इच्छाराज तामाङविरुद्ध अभियोगपत्र दायर
काठमाडौं : इच्छाराज तामाङविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ। ठगी आरोपमा पक्राउ परेका सिभिल सहकारीका पूर्व अध्यक्ष तामाङ, अध्यक्ष केशवलाल श्रेष्ठसहित ४२ जनाविरुद्ध मुद्धा दायर भएको हो।
सरकारी वकिल कार्यालयले ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार बढी बिगो दाबीसहित अभियोगपत्र दायर गरेको हो। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले ६० दिन लगाएर अनुसन्धान गरी प्रतिवेदन वकिल कार्यालयलाई बुझाएको थियो। १ हजार ५ सय बढीले प्रहरीमा उजुरी दिएका थिए।
अदालतले प्रतिवादीहरुसँग शुक्रबार बयान लिएको छ। तामाङ विशेष सुविधासहित सिभिलको सल्लाहकारका रुपमा थिए। बयान दिने क्रममा सहकारीका अध्यक्ष श्रेष्ठले तामाङको हालीमुहाली हुने गरेको बताएका छन्। श्रेष्ठको खातासमेत तामाङले प्रयोग गर्ने गरेको पाइएको छ। श्रेष्ठको बयान अनुसार तामाङले सहकारीबाट ५ लाख रुपैयाँ पारिश्रमिक बुझ्ने गरेका थिए।
तामाङले बयानका क्रममा सिभिल होम्सलगायतका कम्पनीबाट ५ अर्ब रकम सहकारीलाई तिर्न बाँकी रहेको बताएका छन्। भूकम्प र कोरोना महामारीका कारण व्यवसायमा गिरावट आएकाले संस्थालाई साँवा फिर्ता गर्न नसकेको उनले बताए। ‘म संस्थाको अध्यक्ष हुँदा संस्थाको विनियम बमोजिम संस्था र कम्पनीको सयुक्त लगानी भएकाले धितो राख्नुपर्ने आवश्यक नभएकाले धितो नराखिएको हो।’ तामाङले बयानका क्रममा भनेका छन्।
कतिपय लगानीमा धितो समेत राखिएको उनको भनाइ छ। कर्जाबापतको रकम चुक्ता गर्न बचतकर्ताको नाममा समेत घरजग्गा रजिष्ट्रेशन पारित गरी कम्पनीहरुको नाममा रहेको साँवा ब्याज रकम तिर्दै आएको र नगद रकम साँवा ब्याज रकम घटाई आएको तामाङले अदालतमा बयान दिने क्रममा बताए। ‘बचतकर्ता सदस्यहरुलाई निक्षेफ फिर्ता गर्ने मेरो व्यक्तिगत दायित्व होइन, संस्थाको हो’ उनले बयानमा भने।
सिभिल सहकारीले आकर्षक ब्याजदर र उपहारको प्रलोभन देखाइ निक्षेपकर्ता लोभ्याउने गरेका थिए। उनले सुन, घर जस्ता आकर्षक उपहारको प्रलोभन पारी सुरुमा ९ लाख र पछि १५ लाख निक्षेप संकलन गर्ने गरेका थिए
सिभिल सहकारीले विगत ३ वर्षदेखि बचतकर्तालाई निक्षेप फिर्ता गर्न सकेको छैन। तामाङ र श्रेष्ठसहित १२ जनालाई प्रहरीले गत असोज १८ गते पक्राउ गरेको थियो।
तामाङले १७ प्रतिशतसम्म ब्याज दिएर सहकारीमा निक्षेप संकलन गर्ने गरेका थिए। तीन वर्षपुगेपछि २.५ ग्रामको सुनको सिक्का दिने, आकर्षक घर उपचार दिने प्रलोभन पार्दैै निक्षेप फिर्ता नदिइ लोभ्याएर निक्षेप थप्न लगाएका थिए।
२०५७ सालबाट सुरु भएको सिभिल सहकारीबाट तत्कालीन अध्यक्ष तामाङले २०६० सालमा आफ्नो निजी कम्पनीमा ऋण लगेका थिए। २०६२/६३ सालमा हाउजिङ परियोजनाका रुपमा जग्गा खरिद गरी हाउजिङ बनाएर बिक्री गर्थे।
अभियोगपत्रमा जनाइएअनुसार तामाङले २०६३ सालमा हाउजिङ व्यवसाय गर्न सिभिल होम्स प्रालिका नाममा कम्पनी दर्ता गरी हाउजिङ परियोजना सुरु गरेका थिए। ३५ रोपनीभन्दा बढी जग्गा खरिद गर्न नपाइने हदबन्दीका कारण तामाङले २०६५ सालमा सिभिल अपार्टमेन्ट स्थापना गरेका थिए।
सरकारी वकिलको कार्यालयले तामाङ, श्रेष्ठसहित सिर्जना शाक्य तामाङ, हरिहरप्रसाद लामिछाने, सुमननन्दन वैद्य, प्रवीण मुखिया, गोपालबहादुर श्रेष्ठ अष्टरत्न तुलाधार, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर,कृष्णप्रसाद पौडेल, प्रवीणप्रसाद प्रधानलाई प्रतिवादी बनाएको छ त्यस्तै खेमनाथ डल्लाकोटी, डा इन्द्रराज हुमागाई, जयन्द्रलाल श्रेष्ठ, केशवकुमार अमात्य, डा दुर्गाप्रसाद संग्रौला, नगेन्द्र विमली, कृष्णप्रसाद श्रेष्ठ, रामराज मास्के, हरिप्रसाद रिजाल, लालकाजी गुरुङ, मीना गुरुङ, सुमन श्रेष्ठ, नारायणलाल श्रेष्ठ, प्रकाश कुमार बर्मा, सुभाषकुमार श्रेष्ठ, जीवनराज बज्राचार्य, रञ्जना महर्जन, अनु लामिछाने भन्ने अन्नपूर्ण खनाललाई प्रतिवादी बनाइएको छ। कान्तिलक्ष्मी उपाध्याय, बुद्धराज तामाङ, कौस्तुभ केतन ढुंगाना, एलिना तुलाधर, मायोनानी महर्जन, राकेश महर्जन, शंकरप्रसाद पाठक, संगिता श्रेष्ठ, बिजयबिक्रम शाही, भगवान बहादुर सिंह, प्रतिक्षा तामाङ र प्रतिष्ठा तामाङलाई पनि प्रतिवादी बनाइएको छ।