पुरानै प्रचार शैली
काठमाडौं : कांग्रेस देशको जेठो पार्टी हो। विभिन्न कालखण्डमा परिवर्तनको नेतृत्व गरेको कांग्रेसले आफूलाई फेर्न सकेको छैन। १४औं महाधिवेशन स्थल भृकुटीमण्डप पुग्दा यस्तै भान हुन्छ। ‘अमूल्य मत दिएर मलाई जिताउनुस्’ लेखिएको ब्यानर यत्र–तत्र झुन्ड्याइएको छ। जसले महाधिवेसनस्थल कुरुप बनाएको छ।
उम्मेदवारमा प्रचार सामग्री झुन्ड्याउने होडबाजी चलेको छ। कोही रहरले त कोही बाध्यताले प्रचारमा उत्रिएका छन्। सभागृहदेखि पद्मोदय क्याम्पससम्मका सडक किनार चुनावी प्रचार सामग्रीले भरिभराउ छ। कांग्रेसले मञ्च व्यवस्थान र स्वागतद्वार निर्माणमै ४० लाख खर्चेको छ।
सडक छेकेर स्क्रिन बोर्ड राखेका छन्। जसले यातायात सञ्चालनमा कठिनाइ भइरहेको छ। महाधिवेशन स्थलमा भेटिएका सुनसरीका भोजराज घिमिरे भन्छन्, ‘कांग्रेस मात्रै होइन् नेपालका सबै राजनीतिक दल पुरानाशैलीमा छन्। जस्तो प्रचारशैली अपनाएर कांग्रेसले महाधिवेशन गर्दै छ त्यो २०–२५ वर्ष अघिकै हो,’ उनले भने, ‘विश्व कहाँ पुगिसक्यो। विदेशीहरू आजभन्दा ५०–६० वर्षअघि नै डिजिटलको बाटोमा गइसके। उनीहरू आफ्ना भनाइ सामाजिक सञ्जालमा राख्छन्।’
कांग्रेस अधिवेशन मंसिर २४-२७ सम्म छ। देशभरिबाट आएका प्रतिनिधिले भृकुटीमण्डप भरिभारउ हुन थालेको छ। पुतलीसडक, रत्नपार्क क्षेत्रमा ट्राफिक व्यवस्थापन भद्रगोल बनेको छ।
नयाँ व्यवस्था ल्याए पनि दल आफैं भने परिवर्तन हुन सकेका छैनन्। ‘राजीनिक परिवर्तन गरे तर उनीहरू ढुंगे युगको व्यवहार गरिरहेका छन्,’ घिमिरेले भने। जब पार्टीहरू महाधिवेशन वा आमसभा गर्छन् त्यसको मारमा व्यवसायीमा पर्छ। उनीहरूसँग लिएको चन्दा नेताहरू फोहोर उत्पादन गर्न खर्च गरिरहेको सर्वसाधारण बताउँछन्।
स्याङ्जाका युवराज पौडेल महाधिवेशन स्थलमा प्रचार सामग्री हेरिरहेको भेटिए। यस्तो प्रचारशैलीको विकल्प खोज्नुपर्ने उनको भनाइ छ। भने, ‘पुराना परिपाटीलाई बदल्न कुनै पनि राजनीतिक दलले एजेन्डा नै बनाएनन्,’ उनले भने, ‘अनलाइन प्रविधि, म्यासेज, सामाजिक सञ्जालबाट प्रचार गर्ने विकल्प छ। अरूले जे गर्यो मैले पनि गर्नुपर्छ भन्ने होडबाजीमा नेताहरू शक्ति प्रदर्शन गरिरहेका छन्। जसको कुनै अर्थ छैन।’