कोभिडको जोखिममा महिला बैंकर

कोभिडको जोखिममा महिला बैंकर

काठमाडौं : ‘कार्यालयमा काम गर्दा पटकपटक स्यानिटाइजर लगाइरहन्छु, माक्सको प्रयोगदेखि दूरी कायमलगायतका सबैखाले उच्च सतर्कता अपनाउँछु तर घर पुग्दा ६ महिनाको बच्चालाई प्रभाव पर्ने हो कि भन्ने डरले सताउँछ,’ विगत दुई वर्षदेखि बैंकको फ्रन्ट डेस्कमा खटिँदै आएकी ३४ वर्षीया यमकला बोहोरा सुनाउँछिन्। भाग्यवश अहिलेसम्म कोभिडको सामना गर्नु नपरेको उनले बताइन्। तर, सबैभन्दा बढी महिला कर्मचारीहरू घरमा बालबच्चासँग हेलमेल हुनुपर्ने भएकाले आफूसँगै परिवारमा जोखिमको त्रासले डेरा जमाएको उनको भनाइ छ। 

दिनहुँ हजारौं बिरामीहरूको भीड रहने काठमाडौंको वीर अस्पतालमा उपचारका लागि बैंकको काउन्टरमा रकम भुक्तानी गर्नेको घुइँचो लाग्छ। अस्पताल भएकाले चौबिसै घण्टा सेवा दिनु परेकाले पालैपालो गरेर बोहोराले पनि बैंकिङ सेवा दिँदै आएकी छन्। सो अस्पतालमा प्रभु बैंकको एक्सटेन्सन काउन्टरमा करिब पाँच जना कर्मचारीलाई भ्याइनभ्याइ हुन्छ। यसमध्ये तीन जना महिला नै थिए। लामो समयदेखि कोभिडको जोखिम अस्पतालका सबै कर्मचारीलाई छ। यसमध्ये अस्पतालमै रहेको बैंकका कर्मचारीलाई हुनु स्वाभाविक हो। 

अस्पतालबाहेकका अधिकांश बैंकको काउन्टरमा महिला कर्मचारीकै बाहुल्यता छ। काउन्टरमा रहेकामध्ये प्रायः आधा बढी महिला बैंकर हुने गरेको देखिन्छ। अझ रिसेप्सनमा एकाधबाहेक महिला नै देखिन्छन्। 

थापाथलीस्थित एनआईसी एसिया बैंकको काउन्टरमा १५ जनामध्ये १४ जना महिला कर्मचारी कार्यरत देखिन्छन्। यसमध्ये एक महिला बैंकरलाई फ्रन्ट डेस्कमा किन यति धेरै महिला भनेर प्रश्न गर्दा उनले प्रायः सबैमा महिला नै हुने गरेकाले स्वाभाविक भएको प्रतिउत्तर दिइन्। यस्तै, ग्राहकसँगको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्दा काउन्टरका सबै कर्मचारी सुरुमै कोभिड संक्रमित भइसकेको रुविना थापाले जानकारी दिइन्। चार वर्षदेखि विभिन्न विभागमा काम गर्दै करिब डेढ वर्षदेखि काउन्टरमार्फत सेवा दिँदै आएकी थापा यसरी काम गर्दा कोरोना सर्न सक्ने सम्भावना अधिक भएको सुनाउँछिन्।

विशेष गरेर फ्रन्ट डेस्कमा बस्ने महिला तथा पुरुष कोभिडको उच्च जोखिममा छन्। काउन्टरका अधिकांश कर्मचारीहरू महिला हुने गरेकाले थप जोखिममा देखिन्छन्। बैंकको नेतृत्व तहमा धेरै महिला रहेको मेगा बैंककी डेपुटी प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ भने आफूहरूले उच्च सतर्कता अपनाएकाले सबैखाले कर्मचारीलाई कोभिडको जोखिम नभएको दाबी गर्छिन्। देशराजका अनुसार उच्च व्यवस्थापनले नै सुरक्षाका सम्पूर्ण उपायको व्यवस्था गरेकाले मेगा बैंक कोभिडबाट जोखिमरहित छ। ‘यद्यपि बैंकको फ्रन्टलाइनमा महिला बढ्ता होलान्। उनीहरू बढी जोखिममा हुन सक्छन्। यसैले हामीले भौतिक दूरी कायम राख्ने, अगाडि सिल्ड राख्ने, मास्क प्रयोग गर्नेलगायतका उच्च सतर्कता अपनाएका छौं। कोभिडबाट बचेर काम गर्ने वातावरण बनाएका छौं,’ उनले भनिन्। 

बैंकमा ३८.४७ प्रतिशत महिला, मृत्युसम्मको जोखिम
समग्र बैंक तथा वित्तीय संस्थामा कुल कर्मचारीको करिब ३८.४७ प्रतिशत महिला कार्यरत छन्। नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थामा कुल कर्मचारी संख्या करिब ७६ हजार ५ सय ३ पुगेको छ।

सुरुवाती चरणमा कोरोना संक्रमण बढ्दै जाँदा बैंक तथा वित्तीय संस्था कोभिडको हटस्पट बन्यो। संक्रमित कर्मचारीको संख्या दिनप्रतिदिन बढ्दा बैंकले सबै शाखाबाट एकै पटक सेवा दिन अवरोधसमेत पुगेको थियो। सो अवधिमा हजारौंको संख्यामा कर्मचारीहरू संक्रमित भए। कतिपयले ज्यानै गुमाए। अझै पनि संक्रमित भइरहेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हालसम्म समग्र बैंक तथा वित्तीय संस्थामा १८ हजार २ सय ८४ जना संक्रमितपछि रिकभर भइसकेका छन्। हाल २ सय ८५ जना बैंकर संक्रमित छन्। हालसम्म कुल कर्मचारीको करिब २४.२७ प्रतिशत कोभिड संक्रमित भइसकेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए। उनका अनुसार अझ यसबीच ४४ जना बैंकरले ज्यान गुमाए। यसमध्ये अब्बल महिला बैंकरलाई बैंक इन्डस्ट्रीले गुमाउनु परेको छ। राष्ट्र बैंककै संक्रमित भएकामध्ये एक जनाको ज्यान गयो। यसमा बैंकिङ विभागकी सहायक निर्देशक कृति थापाको ज्यान कोरोनाले लियो। उनीसँगै आमाको समेत यसैकारण ज्यान गएको थियो। 

यस्तै, हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमा ४४ हजार ६ सय ३ कुल कर्मचारी छन्। यसमध्ये १७ हजार ३ सय ३६ महिला कार्यरत छन्। यो कुल कर्मचारीको ३८.८७ प्रतिशत हो। हालसम्म १२ हजार ५ सय ९५ कोभिड संक्रमणबाट रिकभर भएका छन् भने अझै १ सय ९२ संक्रमित छन्। साथै, वाणिज्य बैंकमा कार्यरत २८ जनाले कोरोनाकै कारण ज्यान गुमाउनु प¥यो। यसमध्ये धेरै अब्बल महिला बैंकर रहे। जसअन्तर्गत कोरोना संक्रमणका कारण नबिल बैंक र सिटिजन्स बैंकमा काम गर्ने दुई जना बैंकरको मृत्यु भयो। नबिलको कुमारीपाटीस्थित शाखामा एकाउन्टेन्टको रूपमा काम गर्ने ३७ वर्षीया महिला र सिटिजन्स बैंकको बर्दिया सानोश्री शाखाकी ३५ वर्षीया महिला कर्मचारीको ज्यान गयो। 

यसैगरी, सञ्चालनमा रहेका १८ ओटा विकास बैंकहरूमा कुल ८ हजार ७६ जना कर्मचारी छन्। यसमध्यै ३ हजार २ सय १२ महिला छन्। यो कुल संख्याको ३९.७७ प्रतिशत हो। राष्ट्र बैंकको तथ्यांकअनुसार कुल संख्यामध्ये १ हजार ६ सय ७ संक्रमणबाट रिकभर भइसकेका छन् भने १६ जना अहिले संक्रमित छन्। विकास बैंकका ५ जना कर्मचारीले भने ज्यान गुमाए।  

यसैगरी ‘ग’ वर्गका १७ ओटा वित्त कम्पनीमा १ हजार ८ सय ५२ कर्मचारी छन्। यसमध्ये ८ सय ५ महिला छन्। यो कुल संख्याको ४३.४७ प्रतिशत हो। राष्ट्र बैंकको तथ्यांकअनुसार वित्त कम्पनीको कुल संख्यामध्ये ३ सय ९२ जना संक्रमणपछि रिकभर भइसकेका छन् भने दुई जना अहिले संक्रमित छन्। विकास बैंकका दुई जना कर्मचारीले भने ज्यान गुमाए।

यसैगरी ‘घ’वर्गका ६९ ओटा लघुवित्त वित्तीय संस्थाहरूमा २० हजार ९ सय २० कर्मचारी छन्। यसमध्ये ७ हजार ८ सय ८३ महिला छन्। यो कुल संख्याको ३७.४४ प्रतिशत हो। राष्ट्र बैंकको तथ्यांकअनुसार लघुवित्त संस्थाकोे कुल कर्मचारीमध्ये २ हजार ७ सय ७५ जना संक्रमणपछि रिकभर भइसकेका छन् भने ७५ जना अहिले संक्रमित छन्। यसबीच उक्त संस्थाबाट ९ जना कर्मचारीले भने ज्यान गुमाए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.