अर्थतन्त्रका सूचक कमजोर
काठमाडौं : अर्थतन्त्रका सूचकहरू कमजोर हुँदै गएका छन्। मूल्यवृद्धि दिनप्रतिदिन बढ्दै गएको छ। आयात उच्च भएपछि विदेशी मुद्रा सकिँदै गएको छ। डलर बलियो हुँदै जाँदा आयातमा बढी भुक्तानी गर्नु परेको छ। यसले विदेशी विनिमय सञ्चिति घट्दै गएको छ। नेपाल राष्ट्र बैंकद्वारा बुधबार सार्वजनिक चार महिनाको ‘आर्थिक तथा वित्तीय स्थिति’ले यी सूचक कमजोर बनेको देखाएको हो।
तथ्यांकअनुसार कात्तिकसम्म वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ५.३२ प्रतिशत छ। गत वर्र्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०५ प्रतिशत थियो। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य अधिक बढेको छ। यसको मात्रै मूल्य ४.७९ प्रतिशतले बढेको छ। घिउ तथा तेल, यातायात, माछा तथा मासु, गैर–मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि अधिक छ। अन्तर्राष्ट्रिय स्तरमै चर्किएको मूल्य प्रभाव नेपालमा परेको राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट बताउँछन्। उनका अनुसार मूल्यवृद्धि र उच्च आयातले विदेशी मुद्राको ढुकुटी पनि घट्दै गएको छ। किनभने यस्तो मुद्रा भित्रिने रेमिट्यान्स पनि घटिरहेको छ। साथै सरकारले ऋण र अनुदान पनि खासै ल्याउन नसकेको उनले बताए।
कुल वस्तु आयात ६१.६ प्रतिशतले वृद्धि भई ६ सय ५० अर्ब २९ करोड पुगेको छ। कुल वस्तु निर्यात भने ८२ अर्ब १२ करोडमा सीमित छ। निर्यातभन्दा आयात अधिक हुँदा कुल वस्तु व्यापार घाटा ५६.८ प्रतिशतले बढेर ५ सय ६८ अर्ब १७ करोड पुगेको छ। अहिलेको मुख्य चुनौती उच्च आयात भएको भट्टको भनाइ छ।
विदेशी मुद्रा अत्यधिक बाहिरिएको र भित्रिने कम हुँदा शोधनान्तर स्थिति लामो समयदेखि घाटामा गइरहेको छ। कात्तिकसम्ममा १ खर्ब ५० अर्ब ३८ करोडले घाटामा छ। गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १० अर्ब ६५ करोडले बचतमा थियो। अर्कोतर्फ रेमिट्यान्स बढ्न सकेको छैन। असारको तुलनामा विदेशी विनिमय सञ्चिति ११ प्रतिशतले कमी आई १२ खर्ब ४४ अर्ब ८५ करोड छ। अमेरिकी डलरमा १०.९ प्रतिशतले कमी आई १० अर्ब ४७ करोड कायम छ। कार्यकारी निर्देशक भट्ट भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको प्रभाव नेपालमा परेको छ। बाह्य क्षेत्र चुनौतीपूर्ण बन्दै छ। आयात नियन्त्रित हुन सकेको छैन। यसलाई व्यवस्थापन गर्न जरुरी छ।’
बैंक तथा वित्तीय संस्थाको लगानी पनि बढी आयातमै गइसकेकाले तरलता अभाव चर्किएको उनको भनाइ छ।