भृकुटीमण्डपमा महाधिवेशनको रौनक
काठमाडौं : कांग्रेसको १४औं महाधिवेशनका लागि भृकुटीमण्डप झकिझकाउ बनाइँदैछ। मंसिर २४—२७ सम्म चल्ने अधिवेशनको तयारी युद्धस्तरमा हुँदैछ। देश तथा विदेशका पाहुनालाई निमन्त्रणा बाँडिएको छ। सहभागीका लागि खानपान, आवास तथा स्वागतको अन्तिम तयारीमा आयोजक जुटेका छन्।
सर्लाहीका रोशन जैसवाल भृकुटीमण्डपमा भव्य स्टेज बनाउन व्यस्त छन्। ‘थ्री–लेयरमा स्मार्ट मञ्च बनाउँदैछौं, जहाँ २ सय ५० जनाभन्दा बढी अटाउँछन्,’ उनले भने, ‘सभागृहदेखि पद्मोदय क्याम्पसम्म १० वटा मुख्य स्वागतद्वार बनाइँदैछ।’
भृकुटीमण्डपसहित उपत्यकाका सडक किनारा १० हजार चारतारे झन्डाले सजाइएको प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले बताए। निर्वाचनका लागि भृकुटीमण्डप हलभित्र, बाहिर र सभागृहमा मतदान केन्द्र राखिनेछ। मञ्चभित्र र बाहिर ४–५ ठाउँमा श्रव्यदृश्यको व्यवस्था गरिँदै छ। बिहीबारसम्म सबै तयारी पूरा हुने मञ्च व्यवस्थान समितिका संयोजक गोविन्द पुडासैनीले बताए। मञ्च निर्माणमा ४० लाख रुपैयाँ हाराहारी खर्च लाग्ने उनको भनाइ छ।
भोट माग्न थालियो
महाधिवेशनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। उम्मेदवारहरूले प्रचार र भोट माग्न थालेका छन्। महाधिवेशनस्थलको गेट देखि नै उम्मेदवार र तीनका समर्थकहरूले एजेन्डासहितका तुल ब्यानर झुण्ड्याइरहेका छन्।
होटलमा बास, मेसमा खाना
महाधिवेशनमा करिब ४ हजार ७ सय प्रतिनिधि सहभागी हुनेछन्। कांग्रेस केन्द्रीय कार्यालयका सहसचिव रवीन्द्र बज्राचार्यका अनुसार भोजन, आवास र मञ्च व्यवस्थानमा झन्डै ५ करोड खर्च हुन्छ। प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालामा बासको प्रबन्ध छ। अनुपम फुडल्यान्ड र दियालो फुडल्यान्डलाई भोजन व्यवस्थापनको जिम्मा दिइएको छ। ‘६ छाक खाना र ५ दिनको आवासको प्रबन्ध हामीले मिलाएका छौं,’ बज्राचार्य भन्छन्, ‘यसका लागि २ करोड खर्च लाग्नेछ।’
महाधिवेशन प्रतिनिधिहरूलाई जनही ३ हजार प्रवेश शुल्क तोकिएको छ। त्यसबापत झोला, कपी, कलम, मास्क, सेनिटाइजरलगायतका सामग्री उपलब्ध गराइने उनले बताए।
टावर जडान हुँदै
महाधिवेशन स्थलमा नेपाल टेलिकमका २ वटा अस्थायी टावर जडान गरिँदैछ। ‘मोबाइल बीटीएस भ्यान’ जडान भइरहेको टेलिकमका प्राविधिक अर्जुन बरालले बताए। ‘प्रयोगकर्ता धेरै हुने भएकाले स्थायी टावरको क्षमता पुग्दैन’, उनले भने, ‘अस्थायी टावर सञ्चालनपछि एकपटकमा ५ हजारसम्म प्रयोग कर्तालाई डाटा चलाउन सहज हुन्छ।’