बाघ गणना सुरु : के नेपालमा संख्या बढ्ला ?
काठमाडौं : १२ वर्षअघि नै नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पुर्याउने लक्ष्य राख्यो। तर, २०१८ को गणनामा नै संख्या २ सय ३५ पुग्यो। यो तथ्यांकलाई हेर्दा अबको गणनामा लक्षित वर्षअघि नै बाघको संख्या बढ्ने देखिन्छ। बाघ गणना आइतबारबाट सुरु भएको छ।
सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा १२ वर्षमा बाघ दोब्बर बनाउने लक्ष्य लिएको थियो। उक्त समयमा नेपालमा १ सय २० वटा बाघ थिए। २०२२ सम्ममा त्यसलाई २ सय ५० बनाउने लक्ष्य थियो, जुन सो समयमा सोच्दा चुनौतीपूर्ण लाग्थ्यो। तर, २०१८ को गणनाले नेपालमा २ सय ३५ वटा बाघ पुगेपछि नेपाल उत्साहित बनेको बताउँछन् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी वेदकुमार ढकाल। तर, अहिले बाघलाई बढाउनभन्दा पनि टिकाउन चुनौतीपूर्ण रहेको संरक्षणविद् बताउँछन्। यसको मुख्य कारण जलवायु परिवर्तन पनि हो।
जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जाँदा वन्यजन्तु प्रभावित छन्। राष्ट्रिय निकुञ्ज तथा आरक्षण क्षेत्रमा पानीका स्रोत सुक्दै गएका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी तथा इकोलोजिस्ट वेदकुमार ढकाल जलवायुको असर निकुञ्जभित्र पनि देखिएको बताउँछन्।
तस्बिर : अनिल ढकाल
ठूला नदीहरूमा समेत प्रदूषणको मात्रा बढ्दै गएको छ। राप्ती, बबईजस्ता नदीमा समेत समस्या छ। निकुञ्जभित्रका प्राकृतिक पोखरीहरू सुकेका छन्। वन्यजन्तुका लागि ठाउँठाउँमा कृत्रिम पोखरीको व्यवस्थापन गरिएको छ। यसले मोइस्चर रिजर्भेसन (ओसिलोपना जोगाउने) को काम गरेको गरिएको छ। ‘वाटर हार्भेस्टिङ पोन्ड बनाइएको छ। सोलारबाट आफैं पानी तान्ने काम भएका छन्। पहिलाको अवस्थामा पुर्याउन नसके पनि कृत्रिम स्रोतको व्यवस्थापन गरिएको छ,’ ढकालले भने।
ढकालका अनुसार पछिल्लो समय जलवायु परिवर्तनको असरले वन्यजन्तुहरूलाई प्रभाव पारेको छ। तर, यस विषयमा थप अध्ययन नभई कस्तो असर परेको भन्न सक्ने अवस्था नभएको उनी बताउँछन्। ‘उनीहरूको बानी व्यहोरा, रहनसहनको बारेमा अध्ययन गर्न बाँकी छ,’ ढकालले भने ‘के कस्तो असर परेको छ। अध्ययन भइसकेको छैन।’
बाघको बासस्थानमा परिवर्तन भएको, पानीको मुहान सुकेको, मिचाहा प्रजातिको वनस्पतिहरूको हस्तक्षेपले बासस्थान सोचेजस्तो नभएको उनले बताए। नियमित हिसाबले बासस्थान सुधार र व्यवस्थापन गर्न आवश्यक रहेको ढकाल बताउँछन्। यो गर्न नसकिए मान्छे र बाघको द्वन्द्व बढ्ने उनी बताउँछन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजस्तु विभागको तथ्यांकअनुसार नेपालमा सन् १९५० भन्दा पहिला तराई क्षेत्रमा अत्यधिक मात्रामा भएको चोरी सिकारीका कारण बाघको संख्या घटेको थियो। सन् १९५० देखि १९८० सम्म तराईमा मलेरिया उन्मूलन गर्ने क्रममा मानिसहरूको बसाइसराइ तीव्र भएको थियो। उक्त समयमा तराईका दुई लाख हेक्टरभन्दा धेरै जंगल नष्ट भएको थियो। त्यसले बाघका बसोबासमा धेरै खतरा निम्त्याएको उल्लेख गरेको छ। त्यसैगरी मानवीय अवरोध, अतिक्रमण, गैरकानुनी रूपमा भएका जंगल विनाशका कारण पनि जनावरका लागि चुनौती बन्दै गएको छ।
नेपालमा सन् १९९५–९६ मा ९३ देखि ९७ वटा वयस्क बाघ रहेको अनुमान गरिएको थियो। २००९ मा पुग्दा १ सय २१ पुगेको र २०१३ मा १ सय ९८ वटा भयो। २०१८ मा २ सय ३५ रहेको छ। यस गणनाले दुर्लभ तथा लोपोन्मुख प्रजातिका बाघ संरक्षणको अवस्था थाहा पाउने, संरक्षण र व्यवस्थापनमा प्रभावकारी बनाउन सजिलो हुने विभागको अपेक्षा छ। उक्त कार्यका पुरानै विधि टाइगर एन्ड प्रे बेस मोनिटरिङ प्रोटोकोल २०१७ ले निर्दिष्ट गरे अनुरूपका विधिहरू अपनाइनेछ।
मान्छे–बाघ द्वन्द्व
बाघको बासस्थान परिवर्तन हुँदा तथा आहार, पानी खोज्दै जाँदा मानिसहरू आक्रमणमा परेका छन्। यो वर्ष मात्रै बाघको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन्। तर, धेरैजसो घटना साँझ, बिहान बाघ सक्रिय हुने समयमा भएको ढकालले बताए। ‘निकुञ्ज क्षेत्रमा आवतजावत गर्न मनाही छ। तर, माछा मार्ने, निगुरो र साग टिप्नेहरू जंगलभित्र पुग्दा आक्रमणमा परेका छन्,’ उनले भने।
तस्बिर : अनिल ढकाल
सबैभन्दा धेरै बर्दिया र चितवनमा मान्छे–बाघ द्वन्द्व छ। असामान्य समयमा मानवीय क्रियाकलाप बढेका कारण घटना भएको ढकालको बुझाइ छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा कार्यरत पार्क रेन्जर सुजिता राउतका अनुसार यस वर्ष मात्रै ४० जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको छ।
त्यसमध्ये १३ जनाको मृत्यु बाघको आक्रमणबाट भएको छ। अन्य १३ जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन्। गैंडाबाट ६, भालु र चितुवाबाट ३/३, गौरीगाई र जंगली बँदेलबाट १/१ जनाको मृत्यु भएको छ। ७७ जना सख्त घाइते भएका छन् भने ५५ जना सामान्य घाइते भएका छन्।
यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा १४, चितवन राष्ट्रिय निकुञ्जमा १२, शुक्लाफाँटा निकुञ्जमा ३, कोसीटप्पु वन्यजन्तु आरक्षमा ८, अन्नपूर्ण संरक्षण क्षेत्र, मकालु वरुण राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्जमा १/१ जनाको मृत्यु भएको राउतले बताइन्। मानिसलाई आक्रमण गर्ने केही बाघलाई जाउलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । चिडियाखानामा वन्यजन्तु व्यवस्थापन शाखामा कार्यरत गणेश कोइरालाका अनुसार तीनवटा बाघले चितवनमा मान्छे मारेपछि समातेर ल्याइएको हो। हाल चिडियाखानामा ४ बाघ र १ बघिनी छन्। १७, १२, १० र २ वटा ८ वर्षका बाघ छन्। बाघ दिनभरि सुत्ने र रातमा सक्रिय हुन्छन्।
१९ गतेबाट बाघ गणना
बर्दियामा २९ गतेबाट र चितवनमा १९ गतेबाट बाघ गणना सुरु हुँदैछ। एक ठाउँमा दुई साता क्यामरा राखिन्छ। कम्तीमा चार महिनामा गणना सकिने बताइएको छ। सरकारको असोज १७ को निर्णयअनुसार केन्द्रीय स्तरमा बाघ गणना सुरु गर्न लागेको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकको संयोजकत्वमा अन्य विभिन्न निकायको सहयोगमा टोली गठन भएको हो।
१९ गतेदेखि चितवनबाट गणना सुरु गरिनेछ। सूचना संकलनका क्रममा दर्जनभन्दा धेरै हात्तीको प्रयोग गरिने भएको छ। ७२ दिनभित्र गणना सम्पन्न गरिने र प्रथम चरणमा करिब सयजना गणकलाई तालिमसमेत दिइएको छ। उक्त कार्यका लागि १९ सय २४ वटा ग्रिड बनाएर ३३ सय २८ वटा क्यामरा ट्र्याम गरिनेछ। उक्त कामका लागि करिब ३ करोड ७० लाख खर्च लाग्ने अनुमान सरकारको छ।