कांग्रेसमा यसरी साझा नेतृत्व
अबको नेतृत्वमा राम्रा र सफल नेताहरूभन्दा पनि बलियो प्यानलका उम्मेदवार आउने सम्भावना बढी छ।
नेपाली कांग्रेसमा पनि विभिन्न गुट, उपगुटहरू छन्। प्रजातन्त्र तथा लोकतन्त्रमा वैचारिक स्वतन्त्रता हुनै पर्छ। वैचारिक स्वतन्त्रता भएपछि सबै नेताहरूका आआफ्नै विचार र शैली हुनु स्वाभाविक हो। फरक मत र भिन्न विचारलाई पनि सम्मान गर्दै संगठन विस्तार गर्नु नै साँचो अर्थमा प्रजातन्त्र हो। पार्टीभित्रको फरक मत र विचारलाई सम्मान नगरिँदा वामपन्थी एकता कायम रहन सकेन। नेपाली कांग्रेसमा पनि फरक धारले स्थान नपाएपछि नेपाली कांग्रेस प्रजातान्त्रिक नजन्मेको होइन। तर, फरक मतहरूलाई समानुपातिक तरिकाले अवसर र स्थानमा राख्न सफल रहेकाले होला, अनेकतामा पनि एकताको सन्देश कांग्रेसले दिन सफल रहेको छ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि गरिएको वडा अधिवेशन, गाउँ/नगर अधिवेशन, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, संघीय निर्वाचन क्षेत्र, जिल्ला अधिवेशन तथा प्रदेश अधिवेशनहरूमा मात्र होइन, सक्रिय कार्यकर्ताको नामावलीमा समेत गुट र उपगुटको प्रभाव परेको थियो। अझै पनि कतै गाउँ/नगर अधिवेशन भएको छैन त कतै जिल्ला अधिवेशन रोकिएको छ। यो रोकिनुको कारण गुट नै हो भन्ने कुरा सबैले बुझेका छन्। केन्द्रीय अधिवेशनमा आफ्नो वर्चस्व कायम गर्न आफ्ना पक्षका कार्यकर्तालाई सक्रिय कार्यकर्ताको नामावलीमा समावेश गरे। वडा अधिवेशनमा आफ्ना पक्षधरलाई क्षेत्रीय प्रतिनिधि बनाउन चुनावी दाउपेचसमेत गरे। नगर र जिल्लामा आफ्नो पकड बनाउने अनि प्रदेश तथा महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्ष र इतर पक्ष भनिएका पौडेल–कोइराला पक्षबीच ठूलो चुनावी प्रतिस्पर्धा भएको देखियो।
स्थानीय निर्वाचनमा वाम एकता थिएन। लोकतान्त्रिक फोरमसँग कांग्रेसको एकता पनि भएको थिएन। आफ्ना पकडमा स्थानीय सरकार बनाउन विभिन्न पालिकाहरू, जिल्लाहरूमा राजनीतिक दलहरूले एकता अनि साझा उम्मेदवारहरू उतारेका थिए। तर संघीय तथा प्रदेशको आमनिर्वाचनमा वाम एकता भएर नेपाल कम्युनिस्ट पार्टी भएको थियो। विजय गच्छदारको लोकतान्त्रिक फोरम पनि नेपाली कांग्रेसमा जोडिएको थियो। आमनिर्वाचनपछि कांग्रेसभित्र कोही पार्टी सभापति शेरबहादुर देउवा नजिक भए त कोही अर्का नेता रामचन्द्र पौडेल नजिक भए। कोइराला परिवारका डा. शेखर, डा. शशांक, सुजाताका पनि आफ्नो पकड थियो नै। धेरैतिर नदेखिए पनि सुनसरी मोरङमा फोरम लोकतान्त्रिकबाट जोडिएर नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारको पनि पकड थियो। उता प्रभावशाली कृष्ण सिटौलाको पनि एउटा अलग धार देखिएको थियो। तर यी सबै धारहरू मौन र गौण थिए।
१४औं महाधिवेशनमा मौन रहेका यी सबै गुटहरू सक्रिय भए। देउवासँग नजिक रहेका निधि, प्रकाशमान सिंहले पनि आफ्नै दाबेदारी देखाए। वडा अधिवेशनमा धेरै युवाहरू क्षेत्रीय प्रतिनिधि अर्थात् गाउँ/नगर कार्यसमिति, जिल्ला कार्यसमिति, प्रदेश तथा महाअधिवेशन प्रतिनिधि चयन गर्ने अधिकार युवाको काँधमा आएको थियो। अब नेपाली कांग्रेसमा साँच्चिकै युवा, पेसाकर्मी, श्रमजीवी, बुद्धिजीवीहरूको बाहुल्य रहने र नेतृत्व सुधार हुने आशा धेरैले गरेको पाइयो।
अधिवेशनले युवाहरूलाई राजनीतिमा आउने अवसर दिएको धेरैको बुझाइ थियो। सहमति, सहकार्य र एकताको पक्षमा भन्दा पनि आआफ्नै पकड बनाउने दाउमा यसरी लागे कि अग्रज नेताहरू, निर्वाचित जनप्रतिनिधिहरू समेतलाई समेत महाधिवेशनका प्रतिनिधि बन्न दिएनन्। जहाँ जसको पक्ष बलियो, त्यहाँ एकलौटी आफ्ना प्रतिनिधिहरू मात्रलाई निर्वाचित गरे। पूर्वमन्त्रीहरू तथा पूर्वजिल्ला पार्टी सभापतिहरू समेतले पनि कतिपय क्षेत्रमा हार व्यहोर्नु पर्यो।
नेपाली कांग्रेस पुरानो राजनीतिक दल भएकाले राजनीतिक, स्वतन्त्रता, प्रजातन्त्रका लागि जीवन बिताएका धेरै जीवित योद्धाहरू अझ पनि यस दलसँग छ। राजनीतिक द्वन्द्वका कारण घर–सम्पत्ति गुमाएका, परिवार नै पीडित भएका र जीवन नै संघर्षमा बिताएका व्यक्तित्वहरू छन्। अहिले तिनै योद्धाहरूको परिवार पनि ठूला भएका छन्। अनि आफ्नो बाजे, बुवा तथा परिवारको पार्टीमा गरेको योगदानलाई मूल्यांकन गर्दै स्थान खोज्न थालिएको छ। त्यस्तै पार्टीको सिद्धान्त र समाजवादलाई पछ्याउँदै समाजसेवा गर्ने उद्देश्यले पार्टी प्रवेश गरेकाहरू छन्। तिनले पनि आफ्नै मूल्यांकन गरिनुपर्ने र अवसर दिनुपर्ने भन्दै स्थान खोज्नेहरूको जमात पनि ठूलो भएको छ। यस अधिवेशनले यी सबैलाई सर्वसहमत गराउँदै समेट्ने प्रयास नभएको पक्कै होइन। तर थोरै वडा, केही नगर तथा केही क्षेत्रहरूमा मात्र सफलता पाएको र अधिकांश स्थानमा चुनाव गरेर कार्यसमिति बनेको देखियो। चुनावले औपचारिक रूपमा नै गुटको उद्घोष गरेको पनि पाइयो।
अब केन्द्रको अधिवेशन सुरु हँुदैछ। केन्द्रमा गुट नहुने कुरै भएन। जोडघटाउ गरेर प्यानल बनाउने अनि मात्र उम्मेदवारी दिने लगभग पक्का छ। आआफ्ना प्यानलमा बहालवाला मन्त्रीहरू, पूर्वमन्त्रीहरू, राजनीतिक योद्धाहरू, युवाहरू तथा नयाँ अनुहारहरूको उम्मेदवारी हुने छन्। प्रदेश १ का उम्मेदवारलाई कर्णाली प्रदेशका प्रतिनिधिहरूले पनि छनोट गर्न मतदान गर्नुपर्ने हुन्छ। केन्द्रका नेताहरूलाई देशभरिका महाधिवेशन प्रतिनिधिहरूले चिने पनि प्रदेश तथा जिल्लाका सफल नेताहरूलाई समेत सबैले चिनेका, बुझेका पक्कै हँुदैनन्। यस अवस्थामा प्यानलका उम्मेदवार रोज्नु स्वाभाविक हो। त्यसैले अबको नेतृत्वमा राम्रा र सफल नेताहरूभन्दा पनि बलियो प्यानलका उम्मेदवार आउने सम्भावना बढी छ।
चुनावले औपचारिक रूपमै गुटको उद्घोष गरेको पाइयो। केन्द्रमा गुट नहुने कुरै भएन। जोडघटाउ गरेर प्यानल बनाउने अनि मात्र उम्मेदवारी दिने लगभग पक्का छ।
नेतृत्वमा जो आए पनि पार्टी सबैको हो। अधिवेशनले नेतृत्वको अवसर नदिए पनि आफ्नो योगदान पार्टीमा रहिरहनु पर्ने सोचाइ सबैको नहुन सक्छ। वडादेखि प्रदेश अधिवेशनसम्ममा अवसर नपाएका र अझ चुनावले हार व्यहोर्नु परेका नेताहरूको मनोबल खस्केको पाइएको छ। आफूलाई हार गराएको धार वा पक्षलाई जसरी पनि असफल बनाउने अडानमा धेरै कार्यकर्ता लागि परेका छन्। प्रदेश १ नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले दुई कार्यकाल सुनसरी जिल्ला सभापति सफलतापूर्वक हाँकेका थिए। प्रदेश १ अधिवेशन उद्घाटनमा नै वडा तहदेखि नै पार्टी स्पष्ट दुई चिरा भइसकेको जिकिर गरे। कोइरालाले पार्टीलाई एक ढिक्का बनाउन आग्रह गरे। आगोमा घिउ नहाल्दै पार्टी विभाजन नगर्नुस् भन्दै उनले सहमति, सहकार्य, एकतालाई व्यवहारमा उतार्न चुनौती भएकोमा आक्रोश पोखेका थिए।
१४औं अधिवेशनमा पार्टी नेतृत्वमा ठूलो परिवर्तन आउने आशा धेरैमा छ। किनभने कांग्रेसले आफूलाई समयसँगै परिवर्तन गर्दै लगेको देखिएको छ। धेरैभन्दा धेरै कार्यकर्तालाई पदीय दायित्व दिने उद्देश्यले कार्यसमितिहरूको आकार ठूलो बनाएको छ। पदाधिकारीको तहमा महिला, मधेसी, अपांगता भएका व्यक्ति, अल्पसंख्यक, थारु, मुस्लिम, खस–आर्य, जनजाति आदि थपेका छन्। यसले गर्दा पदाधिकारीको संख्या बढेको छ। महिलाको सहभागितामा वृद्धि हुँदै गएको छ। झट्ट हेर्दा आधुनिकीकरण भएको भान भएको छ। यसैगरी कांग्रेसले दलित र दलितमा पनि महिलालाई पनि आरक्षण गरेको छ। केन्द्रीय कार्यसमितिमा सहमहामन्त्री ८ जना रहनेमा तीमध्ये क्लस्टर विभाजन गरेर एक जना महिला, एक जना थारु, एक जना मधेसी, एक जना दलित, एक जना जनजाति, एक जना खसआर्य, एक जना पिछडिएको वर्ग, एक जना मुस्लिम भनेर विभाजन गरिएको छ। यससँगै केन्द्रीय समितिमा अपांगता भएका वा अल्पसंख्यक एकजना अनिवार्य रहने व्यवस्था छ। यस्तो व्यवस्था अन्य राजनीतिक दलमा छैन। यसले केन्द्रमा सबैको प्रतिनिधित्व निश्चित गरेको छ।
यस्तो दूरगामी सोच र सबै अटाउने ठूलो आकारको कार्यसमितिमा पनि युवाको स्थान निश्चित छैन। चर्चामा रहेका दुवै पक्षलाई अटाउने देखिन्न। दुवै पक्षका शीर्ष र अग्रपंक्तिमा दोस्रो पुस्ताका नेताको नाम न्युन छ। युवा भनेर चिनिएका विश्वप्रकाश शर्मा, गगन थापाजस्ता नेताको भूमिका अझै अन्यौलमा छ। नयाँ पुस्ता र युवा, श्रमजीवि, पेशाकर्मी तथा राष्ट्र निर्माणमा भूमिका दिन सक्ने वर्गलाई कसरी नेतृत्वमा पुर्याउन सकिन्छ ? यसबारे स्पष्ट र दिर्घकालीन कदमहरू देखिएका छैनन्। महाधिवेशन प्रतिनिधि भएर आएका युवा वर्गले गुटको राजनीतिमा कैद हुनुहुँदैन। अबको पुस्ताले आफ्नो नेतृत्वको बाटो खोल्दै पार्टी, राष्ट्र, राष्ट्रियता, समाजवाद र लोकतन्त्रलाई नै मूलमन्त्र बनाउनु पर्छ। यस अधिवेशनमा ४ हजार ३ सय १९ प्रतिनिधिले अबको ५ वर्ष कांग्रेस मात्र होइन, देश हाँक्न सक्ने कर्मठ, योग्य, दक्ष र जिम्मेवार नेतृत्वलाई चयन गर्नु पर्छ।
अधिवेशनले नेतृत्व चयनमा बढ्दै गएको दूरीलाई घटाउन केन्द्रको नेतृत्वमा नीति, दुरदृष्टि, फरक प्यानलप्रति उदारता, सहभागिता हुन आवश्यक छ। संगठनभित्रको प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिने अनि स्पष्ट नीति र विधिले संगठन हाँक्न सक्नुपर्छ। त्यसका लागि कुशल, गतिशील र क्षमतावान्लाई नेतृत्वलाई ल्याउन प्रयास गरिनु पर्छ। त्यसैले कुनै एक प्यानलभन्दा पनि साझा नेतृत्व हुन जरुरी छ।