घुससहित मालपोत प्रमुख र अमिन रंगेहात पक्राउ
चितवन : साँढे पन्ध्रलाख रुपैयाँ सेवाग्राहीबाट घुस लिएको आरोपमा इलाका मालपोत कार्यालय चनौलीका प्रमुखसहित अमिन रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका वडा नम्बर २० का अमिन वीरेन्द्रबहादुर कठायतलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले बताए।
अख्तियारको टोलीले मालपोत प्रमुख पौडेलको साथबाट मिति उल्लेख नभएको १५ लाखको दुई वटा चेक बरामद गरेको छ। त्यस्तै पैसा लिंदै गरेको अवस्थामा हातबाट ५४ हजार र सिरानीमुनि राखेको अवस्थामा एक लाख ८३ हजार रुपैयाँ बरामद गरेको छ।
अमिन कठायतलाई पाँच लाख रुपैयाँसहित घरैबाट पक्राउ गरेको हो। पौडेललाई कार्यालयभित्रै रहेको क्वाटरबाट पक्राउ गरिएको हो। उनलाई भरतपुर–४ धर्मचोक लङ्कुमा रहेको एक रेष्टुरेन्टबाट पक्राउ गरिएको हो।
कित्ताकाट गरेवापत घुस लिएको उनीहरुमाथि आरोप लागेको छ। अंशवण्डाका लागि करिब ३८ कट्ठा श्रीमती र छोराछोरीको कित्ताकाट गर्नका लागि घुस मागेका थिए। प्लटिङ गर्न लागेको भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप लगाउँदै उजुरी गरेका थिए।