामै भयो।
झापा झरेका र बाल्यकालमै मातृ वात्सल्यबाट बिमुख बनेका ओली पढ्ने क्रममा रामनाथकै प्रेरणाले कलिलो उमेरमै कम्युनिष्ट बने। रामनाथ २०२९ सालमा सुखानीमा सहिद भए। गरिबीका कारण अरूको काम गरेर बस्न बाध्य बनेका ओली २०२३ सालमा माक्र्सवादी अध्ययन दलको सदस्य बनेर कम्युनिस्ट राजनीतिमा होमिएका हुन्।
पाटन निवासी राधिका शाक्यसँग विवाह गरेका ओलीका छोराछोरी छैनन्। सुरुङ्गामा बाढीले घरजग्गा बगाएपछि झापाको पृथ्वीनगरमा बसाई सरेका ओलीका पिताले सामान्य किसानले जस्तै अनेक भुक्तमान भोग्नुपरेको थियो। ओली गृहमन्त्री भएका बेला उनका पिताको घरमा आगलागी भयो। आगलागीपछि सरकारबाट क्षतिपूर्ति पाएको पैसाले उनका पिताले सामान्य बस्न लायकको घर बनाएको छिमेकीहरू बताउँछन्। गरिबी अवस्थामा बाल्यकाल बिताए पनि ओलीले राजनीतिक यात्राकै क्रममा दमक र भक्तपुरको बालकोटमा घर बनाएर आफ्नो आवासलाई व्यवस्थित गरेका छन्।
राजनीतिक यात्रा
झापा क्रान्ति नेपाली राजनीतिमा जहिले पनि चर्चित हुने एउटा राजनीतिक घटनाक्रम हो। नेपालमा कम्युनिस्ट शासन स्थापनाका लागि हतियार उठाइएको त्यो पहिलो सशस्त्र विद्रोह थियो। झापा विद्रोहमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र हतियारबद्ध संघर्ष गर्ने कि शान्तिपूर्ण संघर्ष भन्ने सवालको बहसमा ओली शान्तिपूर्ण क्रान्तिको पक्षमा थिए। तर, तत्कालीन पार्टीमा सीपी मैनाली, मोहनचन्द्र अधिकारीहरू सशस्त्र विद्रोहको पक्षमा उभिए। पार्टीको बहुमत हिस्सा ‘दुश्मनसँग नभिडे, सामन्तिलाई नगिँडे, आउँदैन जनवाद भाषण ठोकेर’ भन्ने गीत गाउँदै अघि बढ्यो। ओली त्यतिबेला १९ वर्षका थिए।
फरक मत राखेर नै पनि पार्टीको निर्णय शिरोधार्य गरी सशस्त्र संघर्षमा होमिएका ओली त्यसको तीन÷चार वर्षपछि नै पञ्चायती शासकको पञ्जामा परे। तत्कालीन नेकपा माले गठनदेखि ०४६ सम्म आइपुग्दा भएको राजनीतिक उतार–चढावमा ओलीले संगठनात्मक भूमिका खेल्न पाएनन्। किनभने उनी ०३२ सालदेखि ०४६ सालमा बहुदल आउँदासम्म लगभग १४ वर्ष जेलमै थिए। ओलीको उमेरको ऊर्जाशील समय जेलभित्रै बित्योभन्दा पनि फरक पर्दैन। जेलबाट छुट्दा ०४६ सालमा ओली निकै दुब्ला पातला देखिन्थे। जेलबाट छुटेपछि उनी पार्टीका साथीभाइसँग गाडीभाडा मागेर झापा फर्किएको बताइन्छ। आजको नेकपा एमाले झापा क्रान्तिको मूलधार हो। तर, एमालेमा झापाली क्रान्तिकारीले पार्टीको नेतृत्व सीपी मैनालीको बहिर्गमनपछि गुमाएका थिए, जुन ओलीले फर्काएको मानिन्छ।
झापा क्रान्तिका योद्धाहरू इतिहासको कालखण्डमा तितर–बितर भए। ओलीचाहिँ अनेक हन्डर ठक्कर खाएर भए पनि निरन्तर पार्टीमा रहेका नेता हुन्। मुलुकमा राजनीतिक परिवर्तन ल्याउन संघर्षमा होमिएका ओली ०३० देखि ०४४ सालसम्म १४ वर्ष जेल परे। जेलभित्रैबाट पनि उनी पार्टीको राजनीतिक काममा भने सक्रिय रहे। उनले जेलबाटै चिठीपत्रका माध्यमबाट पार्टीमा विचार प्रवाह गर्थे। जेलभित्र गम्भीर बिरामी परेर मृत्युको मुखमा पुगेका उनलाई कसरी बचाइयो भन्ने उनका राजनीतिक सहयोद्धा राधाकृष्ण मैनालीले आफ्नो संस्मरणमा लेखेका छन्।
ओलीले जेलबाट छुटेपछि ०४६ सालमा सम्पन्न जनआन्दोलनमा संयुक्त वाममोर्चाका तर्फबाट लुम्बिनी अञ्चलको मोर्चा सम्हालेका थिए। त्यसपछि उनी पार्टीमा मदन भण्डारीको दाहिने हात बनेर एकाएक उदाउन थाले। ०४९ सालमा सम्पन्न नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवाद सिद्धान्त निर्माणका सिलसिलामा मदन भण्डारीलाई उनले साथ दिए। सशस्त्र विद्रोहको विपक्षमा ०२८ सालमै मत जाहेर गरे पनि अल्पमतमा परेका ओली २० वर्षपछि बहुदलीय जनवादको नीति पारित भएपछि त्यसका प्रवक्ता बने। त्यसैले अहिले पनि ओलीलाई एमालेमा बहुदलीय जनवादको व्याख्याता भन्ने गर्छन् उनका समर्थकहरू। बहुदलीय जनवादका प्रवर्तक भने मदन भण्डारी नै हुन्।
मदन भण्डारीको दासढुंगा दुर्घटनामा मृत्यु भएलगत्तै एमालेमा नेतृत्वका दाबेदार बन्न चाहे पनि ओलीको पक्षमा माहौल बनेन। माधव नेपाल एकाएक पार्टीको नेतृत्वमा स्थापित भएपछि ओली उनको सहयोगी बने। माधव नेपालसँग ओलीको सम्बन्ध सधैं उतार–चढावपूर्ण रह्यो। पार्टीमा सधैं प्रतिपक्षी भूमिकामा रहे पनि नेपाललाई संकटका बेलामा जोगाउन ओलीले निर्णायक भूमिका खेले। तर, अहिले नेपाल उनको साथमा छैनन्।
एमालेलाई बहुपदीय प्रणालीमा लैजानुपर्छ भनेर उनले ०५९ सालमा भएको सातांै महाधिवेशनमा प्रस्ताव गरे। कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरणका सवालमा उनले प्रस्तुत गरेको त्यो कार्यक्रम पराजित भयो। तर, ०६५ सालमा ओलीकै सोही कार्यक्रम पारित भयो र एमालेमा बहुपदीय प्रणाली सुरु भयो। आज आएर नेपालका सबै कम्युनिष्ट तथा अन्य प्रजातान्त्रिक पार्टीहरूले समेत मूलनीतिका रूपमा अवलम्बन गरेको अवस्था छ। बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा ओली पार्टी अध्यक्षका उम्मेदवार थिए, तर झलनाथ खनालसँग हारे।
त्यसबेला ओलीले झलनाथ पक्षलाई माओवादी परस्त भएको आरोप लगाएका थिए। त्यसबेला ओली उग्रमाओवादी विरोधी मानिन्थे। आठौं महाधिवेशनमा माधव नेपालसँग मिलेका ओली नवौं महाधिवेशनमा चाहिँ माधव नेपाललाई हराएर अध्यक्ष बने। पार्टीको अध्यक्ष बनेपछि ओलीले एमालेलाई मजबुद बनाएको मानिन्छ। यसपटक पनि उनी निर्वाचित अध्यक्ष बने जुन उनको अध्यक्षको दोस्रो कार्यकाल हो।
पारिवारिक अवस्था
हजुरबुबा : स्व. मनरथ ओली
हजुरआमा : स्व. राममाया ओली
आमा: स्व. मधु ओली
बुबा : मोहनप्रसाद ओली
श्रीमती : राधिका शाक्य