विदेशमा सिकेको ज्ञान, सीप नेपालमा खर्चौं : पूर्व राष्ट्रपति यादव
काठमाडौं : पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली युवाले विदेशमा प्राप्त गरेको ज्ञान, सीप र प्रविधिलाई नेपाली भूमी समृद्ध बनाउन खर्चिन आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। नेपाली उत्पादन, सीपलाई विश्व बजारमा पुर्याउन सक्रिय युवा उद्यमीले उद्यमी महासंघको स्थापना गरेका हुन्।
संसारभर छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासङ्घले नेपाली उत्पादनको विदेशमा प्रदर्शनी, बजारीकरण, रोजागारी लगायत विषयमा सहजीकरण गर्ने लक्ष्य राखेको छ।
नेपालमा जनसंख्याको ५० प्रतिशत युवा रहे पनि उनीहरुसँग आवश्यक सीपको कमी रहेको उनले बताए। उनले भने,‘जन्मभूमिलाई कसरी आर्थिक रुपमा समृद्ध बनाउने भन्ने तपाईंहरु युवामा सपना र भिजन छ, त्यसलाई साकार बनाउन उचित वातावरण बनाउन सरकारले सहयोग गर्न जरुरी छ।’
पूर्व राष्ट्रपति यादवले नेपाल अनुपम प्राकृतिक सुन्दरता र भौगोलिक विविधतायुक्त मुलुक रहेको बताए। ‘हाम्रै नेपालमा कति वटा स्वीजरल्याण्ड र सिंगापुर छ ’, उनले भने,‘नेपाली भूमी विश्व पर्यटनका लागि आकर्षक गन्तव्य छ। तपाईंहरु पहिला आफ्नै देश भ्रमणन गर्नुहोस्। त्यसपछि विश्वमा नेपाललाई प्रचारप्रसार गर्नुहोस्।’
डोजरे विकासले नेपालको डाँडाकाँडा ध्वस्त बनाइरहेको प्रति पूर्व राष्ट्रपति यादवे चिन्ता व्यक्त गरे। सत्तरी वर्ष लगाएर ल्याएको परिवर्तन संस्थागत नभइरहेकोमा पूर्वराष्ट्रपति यादवले चिन्ता व्यक्त गरे। ‘हाम्रो उपलब्धी संस्थागत गर्ने नेता नेपालमा भएनन्। देशमा सुशासन, विधीको शासन भएन’, उनले भने।
नेपाल चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहालले कला र संस्कृति विश्वबजारमा पुर्याउने संस्थागत लगानी आवश्यक रहेको उनले उल्लेख गरे। नेपालसँग अर्ग्यानिक कथावस्तु छ। त्यसलाई हामी सबै मिली चलचित्रको माध्यमले विश्वबजारमा पुर्याउनु पर्छ। ’
उत्पादनमुखी उद्योगलाई नेपाल सरकारले करमा सहुलियत दिनु पर्ने नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश्वर अग्रवालले बताए। उद्योग वाणिज्य महासङ्घका उपनिर्देशक गोकर्णराज अवस्थी, शिक्षा उद्यमी द्विराज शर्मा, पर्यटन व्यवसायी सुमान पान्डे लगायतले नेपाली उद्यमीहरुको समस्या बारे चर्चा गरेका थिए।
महासंघका अध्यक्ष स्वतन्त्रप्रताप शाहका अनुसार चीन, हङ्कङ, अमेरिका, बेलायत अष्ट्रेलियालगायत ११ मुलुकका युवा उद्यमीलाई समेटिएको छ। ‘नेपाली माटोको माया लाग्छ त्यही भएर विरानो भूमीबाट जन्मभूमिका केही गरौं भनेर आएका छौं’, उनले भने, ‘प्रवासको सीप र लगानीलाई नेपालमा खन्याउँछौं। ’ नेपाल र नेपालीको उज्जल भविष्यको लागि काम गर्ने उनले प्रतिबद्धता जनाए।