मिथिलाञ्चलमा अरिपन र कोहबर

मिथिलाञ्चलमा अरिपन र कोहबर

मिथिला लोककलामा केही कलाकार नयाँ प्रयोग गर्न थालेका छन्, जुन स्वागतयोग्य कुरा हो। तर, यसको मौलिकतालाई मासेर नयाँ प्रयोग वाञ्छनीय मानिँदैन।


मिथिला लोककला अत्यन्त प्राचीन कलाको रूपमा सदियौंदेखि स्थापित हुनु सर्वथा स्वाभाविक हो। यस कलाको उद्भव र विकासबारे सही तिथिमितिको अन्वेषण भइसकेको छैन। अनुमान मात्र होइन, अनुसन्धानको आधारमा के भन्न सकिन्छ भने यो वैदिककालदेखि नै प्रचलित लोककला हो। प्राचीनकालमा यज्ञादि अनुष्ठानको क्रममा भूमि पूजा, भूमि शुद्धीकरणका लागि आवश्यक भएकाले अरिपन लोककलाको चित्रण आवश्यक ठानियो। तत्पश्चात् वैवाहिक संस्कारको शुभ अवसरमा नवविवाहित दुलाहा र दुलहीको सुहागरात मनाउन विशिष्ट कोठाको निर्माण गरिन्थ्यो। यसका भित्ताहरूमा चित्रकला चित्रण गरिन्थ्यो। जसलाई कोहबर घर भनिन्थ्यो र आज पनि कोहबर घरको अवस्थिति आवश्यक मानिन्छ।

सम्पूर्ण मिथिलाञ्चलमा लोककलाको प्रचारप्रसार मात्र भूमि या भित्तीसम्म सीमित थियो। कालान्तरमा आक्रमणकारीहरू यस कलामा सन्निहित भावपूर्ण तथ्यको अध्ययन स्वयं अनुसन्धान गर्न नसकोस्। उनीहरू यो बुझ्न नसकोस् कि यस कलामा अभिव्यक्त आशय के हो ? तसर्थ मिथिला लोककला अक्षुग्ण रह्यो। यसमाथि विदेशी आक्रमणकारीको आँखा परेन। सांस्कृतिक धरोहर लोककला अरिपन, कोहबर चित्रणको मिथिलाञ्चलमा घरघरमा प्रचारप्रसार गराउन राजर्षि जनकको भूमिका महत्त्वपूर्ण मानिन्छ। राजर्षि जनक दूरदर्शी राजा थिए। तसर्थ उनलाई शंका के थियो भने यदि मिथिला भूमिमा विदेशीको आक्रमण गर्दा राज्यसत्ता विदेशीहरूको हातमा कथंकदाचित गए पनि मिथिलाञ्चलको संस्कृति सुरक्षित रहोस्। आखिर भयो, त्यही जसको आशंका थियो। यमन साम्राज्यको शासनकालमा लिपिबद्ध प्राचीन गन्थ र मन्दिर आदिलाई नष्ट गरियो। मिथिला लोककला यी बाह्य विदेशी र विधर्मी शासकबाट सुरक्षित रहन गयो। अतः मिथिला लोककला अरिपन र भित्ती चित्र कोहबरको माध्यमबाट शास्त्रको गुह्य तथ्यलाई अदृश्यरूपले सुरक्षित राखियो।

जगज्जननी जानकीको शुभविवाहको स्वर्णिम अवसरमा राजर्षि जनकले आफ्नो राजदरबारको प्रांगणमा तथा भित्तामा चित्र कोर्न देशभरिका नामुद कलाकारहरूलाई निमन्त्रित गरे। उनीहरूले तन, मन, धन लगाएर राजप्रासादलाई विभिन्न रंगीचंगी चित्र कोरेर चित्ताकर्षक बनाए। विशेषतः कोहबर (कोबर) घरलाई चारवटै दाजुभाइका लागि चारवटा कोहबर घरको निर्माण गरियो। सम्पूर्ण मिथिलाञ्चलमा कोहबर घरको भित्ती चित्रमा सौन्दर्य, आनन्दातिरेक तथा कामवासनालाई उत्तेजित गर्ने खालको अद्भुत सम्मिश्रण पाइन्छ। बाँस, कमलको फूल, यसको पात, नैनायोगिन, माछा, केरा आदिको चित्रण वैवाहिक सम्बन्ध, जन्म, चरम पार्थिव आनन्दको संकेत दिन्छ। प्रेममा मग्न नृत्य गर्दै मयूर प्रथम मिलनका लागि, वरवधूलाई शारीरिक र मानसिक प्रेमालिंगनका लागि प्रेरित गर्ने गर्छ। महिला तथा पुरुष कलाकारद्वारा चित्रित यस प्रकारको कोहबर कला भित्ती चित्र प्राचीनकालदेखि अनवरत स्वयं अविच्छिन्न ढंगबाट हुँदै आएको परम्परा अझ जीवित छ।

संस्कृतका प्रसिद्ध कवि वाण भट्टको ‘हर्ष चरित’ नामक पुस्तकमा यस कुराको चर्चा वर्णित छ। जसमा राजा हर्षवद्र्धनका भिनाजु ग्रहवर्णको कोहबर घरमा कामदेव र उनकी पत्नी रतिको चित्रण अन्त्यन्त राम्रो ढंगबाट गरिएको पाइन्छ। मिथिलाको लोककला सूक्ष्मग्राही, गूढ परम्परा सम्बद्ध मिथिला भूमिको मौलिक, सांस्कृतिक जीवनको अविच्छिन्न अंग हो। तसर्थ निःसन्देह भन्न सकिन्छ कि जुन घरपरिवारमा यस्तो मौलिक कला अद्यापि सुरक्षित छ त्यो संस्कृति उच्च कोटीको रहेछ। तीन हजार वर्षदेखि महिला र सिर्फ महिलामात्र धार्मिक विषयवस्तुमा आधारित चित्रहरू कोर्दै आएका छन्। यसको साथै यो परम्परा सुरक्षित रहँदै आएको छ। विगत केही वर्षदेखि केही पुरुष कलाकार पनि यसमा संलग्न छन्। चित्रकलाको राम्रो प्रदर्शन गरिराखेका छन् नत्र भने महिला कलाकारको एकछत्र साम्राज्य नै यस क्षेत्रमा स्थापित थियो।

मूलतः मिथिला लोककला मैथिल महिलाको कलात्मक स्वयं सौन्दर्यात्मक अभिरुचिको प्रत्यक्ष अभिव्यक्ति हो। यस कलामा दुई किसिमको प्रतीक प्रयुक्त हुँदै आएको पाइन्छ, यथा जनावरको प्रतीक र प्रकृतिका उपादानहरूको प्रतीक। यस कलामा बारम्बार हात्ती, घोडा, साँढे, सिंह, गाई, मुसा, सरीसृप जन्तु जस्तो साप, नाग र जलीय जीवजन्तु जस्तो माछा, कछुवा, तथा पशुपक्षीजस्तो सँुगा, मुजुर, राजहाँस र गरुड आदि। वनस्पतीय र जंगली जीवनका प्रतीकहरू जस्तो : रूख, बिरुवा, पात, कमल, बाँस र तुलसी। जनावर पनि धेरै शाकाहारी र मांशाहारी हुन्छन्। धेरैजसो विभिन्न देवीदेवतासँग सम्बन्धित हुन्छन्। धेरैजसो धर्म, विश्वास र मिथक शृंगार जोडिएको हुन्छन्। गाई कृष्णसँग सम्पर्कित जनावर मानिन्छ। तसर्थ कृष्णलाई गोपाल पनि भनिन्छ।

मिथिला लोककला मैथिल महिलाको कलात्मक स्वयं सौन्दर्यात्मक अभिरुचिको प्रत्यक्ष अभिव्यत्तिाm हो। जसमा यथा जनावरको प्रतीक र प्रकृतिका उपादानहरूको प्रतीक प्रयोग हुँदै आएको छ।

गाई पवित्र र पूजनीय मानिन्छ। चित्रकला मैथिल सांस्कृतिक जीवनको अमूल्य अंग रहिरहेको छ। मिथिला कलामा प्रयुक्त हुने प्रतीकहरू कछुवा सम्भोग र स्थायित्वको, माछा योनिको, हात्ती नारी योनि र समृद्धिको प्रतीक मानिन्छ। यी चित्र मैथिली संस्कृतिमा नवग्रह शान्तिको लागि त चित्रित हुन्छ नै। यसका साथै सूर्य, चन्द्र, विभिन्न ग्रह, उपग्रहसँगै कछुवा, माछा, बिच्छी, आदिका चित्र पनि प्रयुक्त हुन्छन्। जुन डार्बिनद्वारा प्रतिपादित विकासवादको सिद्धान्तलाई पनि प्रमाणित गर्दछ। गणेश, घोडा, एकातिर पौरुषको अर्कोतिर सूर्यको, माछा एकातिर प्रजनन् शक्तिको अर्कोतिर मत्स्यावतार विष्णुको मानिन्छ। कछुवा एकातिर सहवास प्रक्रियाको अर्कोतिर कच्छावतार विष्णुको, कमलको फूल एकातिर नारीदेहको कोमलताको अर्कोतिर लक्ष्मी (धनकी देवी) को प्रतीक मानिन्छ।

अल्पनाको रूपमा ऋद्धिसिद्धिका शुभयन्त्रहरू पिठारबाट (अरिपन) चित्रको रूपमा बनेका यी तान्त्रिक यन्त्रहरू कति सार्थक हुन्, अष्टदल, कुसुम पराग, चौशंख, चौपड, पुरइन पात आदि। अरिपनका चित्रहरू भूमिमा कोर्न चामलको रंगले बनाइने चित्रहरूमा शास्त्र निरुपित तान्त्रिक यन्त्रहरूको प्रतीक भएको पाइन्छ। देवोत्थान एकादशीमा बनाइने अरिपन चित्रचहरू जुन श्रीयन्त्रसँगै ओम र डाडु, पन्यू, खडाउ आदि भेटिन्छ। त्यसो भए पनि लौकिक र अलौकिक जीवनमा सामञ्जस्यका दर्शनप्रति मिथिलाको असीम आस्था अभिव्यक्त भएको पाइन्छ। यो अरिपन चित्र पिठारले कोरिन्छ। पिठार अरुवा चामलको गेडालाई पानीमा भिजाएर पिँधेर लेप बनाई तयार गरिन्छ। पिठारको प्रयोग अत्यधिक हुन्छ, मिथिला कलामा। पिठार अक्षताबाट बनाइन्छ। अक्षता अर्थात् जसको क्षति र क्षय हुँदैन। अमृतत्व, अखण्डतत्त्व, परमब्रह्म, वेदमा पनि अन्नलाई ब्रह्म भनिएको छ। पानी जीवनसँग एकाकार हुन्छ यो ब्रह्मतत्व अनि बन्छ अरिपन रूपमा ऋद्धिसिद्धिदायक शुभ यन्त्रहरू।

मिथिला लोककलाको पुनरोत्थान
यस्तो प्राचीन गौरव गरिमायुक्त मिथिलाकलाबीचको कालखण्डमा विलुप्त त भएको थिएन। बरु मिथिलाञ्चलको घर, प्रांगण र भित्तामा मात्र सीमित थियो। यसलाई पुनरोत्थान दिने श्रेय क्लेर बर्केटलाई जान्छ। उनी सन् १९९२ मा एउटा गैरसरकारी संस्था स्थापनार्थ स्वयंसेवक भएर काम गर्न जनकपुर पुगिन्। उनले ग्रामीण भेगका महिलाको जीवनस्तर उकास्न योजना तयार गरिन्। यसको नामकरण गरिन्, जनकपुर नारी विकास केन्द्र। यसमा आठ दस जना महिलालाई सहभागी बनाएर मिथिला कला कोर्न उत्प्रेरित गरिन्। यी महिला पहिलापहिला घरआँगनमा गाईको गोबर लिपेर चित्र बनाउने गर्थे। घरको भित्तालाई चुनले पोतेर अथवा पिरिया माटी (पहेंलो माटो) ले त्यसमाथि मुजुर, सुँगा, मैना, हात्ती, घोडा, मृग आदिको चित्रको अंकन गर्ने कलामा माहिर थिइन्। अब यिनीहरूलाई बसहा कागजमा चित्र कोर्न क्लियर बर्केटले प्रोत्साहित र प्रेरित गरिन्। ती महिलालाई चित्र कोर्नबाहेक साक्षरताको तालिम पनि दिन थालिन्। अब ती महिलाहरू यस कलामा दक्ष हुन थाले। प्रत्येक वर्ष विभिन्न मांगलिक चाडपर्व जस्तो दसैं, दीपावली, मधुश्रावणी, छठको अवसरमा घरआँगनका भित्तामा चित्र उतार्नु थाले। कागजको क्यानभासमा ब्रसले चित्र बनाउने कलामा पनि निपुण हुने मौका मिल्यो।

आयआर्जनको प्रमुख स्रोत मिथिला लोककला हुन थाल्यो। आज विश्वबजारमा व्यवस्थित स्वयं वैज्ञानिक ढंगबाट बजारीकरण नभए पनि यसको मान्यता र मूल्य स्थापित भइसकेको छ। यसमा स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकारबाट कुनै प्रश्रय स्वयं प्रोत्साहन प्राप्त नभए पनि यिनीहरूको कला विश्व बजारमा माग बढ्न थालेको छ। यिनीहरू स्वयं पनि देश विदेशमा गएर विभिन्न कला प्रदर्शनीमा भाग लिए। उनीहरू आफ्नो कलाको प्रचारप्रसारमा र त्यसको उचित मूल्य पाउन सक्षम भएका छन्। आज जनकपुरमा मात्र नारी विकास केन्द्रबाहेक मिथिला आर्ट एन्ड क्राफ्ट, मिथिला कला केन्द्र, सुनैना कला केन्द्र आदि स्थापना गरेर स्वयं विश्वबजारमा आफ्नो कलाको बिक्रीवितरण गर्न समर्थवान् भइसकेका छन्। ती कलाकारको आर्थिक स्थितिमा अभूतपूर्व परिवर्तन भएको छ। केही कलाकार अहिले अमेरिकाको न्युयोर्क र नेब्रास्कामा कलाकेन्द्र खोलेर विदेशी मुद्राको आर्जन गरिराखेका छन्।

यस्तो पारम्पारिक मूल्यवान् कलाको उत्थान र उन्नतितिर कुनै सरकारी निकायको ध्यान आकृष्ट नहुनु चिन्ताजनक छ। नेपाल ललितकला प्रतिष्ठानले यस पंक्तिकारको एउटा पुस्तक ‘मिथिला फोक आर्ट’ प्रकाशित गरेको पनि पाँच वर्ष भइसक्यो। त्यो पनि तत्कालीन कुलपति रागिनी उपाध्यायको तत्परतामा। यस कलालाई अझ स्थापित गर्न अध्ययन, अन्वेषण र अनुसन्धान आवश्यक छ। पश्चिमा देशहरूमा कलासिर्जनाको साथै कला अनुसन्धान पनि हुने गर्छ। हाम्रोमा भने यस कलामा अध्ययन र अनुसन्धान गर्ने गराउने परिपाटी छैन। त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको कला विभागको पाठ्यपुस्तकमा यसलाई कुनै स्थान दिइएको छैन। ललितकला प्रतिष्ठान पनि यतातिर सक्रिय देखिँदैन। मिथिला लोककला र कलाकारहरू आफ्नो स्रोत र साधन परिचालन गरेर यस कलाको अभिवृद्धिमा अनवरत लागि परेका छन्। यसबारे अध्ययन र अनुसन्धान गरेर कुनै पुस्तक हाम्रो सन्दर्भमा लेखिएको पाइँदैन। फाटफुट लेखरचना प्रकाशित नभएको होइन तर त्यो पनि देखासुनी, अनुकरण र अनुसरण गरेर मात्र। तसर्थ यस कलाको उद्भव तथा विकास, विभिन्न कालखण्डको नामकरण, विभाजन र नयाँनयाँ प्रयोगको भने अभिलेखीकरण हुन पाएको छैन।

नयाँ प्रयोग
मिथिला लोककलामा केही कलाकार नयाँनयाँ प्रयोग गर्न थालेका छन् जुन स्वागतयोग्य कुरा हो। तर, यसको मौलिकतालाई मासेर नयाँ प्रयोग वाञ्छनीय मानिँदैन। यस्तो अमूल्य सांस्कृतिक निधि मिथिला कलाको संरक्षण र संवद्र्धनका लागि संग्रहालयको टड्कारो आवश्यकता देखिन्छ। अहिलेसम्म यसको कुनै व्यवस्था भएको छैन। जब कि जापानमा मिथिला म्युजियम स्थापना भएको दशकौं भइसक्यो। यो हाम्रा लागि ठाडो चुनौती भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.