भुपेन्द्र हत्या प्रकरण : २१ जनाविरुद्ध कर्तव्य ज्यान मुद्धा

भुपेन्द्र हत्या प्रकरण : २१ जनाविरुद्ध कर्तव्य ज्यान मुद्धा

धनगढी : कार्तिक २३ गते कैलालीको टिकापुर नगरपालिका-१ सिद्धार्थ होटल नजिकै भएको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई सार्वजनिक गरेको छ। कार्तिक २३ गते राती पौने ९ बजेति कैलालीको लम्कीका भुपेन्द्र बडुवालको एउटा समूहले हत्या गरेको थियो। करिब २ किलोमिटर लखेटेर आफन्त कौसी देबी विष्टको घर आँगनमा पुगिसकेका भुपेन्द्रलाई खुकुरी प्रहार गरी हत्या गरिएको हो। भुपेन्द्रको छातिमा दुई वटा, पिठ्युमा तीन वटा र टाउकोमा एउटा प्रहार गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ परेका १२ जनाको आपराधिक पृष्ठभुमी सहित उनीहरुलाई सार्वजनिक गरेको हो। प्रहरीले हत्यामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका –३ चिसापानीका  २३ वर्षीय महेश रावल, सोही ठाउँका २० वर्षीय धिरज भन्ने दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा,  १९ वर्षीय मदन शाही, वडा नम्बर १ का  २२ वर्षीय कपिल श्रेष्ठ, सोही ठाउँका १८ वर्षीय दिपक गोलु भन्ने निशान्त मल्ललाई सार्वजनिक गरेको हो।

यस्तै लम्कीचुहा नगरपालिका वडा नं. ५ का २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका- १ का २३ वर्षीय प्रबिण रिमाल, बर्दिया राजापुर नगरपालिका- ७ घर भई टीकापुर नगरपालिका १ ब्लक नं. २५ बस्ने २१ वर्षीय रोहित आले, टीकापुर नगरपालिका ब्लक नं. १४ बस्ने २५ वर्षीय सोहन शाह, कैलालीको बर्दगोरिया गाउपालिका- २ झगढपुरका २५ वर्षीय लोकेन्द्र कुँवर, बर्दिया ठाकुरबाबा न.पा. -३ गोदानाका २६ वर्षीय सन्तोष भन्ने सविन जंग शाहीलाई प्रहरीले सार्वजनिक गरेको हो।

यस्तो थियो संगठित अपराधको जालो 
टीकापुर नगरपालिका वडा नम्बर ६ का असोक रावल निर्माण व्यवसायी हुन। तीन/चार वर्षीयदेखि उनी ‘डन’बन्ने सपना बुनिरहेका थिए। उनीसँगै लम्कीचुहा नगरपालिका- ३ चिसापानीका नविन रावल पनि जोडिए। नविनलाई त्यो क्षेत्रमा ‘नन्दु सरकार’पनि भनिने गरिएको प्रहरीले जनाएको छ। नविनकै सपोर्टमा केही युवाहरुले उनलाई गुरु मान्दै ‘नन्दु सरकार’लेखिएको ट्याटु बनाएको पनि प्रहरीले जनाएको छ। त्यो समूहमा अधिकांस युवाहरु टीनऐजका छन। 

टीकापुर, लम्की र चिसापानी क्षेत्रका ठेक्कापट्टामा वर्चश्व कायम गर्न अशोक, नविन, लोकजंग शाही, जयेन्द्र शाही लगायतका ४०/५० जनाले समूह बनाएको प्रहरीले जनाएको छ। उनीहरु, ठेक्का पट्टामा एकछत्र राज गर्ने, अवैध असुली गर्ने र ‘ग्याङफाइट’ गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। 

भुपेन्द्र हत्या प्रकरणका बारेमा पत्रकार सम्मेलनमा कैलालीका एसपी विशव अधिकारी।

‘सुरुमा एकै समूहमा रहेका उनीहरुबीच, केही महिना अगाडि विभाजन भयो। अशोक, नविन र लोकजंगहरुको एक समूह बन्यो भने जयेन्द्र शाहको अर्को समूह बन्यो, त्यसपछि दुबै समूहबीचमा एक अर्कामाथि आक्रमणको सिलसिला पनि सुरु भयो, भुपेन्द्र बडुवालको हत्या पनि त्यही आक्रमणको परिणाम हो’ कैलालीका प्रहरी उपरिक्षक विश्व अधिकारीले भने।

भुपेन्द्र बडुवालको त्यो समूहमा कुनै संलग्नता नभेटिएको प्रहरीले जनाएको छ। अशोक रावल र जयेन्द्र शाहको समूहबीच एकले अर्कोलाई भेटेने बित्तिकै सिध्याउने भनि ‘ग्याङ वार’ को तयारी भइरहेको थियो, एकले अर्को समूहका जसलाई भेटेपछि सिध्याउने योजना रहेछ, जयेन्द्र समूहका युवक कपिल श्रेष्ठसँग दोस्ती भएकै कारण भुपेन्द्रको हत्या भएको देखिन्छ’ प्रहरी उपरीक्षक अधिकारीले भने।

हत्या भएको दिन भुपेन्द्र बडुवाल, टीकापुरमा रहेका कपिल श्रेष्ठलाई लम्की लिन भनि निस्किएका थिए। ‘तर अशोक रावल र नविन रावलको टीमका केटाहरुले भुपेन्द्र जयेन्द्रको टीममा रहेको र आफूहरुमाथि आक्रमणका लागि आएको हो भनेर हत्या गरेको जस्तो देखिन्छ’ एसपी अधिकारीले भने। 

प्रहरीका अनुसार यही गएको भदौका महिना काठमाण्डौंको कालिमाटी क्षेत्रमा जयेन्द्र शाहको समूहले अशोक र नविन रावलको समूहका हिमाल शाहीको पेटमा खुकुरी हानेर मार्ने प्रयास गरेका थिए। तर हिमाल घाइते मात्रै भए। ‘त्यसपछि दुबै समूहको दुस्मनी बढेको देखिन्छ’ एपी अधिकारीले पत्रकार सम्मेलनमा भने। त्यसपछि अशोक, नबिन र लोकजंग शाहीको समूहले जयेन्द्र शाहको समूहमाथि आक्रमण गर्ने योजना बनाएको प्रहरीले बतायो। 

एकले अर्कोमाथि आक्रमण गर्ने योजनाहरु बन्दै गएको तथ्य फेला परेको प्रहरीले जनाएको छ। कालिमाटीको आक्रमणमा अशोकको समूहका युवा घाइते मात्रै भएपछि जयेन्द्रको समूहका कपिल श्रेष्ठ कार्तिकको १७ गते (भुपेन्द्रको हत्या अघि) काठमाण्डौंबाट मोटरसाइकलमा लम्की आए। उनी लम्कीको मनसुन होटलमा बसेका प्रहरीले जनाएको छ। कार्तिक २१ र २२ गते बौनीयाको अनुकुल होटलमा बसेर नविन रावललाई आक्रमण गर्ने योजना बन्यो। 

भुपेन्द्रको हत्या भएको दिनको बिहान, जयेन्द्रको समूहका कपिल श्रेष्ठलगायतले नविनको समूहको खोजी गरिरहेका थिए।  तर त्यो कुरा नविनको समूहले थाहा पाइसकेको थियो। नविनको समूह पनि तम्यार भएर जसलाई पायो उसैलाई ढाल्ने गरि बसेको प्रहरीले जनाएको छ। 

‘भुपेन्द्रको हत्या भएकै दिन अशोक, नविन रावलको समूह र जयेन्द्रको समूहका बीच ठुलो आक्रमण हुने खबर प्रहरीमा पनि पुग्यो, दुई समूह खुँडा खुकुरी बोकेर डुडेझारी आसपासको क्षेत्रमा एकअर्कालाई पर्खिरहेका छन् भन्ने खबर प्रहरीमा आयो र त्यसपछि प्रहरी घटनास्थल पुग्यो, प्रहरीले एक बोरा खुडा, भालासहितका घरेलु हतियार बरामद गर्‍यो, प्रहरीले पुगेपछि तितरवितर भएका उनीहरु टीकापुरतिर लागे। त्यसपछि कपिल केसीले बोलाएका भुपेन्द्र बडुवाललाई टीकापुरमा देखेपछि, आफूहरुलाई आक्रमण गर्न आएको हो भन्ठानेर हत्या गरेको देखिन्छ’ प्रहरी उपरीक्षक अधिकारीले भने।

प्रहरीले टीकापुरको सिद्धार्थ होटलको नजिकै कौशी देबी विष्टको आँगनमा पुगिसकेका भुपेन्द्रको आर्यन देवकोटा, चिरिञ्जीबी शाही, रोशन शाही रोहीत आलेसहितले खुकुरी प्रहार गरी हत्या गरेको जनाएको छ। कौशी देबि विष्ट भुपेन्द्रको आफन्त हुन्। दुई किलोमिटर खुकुरी बोकेर लखेटेपछि उनी, आफन्तको घरमा लुक्न गएका प्रहरीले जनाएको छ।

प्रहरीले, शिद्धार्थ होटलको सिसिक क्यामेराको फुटेजमा रोहीत आलेले चलाएको स्कुटीका आर्यन देवकोटा घटनास्थल तर्फ गएको, त्यसपछि स्कुटीमै चिरिञ्जीवि शाही र रोशन शाही, अनी नविन रावल समेट घटनास्थल तर्फ जाँदै गरेको देखिएको जनाएको छ। प्रहरीले केही महिना अघि अशोक रावलको जन्मदिनमा चक्रेमिलन चिसापानी आएको भिडियो पनि फेला परेको जनाएको छ। दुबै समूहका युवाहरुले बन्दुक, पेस्तोल, चलाइरहेको, गोली लोड गरिरहेको जस्ता भिडियोहरु फेला पारेको जनाएको छ।

भुपेन्द्रको हत्यापछि फरार भएकाहरुलाई भारतको सीमा क्षेत्रसम्म गाडीमा पुगाएर आउने बर्दियाका सन्तोस भनिने सविन जंग शाहीलाई पनि प्रहरीले पक्राउ गरेको छ। संगठिन अपराधको जालो भेटिएपछि अहिले सिआईको एक विज्ञ टोली कैलाली आएको छ। उसले, चिसापानी, टीकापुर र लम्की क्षेत्रमा हुने संगठिन अपराधको विश्लेषण गरिरहेको प्रहरीले जनाएको छ। फरार रहेकाहरु भारतमा रहेको भन्दै नेपाल प्रहरीको एक टोली उनीहरुको खोजीमा भारत गएको छ। ‘तीन/चार वर्षदेखि यस्तो जालो रहेछ, बल्ल प्रहरीले थाहा पायो, त्यसलाई निभाएरै छोडिन्छ’ एसपी अधिकारीले भने।

उनले दुबै समूहमा कक्षा १२ भन्दा मुनी अध्ययनरत विद्यार्थीको समूह प्रयोग भइरहेको बताए। ‘संरक्षकहरुले रिचार्ज हालिदिने, खाजा खर्च दिने गर्ने रहेछन्, अनी टीन उमेर समूहका युवाहरु प्रयोग भइरहेका छन्’ एसपी अधिकारीले भने।

२१ जनाविरुद्ध कर्तव्य ज्यान मुद्धा
प्रहरीले २१ जनाविरुद्ध मुद्धा दर्ता गरेको छ। नविन, धिरज, आर्यन, मदन, निशान्त, विकास, प्रविण, रोहित, सोहन, चिरञ्जीवी, हिमाल, विकास खड्का, रोशन, अशोक र हेमन्त शाहीलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम हुने सजाय (जन्म कैद) मा सोही संहिताको दफा ४१ (जीवित रहेसम्म) बमोजिम कैद सजाय माग दाबी गरिएको छ।

यस्तै लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७ (२) बमोजिम (जन्म कैद) सजाय माग दाबी गरिएको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६ (३) (क) बमोजिम कसुर गरे सो सरह जन्म कैदको सजाय माग दाबी गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.