कांग्रेसको प्रथम प्रदेश अधिवेशन : स्वास्थ्य मापदण्ड पालना भएन
विराटनगर : दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट प्रति आम जनतामा चिन्ता बढिरहेको बेलामा प्रदेश १ को राजधानी विराटनरमा सुरु भएको कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा स्वास्थ्य मापदण्डको पालना नभएको पाइएको छ। स्थानीय तहले निरन्तर रुपमा स्वास्थ्य मापदण्ड अपनाउन दिनहुँ माइकिङ गरिरहेको बेलामा कांग्रेस अधिवेशनमा कुनै प्रकारको स्वास्थ्य मापदण्डको पालना भएको छैन।
बिहीबारदेखि सुरु भएको प्रथम अधिवेशनको तेश्रो दिन ८७ सदस्य प्रदेश समितिको लागि भएको मतदानमा त झनै स्वास्थ्य मापदण्डको पालना भएन। प्रदेश १ को १४ जिल्लाका एक हजार सात सय ७० सहित सयौं नेता तथा कार्यकर्ता सहभागी भएका छन्। कांग्रेसका तर्फबाट बनेका संघीय सरकारका मन्त्रीदेखि लिएर प्रदेश मन्त्रीसहित सांसद र अगुवा कार्यकर्ताको बाक्लो सहभागिता थियो। विराटनगर २ स्थित खुल्ला मैदानमा सुरु भएको मतदानमा नेता तथा कार्यकर्ताले भरिएको भए पनि अधिकांशले माक्स नलगाएको र समाजिक दुरी कायम नगरेको पाइएको छ।
दक्षिण भारतमा दुई जनामा सो भाइरसको संक्रमण देखिएपछि नेपालमा उच्च सतर्कता अपनाउनु पर्न बेलामा अधिवेशनमा देखिएको रवैयाले जोखिम बढेको अगुवाहरु बताउँछन्।
मतदान गरेपछि संक्रमित होइन्छ कि भन्ने त्राश बढेको झापाबाट आएका सुभाष लिम्बुले बताए। बुवासँगै आएका उनले भने, ‘अधिवेशन आयोजक समितिको लापरवाहीले जोखिम बढेको छ।' स्थानीय सरकारले पनि व्यवस्थापन नगरेको भन्दै उनले आक्रोश व्यक्त गरे। अर्का रमेश मेहताले खुल्ला चौरमा मतदान गरे पनि स्वास्थ्य मापदण्ड पूरा नहुनु अनुशासनहीनता भएको बताए। सबैले भोगेको र बुझेको विषय भए पनि बेवास्ता गरेर अघि बढ्नु दुर्भाग्य भएको उनले बताए।
'हल्लका रुपमा लिएकै कारण गत वर्षहरुमा कोरोनाले समास्यामा पारेको थियो', उनले भने, 'अब बेवास्ता गरे फेरि सोही परिस्थितिको सामना गर्नु पर्ने छ।'
यसअघि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गाउँ-नगर अधिवेशन र प्रदेश अधिवेशनमा कोभिड–१९ को महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह गरेका थिए। अधिवेशनबाट एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, एक महिलासहित तीन सह–महामन्त्री, हरेक जिल्लाबाट महिला १४ र खुला १४ जना सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खसआर्यबाट महिला ७ र खुला ५ सदस्य चुनिनेछन्।
त्यसैगरी जनजातिमा महिला ७ र खुला ८, मधेशी महिला १ र खुला १, दलित महिला १ र खुला २, थारु महिला १ र खुला १, मुस्लिममा खुला १, अल्पसंख्यक र अपांगमा १ र १ सदस्य गरी ८७ जनाको प्रदेश कार्यसमिति बन्ने छ।