मधेसमा कांग्रेस किन कमजोर ?
काठमाडौं : २०५१ सालअघि कांग्रेसका लागि मधेस उर्वरभूमि मानिन्थ्यो। दोस्रो जनआन्दोलनपछि मधेसमा कांग्रेस कमजोर हुँदै गएको छ। मधेसको राम्रो प्रभाव भएका धेरै जसो नेताले कांग्रेस छाडेर क्षेत्रीय दल खोले। पार्टीमै रहेका नेताहरू पनि मिल्न सकेनन्। आफ्नो गुमेको प्रभाव फर्काउन कांग्रेसले १४औं महाधिवेशनबाट मधेसलाई कसरी समेट्दैछ भन्ने चासोको विषय बनेको छ। बीपी कोइरालाले मधेसमा निर्माण गरेको विरासत जोगाउन कांग्रेसले पहलकदमी लिनुपर्ने प्रतिनिधिहरू बताउँछन्।
रौतहटका महाधिवेशन प्रतिनिधि शेख अमिरुल पार्टी कमजोर भएकामा चिन्तित छन्। उनी भन्छन्, ‘नेताहरूको आपसी द्वन्द्वले मधेसमा कांग्रेस कमजोर भयो। हिजो जस्तो आफ्नोपन अब पार्टीभित्र छैन।’ अमिरुल २०४६ देखि पार्टीमा सक्रिय कार्यकर्ता छन्। उनका अनुसार कांग्रेसमा गुट हाबी हुँदै गयो। त्यसले स्वार्थ जन्मायो। मतभेद बढायो।
पार्टीको नीति र सिद्धान्तलाई नेताहरूले नमानेको उनको भनाइ छ। ‘मधेसी, मुस्लिम र दलितका चाहनालाई पार्टीले पक्रिन सकेन। त्यसैले जनताको विश्वास गुम्दै गयो,’ उनले भने, ‘त्यसरी नै मधेसमा कांगे्रस कमजोर बनेको हो। पार्टीलाई बलियो बनाउन अगुवाहरूले नयाँ वातावरण बनाउनुपर्छ।’
बीपीकालीन कांग्रेसको विशेष आधारक्षेत्र मधेस थियो। उनले पार्टीलाई मजदुरका लागि आन्दोलनसँग जोडेका थिए। प्रजातान्त्रिक संघर्षलाई संयोजन गर्न गिरिजाप्रसाद कोइरालाको भूमिका ठूलै छ। विराटनगरको जुटमिलसहित कुटान, राइस, तेल, सलाइ, केमिकललगायत उद्योगमा कार्यरत हजारौं मजदुरमा कांग्रेसले आन्दोलनको नयाँ चेत भरेको थियो। तर, अहिलेका कांग्रेस नेताहरू विचारविहीन बन्दै गएका छन्।
मधेस आन्दोलनसँगै कांग्रेस नेताहरूले पार्टी छोड्ने लहर चल्यो। मधेशका नेताले पार्टीभित्र उठाएका माग सम्बोधन भएन। उनीहरूले आन्दोलनको माहोल पक्रिँदै मधेसवादी दल खोले। मधेस मुद्दाका जानकार वीरेन्द्र केएमका अनुसार कांग्रेसले मधेसी नेतृत्वलाई अगाडि बढाएन। ‘नेतासँग साँठगाँठ गर्नेलाई ठाउँ दियो। मधेस मुद्दाको सवालमा सक्षम नेतृत्वको अभाव रह्यो,’ उनले भने, ‘त्यसले नेताहरूमा वितृष्णा जगायो। कांग्रेस छाड्नै मधेसवादी पार्टी खोले।’ कांग्रेसका पुराना नेता महन्थ ठाकुर, शरतसिंह भण्डारी, विजयकुमार गच्छेदारलगायत अलग्गिएका थिए। यद्यपि, गच्छदार कांग्रेमै फर्किएका छन्।
सुनसरीका महाधिवेशन प्रतिनिधि सीताराम महतो भन्छन्, ‘संविधानमा मधेसले उठाएको सबै माग कांग्रेसले सम्बोधन गर्न सकेको छैन। त्यसकारण पनि मधेसी जनताबीच कांग्रेस कमजोर भयो।’ नागरिकता, समावेशिता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र मधेशको मुख्य माग हो। जुन सम्बोधन हुनै बाँकी छ। यसैलाई क्षेत्रीय दलले चुनावी एजेन्डा बनाए। यद्यपि, अब पनि कांग्रेसप्रति आशा भरोसा बाँकी नै रहेको महतोको भनाइ छ। कम्युनिष्ट र मेधसवादी दलको बहुमत हुँदा पनि हाम्रो माग सम्बोधन गर्न सकेनन्,’ उनले भने, ‘संविधानमा भएको कमजोरी सच्याउन पनि कांग्रेसले नेतृत्व लिन जरुरी छ।’
मधेसले लामो समयदेखि अपहेलित, अपमानित, दोस्रो दर्जाको नागरिक महसुस गरिरहेका कुरा धु्रवसत्य रहेको तनहुँका कांग्रेसी नेता धु्रव वाग्ले बताउँछन्। ‘तराईमा देखिएको विद्रोही भावनालाई नामेट गर्न सबै दलको राष्ट्रिय सहमति बन्न आवश्यक छ।’ तराईमा कांग्रेस नेतृत्व कमजोर रहेको उनी बताउँछन्। ‘हिजो महेन्द्रनारायण निधि, रामनारायण मिश्र जस्ता सशक्त नेता थिए। जसले तराईलाई समेटेर कांग्रेको मूलधारमा ल्याए,’ उनी भन्छन्, ‘अहिले यस्तो सक्षम नेतृत्वको पनि अभाव छ।’ मधेसको समस्या समाधान गर्न कांग्रेसले विशेष पहल गर्न जरुरी रहेको उनी बताउँछन्।