कांग्रेस महोत्सवका फरक दृश्य : अपांगता भएकालाई ‘प्राथमिकता’

कांग्रेस महोत्सवका फरक दृश्य : अपांगता भएकालाई ‘प्राथमिकता’

काठमाडौं : कांग्रेसको १४औं महाधिवेशनमा अपांगता भएका व्यक्तिहरू उत्साहित भेटिएका छन्। कांग्रेसले अपांगताको मुद्दालाई अन्य दलभन्दा बढी प्राथमिकतामा राख्नु उपलब्धिमूलक भएको महाधिवेशनका सहभागी बताउँछन्।

कांग्रेसले वडादेखि संघसम्मै आरक्षणको व्यवस्था गरेको झापा मेचीनगर नगरपालिकाका धर्मराज घिमिरेको भनाइ छ। यसका आधारमा अपांगता भएकाहरूबीच प्रतिस्पर्धा भई आफ्नो प्रतिनिधित्व आफैं गर्ने मौका पाउने घिमिरे बताउँछन्। भन्छन्, ‘अन्य दलले आफ्नो महाधिवेशनमा अपांगता भएकालाई प्रतिनिधिमा सहभागी गराएका छैनन्। उनीहरूले नेपाली कांग्रेसबाट केही सिकून्।’ १३औं महाधिवेशनले क्षेत्रसम्म अपांगता भएका र अल्पसंख्यक भनेर मात्रै आरक्षण दिएको थियो। अहिले जिल्लादेखि माथिल्लो तहमा अपांगताका लागि विशेष आरक्षणको व्यवस्था रहेको उनी सुनाउँछन्। 

इलामका माधवप्रसाद चौलागाईं कांग्रेसको यो व्यवस्था निकै महत्त्वपूर्ण भएको बताउँछन्। ‘१४औं महाधिवेशनमा कांग्रेसले अपांगता भएका व्यक्तिको मुद्दामा चासो दिएको छ। यो हाम्रो लागि निकै खुसीको कुरा हो’, महाधिवेशन प्रतिनिधि चौलागाईं भन्छन्, ‘कांग्रेसले हरेक जिल्लाबाट अपांगतालगायत अन्य समावेशी समुदायलाई समेटेको छ। यो अवसर अन्य कुनै पनि पार्टीमा छैन।’

कांग्रेसले जनसंख्याका आधारमा भने यो सहभागिता पर्याप्त नभएको उनको ठम्याइँ छ। ‘केन्द्रीय पदाधिकारीमा अपांगता भएका व्यक्तिहरूलाई सहभागी गराउनु हाम्रो लागि खुसीको कुरा भए पनि जनसंख्याका आधारमा पर्याप्त होइन,’ उनी भन्छन्, ‘अपांगता भएका व्यक्तिहरू १० प्रतिशतभन्दा बढी छन्। यसअनुसार भने यो आरक्षण कम नै हो। त्यसैले यसलाई अझै सक्रिय बनाउनुपर्छ भनेर हामी लागेका छौं। यो महाधिवेशनले यो कुरालाई समेट्नेछ।’

कांग्रेस विधानमा अपांगता भएका व्यक्तिलाई प्राथमिकतासाथ सहभागी गराउने व्यवस्था भए पनि अबको नेतृत्वले विशेष ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ। ‘१३औं महाधिवेशनले जुन नेतृत्व प्रदान गरेको थियो। त्यसमा प्रायः उमेरले पाका व्यक्तिहरू बढी थिए। तर, १४औं महाधिवेशनमा करिब ५० प्रतिशत युवाको प्रतिनिधित्व हुने देखिन्छ’, घिमिरे भन्छन्, ‘नयाँ नेतृत्व पक्कै पनि युवाहरूले लिनेछन्। पार्टी अनि देशलाई सही दिशामा डो¥याउनुका साथै हाम्रा मुद्दालाई प्राथमिकता दिनेछन्।’ 

अपांगता भएका व्यक्तिलाई प्रतिनिधिका रूपमा सहभागी गराउनु उपलब्धिमूलक भए पनि अपांगता भएका व्यक्तिहरूको दुःख, पीडा नसुल्झिएसम्म यो सार्थक नहुने उनीहरूको भनाइ छ। ‘अपांगता भएका व्यक्तिलाई प्रतिनिधिका रूपमा सहभागी गराउनु निकै खुसीको कुरा हो। तर, जबसम्म हाम्रा समस्या वास्तवमै समाधान हुँदैनन् तबसम्म यसको कुनै अर्थ छैन,’ भृकृटीमण्डपमा महाधिवेशन उद्घाटनमा भेटिएकी कालीकोटकी सुशीला शाहीले भनिन्, ‘महाधिवेशनमै खै त अपांगमैत्री वातावरण ? यहाँ हामीलाई हिँड्डुल गर्न र ह्वील चियरमा हिँड्न पनि समस्या भइरहेको छ।’ त्यसैले अब अपांगता भएका व्यक्तिको भावना, मर्म र चाहना बुझ्ने नेतृत्व आउनुपर्नेे उनले बताइन्। 

दोलखा घर भई जोरपाटी बस्दै आएका रामकाजी कार्की ह्वील चियरमा भेटिए। ‘म थान्का आर्टिस्टु हुँ। म कुनै पार्टीमा पनि आबद्ध छैन। मजस्ता हजारौं अपांगता भएका व्यक्ति रोजगारीबाट वञ्चित भएका छन्। उनीहरूको समस्या समाधान होस्,’ कार्कीले भने, ‘हाम्रो प्रनिनिधित्व गर्ने प्रतिनिधि यसमा आउन् र अपांगतामैत्री बाटोघाटो, विद्यालय तथा कलेज पनि अपांगतामैत्री बनाउन्।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.