जब असम्भव सम्भव बन्छ . . .
नेपाल हिमालमा मात्रै धनी छैन। कीर्तिमानी आरोहीमा पनि धनी छ। खासगरी कीर्तिमानी आरोही शेर्पा छन्। निर्मल पुर्जामगर एक फरक पात्र छन् यो भीडमा। निम्स दाइ पुर्जा भनेर परिचित उनी फरक दुई कोणमा छन्। एक, उनी वंशज आरोही होइनन् जस्तो अधिकांश कीर्तिमानी शेर्पा आरोहीहरू छन्। दुई, उनी हिमाल क्षेत्रमा प्रवेश गरेको एक दशक नपुगी अनेकन कीर्तिमान बनाउन सफल भए। जस्तो आठ हजार मिटर माथिका विश्वका सबै १४ हिमाली चुचुरामा उनी ६ महिना ६ दिनमै पुगे। जुन सफलता पाउन सन् २०१३ मा कोरियाली आरोही किम चाङ–होलाई ७ वर्ष १० महिना ६ दिन लागेको थियो।
सन् २०२१ को जनवरी १६ मा १० नेपाली आरोहीले पाकिस्तान र चीनको सिमानामा रहेको विश्वको दोस्रो अग्लो शिखर के–टुमा गरेको ऐतिहासिक आरोहणका एक सदस्य पनि हुन् उनी। पुर्जाका अरू पनि रेकर्ड छन्। जस्तो अन्नपूर्ण, धौलागिरि, कञ्चनजंघा, सगरमाथा, ल्होत्से र मकालु एकै सिजनमा चढ्नु। पाकिस्तानमा आठ हजार मिटर माथिका सबै पाँच हिमाल ३३ दिनमा चढ्नु। सगरमाथा, के–टु, कञ्चनजंघा, ल्होत्से, मकालुजस्ता विश्वका प्रमुख पाँच हिमाल ७० दिनमै चढ्नु।
सगरमाथा, ल्होत्से र मकालु चुचुरोमा ४८ घण्टा ३० मिनेटमा चढ्नु। पुर्जाले आफ्नो आरोहणको आत्मकथाको कृति ‘बियोन्ड पोसिबल’ लिएर आएका छन्। २१ अध्याय र २९३ पृष्ठमा फैलिएको पुस्तकमा के–टु आरोहण कथा छैन। त्यसअघि आएकोले त्यो पक्ष पुस्तकमा छैन। जति छ विश्वभर हिमालदेखि हिमाली आरोहणमा चासो राख्नेहरूलाई चित्ताकर्षक बनाउने कथा छन्। आफूलाई ‘एन्टिबायोटिक मानव’ भन्ने पुर्जाको कहानीले त्यो पुष्टि गर्छ।
पुर्जा १० वर्षको हुँदा टीबी रोगले पीडित बने। पछि उनलाई दम देखियो। सन् २००२ मा पहिलो पटक बेलायती गोर्खा सैनिकमा भर्ना हुँदा उनी छनोट भएनन्। २०१६ मेमा उनी पहिलोपटक सगरमाथामा चढ्न जाँदा हिमाली उचाइमा फोक्सोमा समस्या पार्ने ‘हेप’बाट पीडित बने। डाक्टरले आराम आवश्यक छ भन्दा पनि उनी आराम गर्न लुक्ला पुगे। फेरि अनुभवविहीन शेर्पा लिएर सगरमाथा गए। सफलतापूर्वक चढे। उनी त्यो समयमा चारहप्ते बिदामा मात्रै नेपाल आएका थिए। चार हप्तामा बेलायतबाट नेपाल आएर सगरमाथा चढेर फर्कनु आफैंमा एक सफलता थियो। त्यसपछि बेलायती गोर्खा सैनिकको दुई सय वर्षगाँठको अवसरमा आयोजना भएको सन् २०१७ को आरोहणमा सहभागी भए। अरूले एक पटक चढ्दा उनले दुई पटक चढे। दोस्रोपटक चढेको १० घण्टामै ल्होत्से चुचुरोमा पनि पुगे। पाँचै दिनमा मकालुसमेत चढे। यसरी सन् २०१९ मा रेकर्ड बनाउने आरोहण अगाडि नै उनको रेकर्डजन्य आरोहण गरे।
२०४३ साउन ९ गते म्याग्दीको दानामा जन्मेका पुर्जा चार वर्ष हुँदा चितवनको रामनगर बसाइँ सरेर आए। भारतीय गोर्खा सैनिक पिताका छोरा पुर्जा पनि सन् २००३ मा बेलायती गोर्खा सैनिकमा छनोट भए। सन् २००९ मा उनी गोर्खा सैनिकबाट हवाई, जमिन र जल सबै क्षेत्रमा काम गर्न सक्ने स्पेसल बोट सर्भिसमा प्रवेश गर्ने प्रथम गोर्खा सैनिक बने। उनलाई हिमाल चढेका वा हिमाल घरबाट कति पर छ जस्ता प्रश्नहरू बेलायतमा आइरह्यो। आफूले हिमाल परबाट मात्रै देखेको तर आधारशिविरसमेत नपुगेको भन्दा साथीहरू अचम्म हुने पुर्जाले लेखेका छन्। बेलायतीहरूले चासो र आफ्नो रुचि दुवैको कारण सन् २०१२ मा निर्मल पुर्जा सगरमाथा आधार शिविरसम्मको ट्रेकिङमा आए। माउन्टेन गाइड दोर्जी खत्रीसँग आएका उनलाई आधार शिविरले मात्रै धोको पुगेन। आधार शिविर यात्राबाट आउँदा देखिने सुन्दर हिमाल आमादब्लम चढ्न दोर्जीलाई भने।
उनी धौलागिरि चढे। आमादब्लम चढे। धौलागिरिको दुई वर्षपछि सगरमाथा। सन् २०१७ मा गोर्खा सैनिकको आरोहण दल यात्रा गरे। त्यसपछि सुरु भयो, पुर्जाको नयाँ मिसन ‘प्रोजेक्ट पोसिबल’। जसमा थियो, विश्वका आठ हजार मिटर माथिका सबै १४ हिमाल ७ महिनाभित्र आरोहण गर्ने लक्ष्य। सन् २०१८ स्पेसल फोर्सको जागिर छोडे। उनको योजनामा कसैले पत्याएनन्। उनले प्रयोजनको लागि बेलायती धनाढ्य खर्बपति रिचर्ड ब्रयान्सनलाई पत्र लेखे, उत्तर आएन। अरू प्रायोजकलाई बिहान ४ बजेदेखि मध्यरातसम्म प्रस्ताव राखे। ‘मानवीय रूपमा असम्भव’ भनेर धेरैले भने। कीर्तिमानी आरोहण भएकाले तस्बिर लिलाम गर्न कम्पनीहरू चहारे। कसैले पत्याएनन्।
आमा पूर्णकुमारीले गरेको प्रश्न उनका लागि झनै पीडादायक छ। आमाले भनिन्, ‘निर्मल, अब आमाबुबा बूढा भए, स्याहार्न गाह्रो हुन्छ भनेर आफैं हिमालमा मर्न हिँडेको हो ?’ उनले प्रोजेक्टको मोटामोटी खर्च निकाले, ७ लाख ५० हजार पाउन्ड। तर, पैसा छैन। उनले बेलायतको घर धितोमा राखेर ६५ हजार पाउन्ड निकाले। बेलायती गोर्खा सैनिक समुदायसँग चन्दा उठाए। चन्दा र अरू जोड्दा डेढ लाख पाउन्ड मात्र उठ्यो। यही पैसाबाट उनले प्रथम चरणको आरोहण सुरु गरे। सन् २०१९ मे को सगरमाथामा ट्राफिक जाम हुँदा पुर्जा मिसनै आरोहणमा थिए। उनले त्यो तस्बिर राम्रै दाममा बेचेको बताएका छन्।
सगरमाथामा ट्राफिक जाम भएको तस्बिरसँगै उनको चर्चा पनि चुलियो। र, पछि ब्रेमन्ट नामक घडी कम्पनीले दुई लाख पाउन्ड सहयोग गर्यो। अरू सहयोग र गाइडेड समिटजस्ता काम गरेर पनि उनले अतिरिक्त पैसा जम्मा गरे। सन् २०१९ को अप्रिल २४ मा अन्नपूर्ण चढेर सुरु भएको उनको यात्रा सोही वर्षको अक्टोबर २९ मा चीनको सिसापाङ्मा हिमाल चढेर पूरा भयो। १४ वटा आठ हजार मिटर माथिका चुचुरामा उनले सात चुचुरा नेपालमा चढे। अन्नपूर्ण, धौलागिरि, कञ्चनजंघा, सगरमाथा, ल्होत्से, मकालु र मनास्लु नेपालबाट चढे। चीनबाट चो ओयु र सिसापाङ्मा चढ्नुपर्नेमा सिसापाङ्मा हिमाल चढ्न प्रतिबन्ध लगाइएकाले उनलाई तनाव भयो।
चीनले खुला गरेपछि सिसापाङ् जाने आफ्नै रुट बनाए पुर्जाले। जसको नाम राखियो– प्रोजेक्ट पोसिबल रुट। पाकिस्तानमा नांगा पर्वत, के–टु, ब्रोड पिकदेखि गासरब्रुम एक र गागरबु्रम दुई चढे। पाकिस्तानको नाङ्गा पर्वतमा सन् २०१३ मा जस्तै तालिवानले हत्या गर्लान् कि भन्दै डराउँदै हिँडे। ती नाङ्गा पर्वतमै उनी झन्डै मृत्यु हुने स्तरमा लडेर पनि जोगिए।
पुर्जाले हिमाल आफ्नो कीर्तिमानका लागि मात्रै चढेनन्। सकेको सहयोग गरे। पुस्तकमा आरोहणका कथाहरू रोचक हुँदाहुँदा तिथिमितिमा भन्दा घटनामा ध्यान दिइएको छ। ग्याल्जेन, निङ्मा, गेसमानजस्ता सहकर्मी आरोहीबाहेक अरू हिमाली श्रमिकको नाम उल्लेख छैन। तथ्यगत त्रुटि पनि छन्। जस्तो ईश्वर पोखरेललाई उपरक्षामन्त्री भनिएको छ।
आरोहणका चित्ताकर्षक कथाहरूले भरिएको पुस्तक एक हिसाबले चलचित्र जस्तै छ। अन्तिम अध्याय २१ मा दुःखद् कथा छ। चितवनबाट आधा प्यारालाइसिस भएका बुवा र मुटु तथा किड्नीमा समस्या भोग्ने आमालाई काठमाडौंमा घर तयार गरेर लिन बेलायतबाट काठमाडांै उड्छन् पुर्जा र श्रीमती सुची। सन् २०२० को फेब्रअरी २५ मा उनीहरू काठमाडौं ओर्लन्छन्। ओर्लनेबित्तिकै फोनको घण्टी बज्छ। फोनबाट आमा दुई घण्टा अगाडि नै बितेको खबर आउँछ।